पोखरा, १८ असार
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले पोखरा–लेखनाथ महानगरपालिका–१८ लभ्लीहिलका तारापति अधिकारीको घर बगाउँदा एक जनाको ज्यान गएको हो ।
पहिरोले पाहुना लाग्न आएका १४ वर्षीय टंक क्षेत्रीको मृत्यु भएको छ ।
राति साढे २ बजेतिर आएको पहिरोले घर बगाउँदा पुरिएका उनलाई प्रहरीले उद्धार गरेर पोखराको फिष्टेल अस्पतालमा ल्याएपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् । २ तले ब्लकले बनेको अधिकारीको घर भने भत्किएर बस्न नमिल्ने भएको छ ।
मृतक क्षेत्री ठूलो बुबाको घरमा पाहुना आएका थिए ।
यसैबीच, गएरातिदेखी परेको अविरल वर्षापछि आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा श्याम गुरुङको घरमा क्षति पुर्याएको छ । २ तले भवन पहिरोले पुर्दा गुरुङ परिवार विस्थापित भएका छन् । उनीहरुलाई राति नै उद्धार गरेर छिमेकीकोमा सारिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, याम्दी खोला बढ्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ सिमपानीमा लालीमान थापाको घरमा क्षति पुगेको छ । थापाको घरको तल्लो तलाको एउटा कोठामा बाढीको भल पस्दा त्यहाँ बस्दै आएका बिस्थापित भएका छन् भने घर अगाडि बनाएको कट्टेज पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
पोखरामा पहिरोः अधिकारी परिवार सकुशल, पाहुनाको ज्यान गयो
Previous Articleएमालेका सोमनाथ सापकोटा भए गुल्मीको मुसिकोट नगरको मेयर
Next Article पहिरोले घर पुरिँदा तीन जना बेपत्ता