बागलुङ, १५ असार-नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मना केसीले एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादबाट मात्रै मुलुकले शान्ति र समृद्धि प्राप्त गर्ने दाबी गरेकी छिन् । जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नेकपा एमालेको तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारीको ६६ औं जन्म जयन्ती पारेर बुधबार बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित मदन–आश्रीत स्मृति पार्कमा आयोजित कार्यक्रममा केसीले यस्तो बताएकी हुन् । सानै उमेरमा नेपालको बामपन्थी आन्दोलनलाई विश्वमा चिनाउन सफल मदन भण्डारीलाई स्मरण गर्नका लागि आयोजित दिप प्रज्ज्वलन कार्यक्रममा जननेता भण्डारीका बारेमा जानकारी गराउदै नेतृ केसीले नेपालको वर्तमान राजनीति जनताको बहुदलीय जनवादकै अगुवाईमा अगाडि बढेको दाबी गरिन् । २००९ सालमा साविकको ताप्लेजुङ जिल्लामा जन्मिएका मदन भण्डारी २०४६ सालको जनआन्दोलनका योजनाकार समेत रहेको चर्चा गर्दै केसीले मदन भण्डारीले २०४७ सालको संविधान जारी गर्दा व्यक्त गरेका २७ बुँदे अहसमतिहहरु २०६२÷०६३ को आन्दोलनले पुरा गरेको बताइन् । बामपन्थी र प्रजातान्त्रिक शक्तिहरु बीच समन्वय गर्दै अगाडि बढ्ने, जनताको सर्वोच्चताबाट मात्रै लोकतन्त्र संस्थागत हुने र आर्थिक समृद्धिको यात्रा अगाडि बढ्ने लगायत मुख्य १४ वटा विशेषता जनताको बहुदलीय जनवादमा रहेको र जवजकै मार्गदर्शनमा देश अगाडि बढिरहेको केसीले चर्चा गरिन् । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी निधन भएको थियो । मदन–आश्रीत स्मृति पार्क व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा एमाले नेतृ मना केसी, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, सांसद नरबहादुर थापा लगायतले दिप प्रज्ज्वन गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य लक्ष्मी बोहराले गरेकी थिइन् ।
Previous Articleखानेबानी सुधार भए खाद्यन्नमा आत्मनिर्भर
Next Article आमा समूहद्वारा सामाजिक भवन निर्माण