मुस्ताङ, २१ भदौ – हिमाल पारिको जिल्ला मुस्ताङस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ । नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थिति लगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको हो । पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाट अत्यन्त नजिक पर्ने यो नाका सञ्चालनसँगै अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासका लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ । सम्भाव्यता अध्ययनका लागि पछिल्लो समयमा व्यवस्थापिका–संसदको विकास समितिका सदस्यहरुबाट भएको स्थलगत अवलोकन भ्रमणपछि कोरला नाका सञ्चालनमा ल्याइनुपर्ने सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवम् पूर्व प्रधानमन्त्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याउने विषय राज्यको प्राथमिकतामा परेको प्रस्ट हुन्छ । पछिल्लो समयमा नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने कामलाई पनि अघि बढाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार नाका सञ्चालनमा ल्याउन अत्यावश्यकीय भन्सार कार्यालय एवम् सुरक्षा निकायका लागि जग्गा सीमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको छ । भन्सारसहित क्वारेन्टाइन, अध्यागमन, सीमा सुरक्षालगायतका कार्यालयका लागि छोनुप गाविसस्थित नेचुङमा १०० रोपनी जग्गा सिमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । त्यस्तै, नेपाली सेनाका लागि लोमान्थाङमा एक हजार रोपनी जग्गा सीमाङकन गरिएको छ । मौसमको अनुकूलताका आधारमा आगामी फागुन महिनादेखि काम सुरु हुने सम्भावना छ । पोखराबाट म्याग्दीको बेनीसम्म कालोपत्रे सडक र जोमसोम–लोमान्थाङ कच्ची मार्ग हुँदै चार हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरला नाका पुग्न सकिन्छ । नाकाबाट ३० किलोमिटरको दूरी पार गरेपछि ढोङ्वासेन पुगिने र त्यहाँबाट केही पर शिगात्सेबाट आएको चाइना नेसनल हाइवे भेटिने भएकाले प्रदेश नं ४ का लागि उत्तरी सम्पर्कको यो एक उपयुक्त मार्ग हुने देखिन्छ । लोमान्थाङबाट विभिन्न हिमाली दृश्य अवलोकन गर्दै पुग्न सकिने कोरला नाकाको २४ नं सीमास्तम्भले नेपाल र चीनको भूगोललाई छुट्याएको छ । नेपालतर्फ केही पनि पूर्वाधार निर्माण भएको देख्न नसकिए पनि त्यहाँ पुगेपछि चीनले आफ्नातर्फ घेरोको तारबार र ताला लगाएको द्वार हेरेर नेपाली पर्यटक फर्कने गरेका छन् । चीन सरकारले ठाउँ–ठाउँमा सोलार प्यानल जडान गरी त्यसैबाट सञ्चालन हुने सिसिटिभी र अन्य उपकरणहरु जडान गरी राखेको छ । पोखरासहित यस आसपासका क्षेत्रको पर्यटकीय विकासका लागि नाका खुलाउनु पर्ने आवश्यकता पछिल्लो समयमा पर्यटन क्षेत्र सम्बद्ध निकायहरुबीच छलफलको विषय बनेको छ । नाका सञ्चालनका सम्भावना र भौगोलिक अवस्थाको स्थलगत अवलोकनका लागि गत जेठमा पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको टोली कोरला नाका पुगेको थियो । सुनौलीदेखि पोखराहुँदै जोमसोम र लोमान्थाङबाट कोरला नाका पुग्न सकिने भएका कारण चीन र भारत जोड्ने यो नाका सबैभन्दा छोटो र कम खर्चिलो हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउँछन् ।
Previous Articleमानव बेचबिखन रोक्ने दायित्व
Next Article कृषि वन प्रणालीको विकास आजको आवश्यकता