प्रकाश थापा
सामान्य अर्थमा कृषिवन शब्दले एकै स्थानमा कृषि र वनको संयुक्त कार्य गर्नु भन्ने अर्थलाई बुझाउँछ । उपलब्ध स्रोत, साधन र सीपको अधिकतम् उपयोग गरी रुख बिरुवा र खेतीपाती सँग–सँगै हुर्काएर दुई वा सोभन्दा बढी वस्तु उत्पादन गर्नु नै कृषिवन प्रणालीको प्रमुख विशेषता हो । हाम्रा बाबु बाजेले गरेको घर बगैंचा बनाउने कार्यदेखि लिएर खेतमा धान, मकै छर्ने डिलमा डाले घाँस रोप्ने र कान्लामा विभिन्न प्रकारका भुँई घाँसहरु रोप्ने आदि कार्य गरेको हामी सबैले देखी आएको कुरा हो । कृषिवन प्रणाली हामीहरुले नै उपयोग, विकास र संरक्षण गरिरहेको पद्घति हो । यसको प्रवद्र्घनले ग्रामीण क्षेत्रको अर्थतन्त्रमा विशेष किसिमको योगदान पुगेको देखिन्छ ।
नेपालमा परापूर्वकालदेखि नै कृषिवन प्रणालीको प्रयोग भएको पाइन्छ । कृषिवन प्रणालीको विश्व इतिहास हेर्ने होभने विभिन्न मुलुकहरुमा यसको प्रयोग शताब्दीऔ अगाडिदेखि गर्ने गरेकोे देखिन्छ । करिव सत्र सय वर्ष अघिदेखि चीनमा कृषिवनको उपयोग गरिदै आएको थियो । युरोपमा पनि मध्य युगसम्म खोरिया खेती प्रचलनमा थियो । विभिन्न देशमा कृषिवन प्रणालीका विविध रुपहरुको स्थानीय आवश्यकता अनुसार इतिहासका कालखाण्डमा प्रचलित थियो । अहिले विश्वभर अनेकांै प्रकारका कृषिवन प्रणालीको उपयोग भइरहेको छ ।
कृषिवनको विकास तथा प्रवद्र्घनका लागि खाद्य र कृषि संगठन, स्विडिस अन्तराष्ट्रिय विकास प्राधिकरण, कृषिवनमा अनुसन्धानका लागि अन्तराष्ट्रिय केन्द्र जस्ता संस्थाहरुले अन्तराष्ट्रिय रुपमा कार्यहरु गर्दै आइरहेका छन्भने राष्ट्रिय रुपमा नेपाल कृषि अनुसन्धान परिषद्, वन विभाग, कृषि विभाग र नेपाल कृषिवन प्रतिष्ठानले आ–आफ्नो स्थानबाट योगदान पु¥याइरहेका छन् ।
साधारणतया नेपालमा रहेका कृषिवन प्रणालीलाई खेतीमा आधारित कृषिवन र वनमा आधारित कृषिवन गरी दुई किसिमले विभाजन गर्न सकिन्छ । खेतीमा आधारित कृषिवन अन्तरगत घर बगैंचा, खेतबारी वरिपरि रुखबिरुवा लगाउने, कृषिवन मत्स्यपालन, बागबानी बालीसँग अन्तरखेती आदि पर्दछन् भने वनमा आधारित कृषिवन अन्तरगत वन चरण, वनमा गैह्रकाष्ठ वन पैदावार, खोरिया आदि पर्दछन् । नेपालको भौगोलिक जटिलतासँग सँगै कृषिवन प्रणाली पनि हिमाल, पहाड र तराई क्षेत्र अनुसार विभिन्न किसिमका रहेका छन् ।
नेपालको सन्दर्भमा कृषिवन प्रणाली बहुउपयोगी देखिएको छ । यसको विकास तथा विस्तारले ग्रामीण क्षेत्रको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउने देखिन्छ । कृषिवन प्रणालीको सिद्घान्त नै उत्पादनमा वृद्घि, खाद्य सुरक्षा, वातावरण संरक्षण र अन्ततः जीविकोपार्जनमा सुधार गर्नु नै हो । कृषिवन प्रणालीको अवलम्बनले बालीमा विविधीकरण, माटोको उर्वरा शक्तिमा वृद्घि, जग्गाको अधिकतम उपयोग र भूसंरक्षण हुन्छ । यसरी कृषिवनले एकातर्फ किसानहरुको उत्पादन बढाउनुका साथै आय आर्जनमा वृद्घि गर्दछ भने अर्कातर्फ जैविक विविधता संरक्षणमा समेत मद्दत पु¥याउँछ । विभिन्न प्रजातिका चरा, विरुवा, बालीदेखि लिएर अनेकौ प्राणीहरुका लागि कृषिवन प्रणाली एक उपयुक्त वासस्थान हो ।
