सन्दर्भ १, ५ र ७ प्रदेशको निर्वाचन
डिल्लीप्रसाद गौतम
अन्ततः लामो समयको परखाईलाई चिर्दै र कैयन आशंकालाई किनारा लगाउँदै दोस्रो चरणअन्र्तगत बुधबार अर्थात् २०७४ आषाढ १४ का दिन प्रदेश नं. १, ५ र ७ मा निकै घम्साघम्सी र रस्साकस्सीका बीच स्थानिय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । खास गरि मधेसी दलहरुको आधार क्षेत्र मानिने र तिनै मधेशी दल अर्थात राजपालाई निर्वाचनमा सहभागी गराउने उद्देश्यका साथ बैशाख ३१, २०७२ मा नै पहिलो चरणअन्र्तगत सम्पन्न हुनुपर्ने निर्वाचन पटक–पटक तिथि र मिति परिवर्तन गर्दै अन्ततः दलगत रुपमा राजपाको सहभागिता बिना नै निर्वाचन दोस्रो चरणमा सम्पन्न भएको छ । उसो त राजपाले पार्टीगत रुपमा सहभागिता नजनाए पनि व्यक्तिगत रुपमा उक्त दलमा रहेका थुप्रै उम्मेदवारहरुले स्वतन्त्र रुपमा चुनावी प्रतिष्पर्धामा उत्रिए । अर्कोतर्फ मधेश केन्द्रीत राजनीतिमा समर्पित लोकतान्त्रिक फोरम लगायतका केही दलहरुले पार्टीगत रुपमा नै उम्मेदवारी दर्ता गरी चुनावमा भाग लिए । यसरी कुनै न कुनै रुपमा मधेशी दल र जनताको प्रतिनिधित्व हुने गरी चुनावमा भाग लिनुले तिनवटै प्रदेशमा मधेसी नागरिकहरुको प्रतिनिधित्व भएको अनुभूति आम तराईबासीहरुमा पाईयो । उसो त निर्वाचनको लागि मनोनयन दर्तादेखि प्रचार–प्रसारहुँदै मतदानको दिनसम्म सम्पूर्ण तराई निर्वाचनमय भएको थियो । आमनागरिकमा निर्वाचनप्रति व्यापक चासो र उत्सुकता पैदा भएको र मतदाताहरु आफ्नो मत आफुले चाहेको व्यक्ति वा दलका प्रतिनिधिलाई प्रदान गरेर प्रतिनिधि छानेका छन् ।
सम्पूर्ण तराई निर्वाचनमय भैरहँदा दलका नेता तथा दलबाट प्रतिनिधि बनेका उम्मेदवारहरु पनि निर्वाचन आफ्नो पक्षमा पार्न भरमग्दुर कोसिस गरेका थिए । सम्पूर्ण तराई निर्वाचनमय भैरहँदा दलहरुबाट मतदातालाई अनावश्यक दबाब, लोभ, लालच र प्रभावमा पार्ने किसिमका क्रियाकलापहरु पनि भएका समाचार बाहिर आएका थिए । यसै विषयलाई लिएर निर्वाचन आयोगले समेत दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्नको लागि बेलाबेलामा सजग समेत बनाइरहेको पनि छ । तर पनि ‘काग कगराउँदै जान्छ, पिना सुक्दै जान्छ’ भन्ने नेपाली उखान ठ्याक्कै मेल खाने गरी दलहरुले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नको लागि कुनै कसुर बाँकी भने राखेनन् । यसरी कैयन् आचारसंहिताको उल्लंघनका बाबजुत पनि शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । यसलाई लोकतन्त्रमा उपलब्धि नै ठान्नुपर्दछ । २० औं वर्ष पश्चात सम्पन्न हुन गैरहेको स्थानिय तहको निर्वाचन आफैमा महत्वको विषय थियो । त्यसमा पनि संघिय संरचनानुसार र नेपाल अधिराज्यको संविधान २०७२ लाई कार्यान्वयन गराउने पहिलो खुट्कीलोको रुपमा सम्पन्न भएको यस निर्वाचनको नेपालको राजनीतिक इतिहासमा विशेष महत्व छ । एकातिर यस निर्वाचनमार्फत संविधान कार्यान्वयनको ढोका खोल्ने काम गरेको छभने अर्कोतर्फ २० औं वर्षको अन्तरालमा नागरिकले आफ्नो जनप्रतिनिधि आफ्नो मताधिकार मार्फत चयन मौका पाएका छन् । त्यति मात्रै हैन स्थानिय नागरिकहरुले जिल्ला वा केन्द्रमा केन्द्रितकृत अधिकारहरु सहज रुपले आफ्नै गाउँ–ठाउँमा आफैले चयन गरेका प्रतिनिधिमार्फत प्राप्त गर्ने छन् । अझै भन्नु पर्दा जल, जमिन र जंगल लगायत पर्यटकीय र प्राकृतिक सम्पदाहरुको प्रयोग समेत स्थानिय स्तरबाटै निर्णय गरिने र ति साधन र श्रोतमा स्थानियहरुको पहुँच कायम हुने छ । त्यसैले भनिएको छ संघिय संरचनानुसारको स्थानिय निर्वाचनले सिंहदरवारमा केन्द्रिकृत अधिकारहरुलाई गाउँ–गाउँ तहसम्म विकेन्द्रित गर्ने छ ।
