बागलुङ, १५ असार-भात खाने संस्कृतिलाई अन्त्य गर्न सकेमा बागलुङको उत्पादनले जिल्लाबासीलाई पुग्ने देखिन्छ । खाद्यन्नलाइ समानुपातिक रुपमा प्रयोग गर्दै खाने बानीमा सुधार ल्याउन सकेमा बागलुङमा उत्पादीत खाद्यान्नले आत्मनिर्भर बन्न सक्ने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ । पछिल्लो समय किसानले उत्पादन गरेको दूधले पनि जिल्ला निर्भर बनिरहेको छ । तरकारी फलाएर अन्यत्रबाट भित्रने क्रम रोकिएको छ । सुख्खा मौषम बाहेक जिल्लामा तरकारी आयात नभएको समेत व्यवसायीले बताए । ‘जिल्लाभित्रका बासिन्दालाइ खान पुग्ने खाद्यान्न उत्पादन भैरहेकै छ’ कृषि प्रसार अधिकृत विप्लब अधिकारीले भने, ‘धानकै उत्पादन हेर्दा थोरै होला, तर सबै खाद्यान्नले हामीलाई पुग्ने देखिन्छ ।’ मकै, गहुँ र कोदोलाई पनि खाद्यबालीको रुपमा लिएर मात्रा मिलाएर खान सिक्नुपर्ने उनले बताए । जिल्ला भित्रको ५ हजार ९ सय ३४ हेक्टर जमिनमा धान लगाएर झण्डै २० हजार मेट्रिक टन उत्पादन भइरहेको छ । समयमै पानी पर्नाले यो बर्ष धान उत्पादन बढ्न सक्ने अनुमान छ । असारको १४ गतेसम्म बागलुङमा कुल धान खेत मध्ये ३४ प्रतिशत रोपाई भैसकेको बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए । जिल्लामा युवाहरु विदेशिएकोले श्रमिक अभाव हुनु, जमिन बाझो रहनु जस्ता समस्या रहेको उनले बताए । कार्यालयले नियमित वितरणगर्ने मिनि किट र उन्नत बीउ बिजनले उत्पादनलाई भने राम्रो प्रभाव परेको पनि उनले जानकारी दिए । जिल्लाको प्रमुख खाद्यबाली धान भएकोले उत्पादन बढाउन सबैले चासो राख्नुपर्ने आचार्यको भनाई छ । ‘चामल सहित अन्य कृषि बालीलाइ पनि खाद्यान्नको रुपमा उपभोग गर्ने बानी बसाल्न सकेमा जिल्लाको उत्पादनले आत्मनिर्भर बन्ने बाटो खुल्छ’ आचार्यले भने, ‘अन्य खाद्यबालीलाइ पनि मिलाएर खान जानेमा हामी धेरै धनी बन्न सक्छौं ।’ असार १५ लाई धान दिवशको रुपमा मनाएर युवालाई पनि कृषि पेशामा आर्कर्षित गर्नुपर्ने उनले बताए । जिल्लाबासीमा धान उत्पादन नभएपनि भात मात्र खाने बानीले चामल नपुगेर आयात गर्नुपरेको हो । जिल्लामा उत्पादन हुने मकै, कोदो, गहुँ, फापर र गेडागुडीको प्रयोग बढाएमा करोडौं रुपैया आयातमा खर्च गर्नु नपर्ने उनले बताए । जिल्लाभित्र झण्डै ६ सय प्लाष्टिक घरमा गोलभेडा र बेमौषमी तरकारी फल्न थालेको छ । जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भएको बरिष्ठ पशु विकास अधिकृत गोपाल गिरीले बताए । जिल्लामा अहिले १३ हजार मेट्रिकटन चामल बाहिर बाट आउने गरेको छ । मकै, गहुँ, र कोदोलाइ पनि खाने बानीको विकास गर्नसकेमा खाद्यान्न अभाव नहुने कार्यालयको तथ्यांक छ । खाद्यान्न बढाउन कृषि कार्यालयले मकै संरक्षण र उत्पादनमा लगानी बढाएको छ । बीउ अनुदान दिने र पकेट क्षेत्रमा हाते ट्रयाक्टरमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम कार्यालयले बनाएको हो । साना सिंचाइ समेत बढाएर ग्रामीण क्षेत्रमा उत्पादन बढाउने योजनासहित करोडौका योजना संचालनमा छन् । असारमा किसानले गहुँ र मकै भित्राएकोले प¥र्याप्त खाद्य संचिती रहेको पनि कार्यालयको तथ्यांक छ । सबै बालीको उपयोग बढाएमा आयात घट्ने देखिन्छ । जिल्लामा हरेक बर्ष गहुँ १६ हजार ७ सय ८६ मेट्रिकटन, धान १८ देखि १९ हजार मेट्रिक टन, मकै ५८ हजार ८ सय ३५ र कोदो २१ हजार ९ सय ६५ मेट्रिकटन उत्पादन हुन्छ । जिल्लामा २० हजार मेट्रिक टन भन्दा धेरै तरकारी व्यवसायिक उत्पादन भएको कार्यालयको तथ्यांक छ । गत बर्ष मात्र जिल्लाबाट २ करोड रुपैयाूको तरकारी, एक करोड ६० लाखको आलु, ९ लाखको मह, २० लाखको कफी र ४८ लाख रुपैयाूको अदुवा विक्रि गरेको तथ्यांक छ ।
Previous Articleदोस्रो चरणको चुनाव उत्साहपूर्ण रुपमा सम्पन्न
Next Article परिवर्तन जबजबाटै संभव छः केसी