बागलुङ, १७ असार – गल्कोट उपत्यकामा यस्ता धेरै पर्यटकीय स्थलहरु छन् जुन प्रचार–प्रसारको पर्खाईमा छन् । त्यस मध्यको एक हो, गल्कोट नगरपालिकाको वडा नं ६ र २ र ताराखोला गाउपालिकाको वडा नम्वर १ अमरभुमीको माझमा रहेको कालीलेक । पर्यटकीय महत्वको यो कालीलेक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । गल्कोटका पर्यटकीय स्थलहरु घुम्टे लेक, ताराखोलाको डुँडे लेक, गाजाको धुरी, निलुवा, ऐतहासिक राजाको दरबार, कोट मैदान, लगायतका धेरै ठाउँहरु जस्तै कालीलेक पनि एक प्राकृतिक सम्पदाले भरीपूर्ण रमणीय स्थल हो । पर्यटकीय गन्तब्य हुँदा–हुँदै पनि कालीलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानिय चन्द्र बहादुर बुढाथोकीको गुनासो छ । उनले बर्षमा केही बिद्यालयले बिद्यार्थीलाई लघु भ्रमणको लागी लैजाने गरेको भएपनि अन्य पर्यटकलाई कालीलेकको बारेमा जानकारी नै नभएको बताए । कालीलेकमा स्थानीय दर्जनौं प्रजातिका जडीवुटी डाँफे मुनाल, मयुर, खरायो, भ्याकुर, कालिज, मृग, घोरल, चितुवा, भालु लगायतका विभिन्न जनावर पाईन्छन् । कालीलेकमा यस आसपासका स्थानियले एक दशक अगाडि कृषि गर्ने र लेकमा जाने गरेपनि अहिले भने छोडेको स्थानिय हिराबहादुर बस्नेतले बताए । गल्कोटको पर्यटन प्रर्वद्धनमा पछिल्लो समय बिभिन्न सम्पदाको चर्चासंगै ब्यबस्थित बनाउने काम भएको भएपनि यो लेकको बारेमा कसैको ध्यान पुग्न नसकेको स्थानिय क्षेत्रबहादुर बुढाथोकीको भनाई छ । विशेष गरि कालीलेकमा जेठ असार महिनामा निउरो गुहेली र नेपाली प्रसिद्ध खाना गुन्द्रुक बनाउनको लागि प्रयोग गरिने बाँको टिप्न जाने गरिन्छ । गुन्द्रुक ढकाँ लगायत अन्य सागसंगै बाँकोको गून्द्रूकको स्वाद छुटै हुने र यसको अचार तथा तरकारीको रस बनाएर खाना गरिन्छ । बाकोको गुन्दु्रक देश तथा बिदेशमा समेत प्रशिद्ध रहेको छ । कालीलेकबाट गल्कोट क्षेत्रको सम्पुर्ण दृश्यावलोकन साथै विभिन्न हिमश्रृङखलाहरुको अवलोकन गर्न सकिन्छ । यो लेकमा पुगिसकेपछि त्यहाँबाट देखिने विभिन्न हिमश्रृङखला र गलकोटको मजुबा कोटमैदान घुम्टेलेक, गाजाको दह ,लगाएतका दृश्यले मनै लोभ्याउने गर्दछ । कालीलेक गल्कोटको घुम्टेपछिको दोश्रो अग्लो पहाड हो । आजभन्दा करिब १५ बर्ष पहिले २० देखि २५ ओटा गोठ रहेको र बर्खा लागेसँगै गार्ईबस्तु र खर्चपर्च बोकेर लेकमा गएर खेती गर्ने गरेको स्मरण गर्दै स्थानिय प्रेमप्रसाद पाण्डेले भने – ‘हाम्रो पालामा कालीलेकमा दर्जनौ गाई बस्तु पालिन्थ्यो के गर्ने अहिले सबै बिदेश गए हामी पनि मजुबा तिर झरियो ।’ कालीलेकमा काली पोखरी र सेती पोखरी गरि दुई ओटा पोखरी रहेका छन् । बारैमास पानी भईरहने काली पोखरीको पानी पर्यटकीय गन्तब्य गाईघाटको झरनाबाट झर्ने गरेको स्थानियको भनाई रहेको छ । मजुबा फाँटबाट करिब ३ घण्टाको पैदल यात्रा पछि पुगिने कलीलेकमा हाल केही गोठका भग्नावशेष मात्र बाँकी रहेका छन् । गल्कोट र तारखोलाबाट पहिले स्थानिय यात्रुहरु पैदल यात्रा गरेर कलीलेकहुँदै रिजालचोक– बागलुङसम्म पुग्ने गरेकोे स्थानिय बलबहादुर बस्नेतले बताए । उनले कालीलेकमा पाईने सतुवा कालोकाफल, पखन्बेद, अजुरो तेजपत्ता जस्ता बहुमुल्य जडीबुटी पाईने बताउदै सो जडीबुटीको बिदेशमा समेत माग हुँदै आएको जनाकारी दिए ।
Previous Articleनरेठाँटी स्वास्थ्य चौकीलाई औषधि प्रदान
Next Article ९५ औं अन्तराष्ट्रिय सहकारी दिवस मनाईयो