कृषिवनले नेपाली समाजमा आर्थिक, सामाजिक र वातावरणीय फाइदाहरु पु¥याइरहेको छ । हाम्रो गाउँघरमा कृषिवनको प्रयोगले खाद्यवस्तु देखी लिएर काठ, दाउरा र घाँसको उत्पादन भइरहेको छ भने अर्कातर्फ यसले एकल खेतीमा किरा÷रोगबाट सम्पुर्ण खेतीको क्षती हुने संभावनाहरुलाई न्युनीकरण गरेको छ । हाम्रो गाउँबस्तिमा कृषिवनले एकातर्फ खाद्य सुरक्षा बढाउन मद्दत पुगेको छ भने अर्कातर्फ कृषकको जीवनस्तर उकास्न टेवा पुगेको छ । वातावरण संरक्षणमा पनि कृषिवनको अतुलनीय योगदान देखिन्छ । रुखबिरुवा घर छेउछाउँ रोप्नाले वायुमण्डलको अक्सिजनमा वृद्घि हुनुका साथै प्राकृतिक प्रकोपमा समेत कम जोखिम रहेको हुन्छ । बोट विरुवाको जराले माटोलाई समाइराख्नाले भूक्षयको रोकथाममा मद्दत पुगेको छ । अहिले जलवायु परिवर्तनका नकरात्मक प्रभाव देखी रहेको अवस्थामा कृषिवनले जलवायु परिवर्तन अनुकूलन र न्युनीकरणमा समेत विशेष भूमिका खेलेको छ । अनुकूलन अर्थात् परिवर्तित वातावरणमा घुलमिलका लागि कृषिवनले ग्रामीण जनतामा आधारभूत आवश्यकता खाद्यान्न, काठ, दाउरा, डाले घाँस, भुई घाँस आदिको पहुँच बढाई जलवायु परिवर्तन अनुकूलनमा मद्दत पु¥याएको छ । यसैगरी बोट विरुवा संरक्षण र प्रवद्र्घनले वायुमण्डलको कार्वन संचिति गरी जलवायु परिवर्तनलाई न्युनीकरणमा समेत सहयोग गरेको हुन्छ । नेपालमा हाल कृषिवनले अहिलेको वर्तमान र भविष्यमा चाहिने आवश्यकताहरु जस्तैः– दाउरा, डाले घाँस, भँुई घाँस, काठ आदि परिपूर्तिमा समेत योगदान पु¥याएको छ । यसरी कृषिवनले वन क्षेत्रको अत्याधिक चाप समेत घटाइ वन संरक्षणमा विशेष भूमिका खेलेको देखिन्छ ।
कृषिवन प्रणालीको अर्को पाटो हेर्ने हो भने कृषिवन प्रणालीमा काठजन्य र बालीका प्रजातिहरु बीच अन्तरक्रिया हुने भएकाले कृषिवनका लागि प्रजातिहरु छनौटमा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । सामान्यतया एकल खेतीभन्दा बढी झन्झटिलो हुने भएकोले सही स्थानको छनौट तथा आवश्यकता र प्राविधिक पक्षलाई किसानले ध्यान पु¥याउनु पर्दछ । कृषिवन प्रणाली अन्तरगत हुर्काउने रुख प्रजातिहरुको छनौटमा सहजै स्थापना हुने, छिटो बढ्ने, बहुउपयोगी, माटोको उर्वराशक्ति बढाउने, गहिरो जरा भएको, बजार भाउ भएको आदि गुणहरुले युक्त रुखहरुको छनौट गर्नुपर्दछ । यसैगरी कृषिवन प्रणालीमा कृषि बालीमा हुनु पर्ने विशेषताहरुमा बाली पूर्ण वा आशिंक रुपमा छाया सहने, बालीले रुखसँग पानी, प्रकाश र ठाउँको लागि कम प्रतिस्पर्धा गर्ने, बाली छोटो समयको, छिटो बढ्ने, गाह्रो वातावरणमा पनि बाँच्न सक्ने, छिटो आम्दानी दिने गुण भएको हुनु पर्दछ ।
कृषिवन प्रणाली किसानहरुलाई बहुउपयोगी भएपनि यसका आफ्नै चुनौतिहरु छन् । कृषिवन प्रणालीका कार्यहरु गर्न अलि बढी श्रम, दक्षता, आर्थिक स्रोत र अनुभव चाहिने भएकाले कृषकहरुलाई एकल खेतीभन्दा अलि झन्झटिलो हुन सक्दछ । यसैगरी रुख र बाली बिच प्रतिस्पर्धा हुन सक्ने संभावना पनि हुन सक्छ जसका कारण उत्पादनमा पनि कहिले काँही असर पर्न सक्छ । कृषिवन प्रणालीका यी चुनौतिहरुको सामना गर्न किसानहरुले उपर्युक्त प्रजाति छनौटमा विशेष ध्यान पु¥याउनु पर्दछ भने कृषिवनको कार्यको लागि बढी श्रम लगानी गर्नु पर्दछ । यसरी कृषिवन प्रणालीको अवलम्बनले कृषकहरुको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्न सक्ने देखिन्छ । यसका लागि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुले हाते मालो गर्दै कृषिवनको विकासका लागि जोड दिनु पर्ने आवश्यकता छ । (लेखक थापा जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत हुन् ।)
Previous Articleकोरलाः चर्चा बढी, काम भने मन्द गतिमा
Next Article जन्मदिनको खर्च सामाजिक कार्यमा