पर्वत, १७ असार – बर्षायाम शुरु भएसँगै पर्वत जिल्लाका ग्रामिण सडकहरु हिलाम्य र जोखिमपूर्ण बन्दै गएका छन् । बर्षायाममा ग्रामिण सडकमा यात्रा गर्ने सर्वसाधरणको जीवन पनि उत्तिकै खतरा युक्त छ । प्राविधिकको मापदण्ड अनुसार सडक निर्माण नगरी पहुँच र राजनीतिक आडमा विस्तार गरिदाँ सडक जोखिमपूर्ण बनेका हुन् । पर्वतको जलजला गाउँपालिका अन्तर्गत वाँसखर्क, लेकफाँट र शालिजाका ग्रामीण सडक वर्षा लागे संगै जोखिमपुर्ण वनेका छन् भने दक्षिण जोड्ने सडक संजालहरुको अबस्था उस्तै छ । बाँसखर्कहुँदै लेकफाँटको लोप्रे जाने सडक, मिलनचोकहुँदै लोप्रे जाने मुख्य सडक हिलाम्य भएका छन् । तिनै सडकका शाखा सडक त प्रायः ठप्पै बनेका छन् । पर्यटकिय क्षेत्र नागी पुग्ने पर्यटक, तरकारी ओसार्न र गाउँवाट वजार आउजाउ गर्न स्थानीयले प्रयोग गर्ने ग्रामिण सडक अहिले हिलाम्मे हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यता वनेको स्थानीयको गुनासो रहेको छ । जिल्ला समन्वय समितिले मर्मतका लागि वर्षेनी रकम खर्चिने गरेपनि हिउँदमा मात्र सहज यात्रा हुने गरेको स्थानीयले वताएका छन् । हिँउदभरि बनाउने वर्खा लागेपछि भेलले बगाएर जस्ताको तेस्तै हुने समस्याले सास्ती पाएको लेकफाँटका टंकप्रसाद सुबेदीले गुनासो गरे । सडक बिग्रिएकाले चालकहरुले कोदाली, बेल्चा, धानको भुस बोकेर हिँडनु परेको बताएका छन् । गाडी फसिने डरले त्यस्ता सामाग्री साथमा वोकेर हिँड्नु परेको चालक कृष्ण पुनले बताए । जिल्ला समन्वय समितिले अहिले यो आर्थिक बर्षभित्र मर्मत भएका सडक, जिल्ला समन्वय समितिले बजेट विनियोजन भएर वनेका अन्य योजनाहरुको प्रगतिको वारेमा स्थलगत अनुगमन गरिरहेको छ । आव सकिदै लाग्दा बर्षेनी हुने यस्ता अनुगमन देखावटी अनुगमन बाहेक अरु हुन सकेको छैन । राज्यले लगानी गरेको लाखौ रकम बर्षायामको भेलसँगै बगिरहेको छभने ठेकेदार मोटाउने काम मात्रै भैराखेको छ । कलष्टर नम्बर १ को टोलीले बुधबार जलजला गाउँपालिकाका योजनाहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा योजनाहरु वर्खा लागेसंगै बिग्रिएको र सडकहरु सवारी चलाउनको लागि जोखिमपूर्ण रहेको पाइएको छ । कतिपय योजनाहरु सम्झौता भएको लामो समयसम्म अझै काम शुरु नभएको समेत अनुगमनका क्रममा देखिएको छ । कालिगण्डकी नदी नियन्त्रण कार्यक्रम अन्तर्गत लस्ती र मालढुङगाको बस्ती जोगाउने कालीगण्डकी नदि नियन्त्रण कार्यक्रम फागुनमा पेश्की बुझेर समेत अहिलेसम्म काम शुरु हुन सकेको छैन ।