यसरी लामो पर्खाइ र चर्चा उपचर्चा साथै आशंका नै आशंका बीच सम्पन्न भएको दोस्रो चरण अन्र्तगत १, ५ र ७ नम्बर प्रदेशको निर्वाचनको परिणाम बारे दलहरुका आ–आफ्नै अड्कलबाजी कायम छन् । पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ बाट कुल स्थानिय तह र २ र ३ मध्यमा सबैभन्दा बढी सिट ल्याएर पहिलो पार्टीको रुपमा आफ्नो उपस्थिति देखाउन सफल एमाले अब सम्पन्न हुने निर्वाचनमा पनि पहिलो स्थान प्राप्त गर्ने प्रतिक्षाका साथ पूर्ण रुपले निर्वाचनमा होमियो भने पहिलो चरणमा निर्वाचनमा प्राविधिक रुपले केही पछाडी परेको निष्कर्षका साथ मुलुककै प्रमुख पार्टी नेपाली काँग्रेस पनि पहिलो चरण निर्वाचनको कमीकमजोरीलाई सुधार्दै पार्टीको सम्पूर्ण पंक्ति नै निर्वाचनमा होमियो । त्यती मात्र होइन आफुलाई मधेशी जनताको पार्टी रहेको नाराका साथ काँग्रेसले आफ्नो सम्पूर्ण ताकत मधेशमा उतारेको थियो । त्यसैगरी तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि तराईमा आफ्नो उपस्थिति बलियो देखाउन सम्पूर्ण शक्ति मधेश केन्द्रित बनाएको थियो । त्यसैगरी आफ्नो पार्टीको उत्पत्ति नै मधेश आधारित बनाएका मधेशवादी दलहरु समेत आफ्नो पकड जमाउन कोही स्वतन्त्र त कोही पार्टीगत रुपमा नै मोर्चाबन्दी गरेर निर्वाचनमा होमिए । अझै भन्नु पर्दा मधेशवादी दलहरुले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई मधेश विरोधीको रुपमा प्रचार–प्रसार गरेर मधेशी जनताको मत आफ्नो पोल्टामा पार्न हर उपाय अबलम्वन गरेको देखियो । खास गरी मधेशको निर्वाचन यो मानेमा पनि रोमाञ्चक बन्यो की ठाउँअनुसार चुनावी तालमेल गरियो । केन्द्रमा राजनीतिक ध्रुविकरण जे–जस्तो भएपनि स्थानिय रुपमा दलहरुले आ–आफ्नो धरातल अनुसार चुनावी रणनीति अबलम्बन गरेका थिए ।
लामो समय पश्चात नयाँ संरचनानुसार चुनाव समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । यो चुनावलाई नियालेर हेर्दा अनुमान भन्दा फरक तरिकाले सम्पन्न भएको छ । दोस्रो चरणको निर्वाचनमा छिटफुट बाहेक ठुला कुनै अप्रिय घटना भएनन् । विगतमा जस्तो गम्भिर प्रकृतिका घटना भएनन्भने सामान्य बाहेक आचारसंहिता उलंघनका क्रियाकलाप पनि भएको पाइएन । दलहरुको चुनावी रणनीतिमा परिवर्तन भएको पाइयो भने मतदाता पनि अति सचेत बनेको पाइयो । विगतमा जस्तो चुनावी तडकभडक, मारपीट, बुध कब्जा, बाल पेन्टीङ्ग र पोस्टरले शहर बजार कुरुप पनि हुन् परेन । तसर्थ निर्वाचन जो जसको पक्षमा गएपनि समग्रमा चुनावी परिपाटी सुधार उन्मुखतर्फ अग्रसर भएको भेटियो । निर्वाचनमा सहभागी सम्पूर्णलाई धन्यवाद !!!
Previous Article२०७४ असार १६ गते शुक्रबारको राशिफल
Next Article विद्यामन्दिर बालविकास केन्द्रमा अभिभावक भेला