घनश्याम सापकोटा
बसाइँसराइँका कारणहरुः
बसाइँसराइँका कारणहरुलाई बसाइँसराइँलाई प्रभाव पर्ने तत्वहरु वा बसाइँसराइँका निर्धारकहरु पनि भन्ने गरिन्छ । जनसङ्ख्याका निर्धारकहरु मध्ये बसाइँसराइँ फरक घटना रुपमा रहेको पाइन्छ । यो नितान्त व्यक्तिको इच्छा वा चाहनामा पनि भर पर्नेहुनाले यसका कारणहरु यकिन गर्न ज्यादै कठिन हुन्छ । कतिपय अवस्थामा बसाइँसराइँ एक मात्र कारणले नभइ एक भन्दा बढी कारणले पनि हुन सकदछ । बसाइँसराइँका कारणहरु ज्यादै जटिल देखि लिएर ज्यादै सामान्य पनि हुन सक्दछन् । यसका केही कारणहरु निम्न छन् ः
१) आर्थिक कारणहरुः
बसाइँसराइँलाई प्रभाव पार्ने महत्वपूर्ण कारकका रुपमा आर्थिक कारणहरुलाई लिने गरिन्छ । नेपाल जस्तो कम विकसित मुलुकहरुम ाअधिकांश बसाइँसराइँ आर्थिक कारणले नै हुने गर्दछन् । आफू बसोबास गरिरहेको ठाउँ भन्दा अन्य ठाउँमा बढी आर्थिक उन्नति वा प्रगति हुने सम्भावना देखेमा मानिस त्यस स्थानतिर वासस्थान परिवर्तन गर्ने गर्दछ । उद्म स्थानमा गरिबी, वेरोजगारी, जमिनको अभाव, यातायात तथा सञ्चारको असुविधा आदि जस्ता आर्थिक कारणहरुले मानिसलाई अन्य स्थानमा सर्न बाध्य पार्दछन् भने गन्तव्य स्थानका रोजगारीको सुविधा, शहरीकरण, औद्योगीककरण, जमिनको उपलब्धता, यातायात तथा सञ्चारको सुविधा आदि तत्वहरुले मानिसलाई आकर्षित गर्दछन् । गाउँबाट शहरमा, साना शहरी क्षेत्रबाट ठुला शहरहरुमा त्यसैगरी कम विकसित मुलुकहरुबाट विकसित मुलुकहरुमा हुने बसाइँसराइँको प्रमुख कारण दुई स्थानबीचको आर्थिक असमानता नै हो ।
२) सामाजिक कारणहरुः
बसाइँसराइँ हुने अर्को कारण सामाजिक कारण हो । सामाजिक कारण अन्तर्गत शिक्षा स्वास्थ्य, विवाह आदि पर्दछन् । मानिस सामान्यतया राम्रो शिक्षा प्राप्त गर्न सकिने स्थानमा बसाइँसरी जान चाहन्छ । त्यसैगरी स्वास्थ्य सेवा सुविधाका अभाव भएको क्षेत्रबाट स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सकिने स्थानमा वासस्थान परिवर्तन गर्न चाहन्छ । त्यसैगरी विवाह एक सामाजिक संस्कार हो विवाहको कारणले पनि प्रत्येक समाजमा बसाइँसराइँ हुने गर्दछ । महिलाहरु विवाहको कारणले आफ्नो जन्म स्थान वा अक्सर बसोबास गरेको स्थान छोडी आफ्नो पतिको बासस्थान भएको ठाउँमा बसाइँ सर्दछन् । त्यसैगरी पारिवारिक मनमुटाव वा भैmंझगडा, सामाजिक सुरक्षाको अभाव आदि जस्ता सामाजिक कारणहरुले पनि मानिस बसाइँ सर्न बाध्य हुन्छन् ।
३) राजनीतिक कारणः
राजनीतिक कारणले पनि बसाइँसराइँ हुने गर्दछ । अर्थात् राज्यले लिएको नीतिको कारण बसाइँसराइँ प्रभावित हुने गर्दछ । राज्यले बसाइँसराइँलाई प्रोत्साहन गर्ने नीति लिएको छभने बसाइँसराइँ प्रक्रिया तीव्र हुन्छभने बसाइँसराइँलाई नियन्त्रण गर्ने नीति अवलम्बन गरेको छभने बसाइँसराइँ पनि कम हुने गर्दछ । त्यसै गरी जुन स्थानमा राजनैतिक अस्थिरता वा असुरक्षा हुन्छ त्यो स्थानबाट अन्य स्थानमा बसाइँसराइँ हुने गर्दछ । साथै राजनीतिक कारणले अन्तर्राष्ट्रिय बसाइँसराइँ पनि हुने गर्दछ । देशमा राजनीतिक अस्थिरता, भेदभावपूर्ण नीति आदि कारणले एक देशबाट अर्को देशमा बसाइँ सर्ने र शरणार्थीको रुपमा बासस्थान परिवर्तन हुने गर्दछ । जसको प्रत्यक्ष उदाहरणका रुपमा नेपालमा शरणार्थीको रुपमा जीवन विताइरहेका भुटानी शरणार्थीहरुलाई लिन सकिन्छ ।
४) जनसाङ्ख्यिक कारणः
जुन स्थानमा जनसङ्ख्याको चाप वा जनघनत्व बढी हुन्छ त्यस ठाउँबाट मानिसहरु कम जनघनत्व भएका क्षेत्रतिर बसाइँ सर्दछन् । बढी जनसङ्ख्याको चाप भएका क्षेत्रमा खाद्यान्नको अभाव, सेवा सुविधाको अपर्याप्तता, वातावरणीय प्रदूषण आदि विषम परिस्थिति रहेन हुनाले सहज परिस्थितिको खोजीमा मानिसहरु अन्यत्र बसाइँ सर्ने गर्दछन् । तर नेपालको सन्दर्भमा सेवा सुविधाहरु शहर र तराई केन्द्रित भएका हुनाले कम जनघनत्व भएका ग्रामीण, हिमाली तथा पहाडी क्षेत्रबाट शहरी तथा तराई क्षेत्रमा बसाइँसराइँहुने गरेको पाइन्छ ।
५) वातावरणीय कारणः
वातावरणीय कारणले पनि बसाइँसराइँ हुने गर्दछ । आफू बसेको बासस्थानमा भएको खराब वा तावरण, कम उब्जाउ जमिन, भौगोलिक दुर्गमता वा विषमताका साथै बाढिपहिरो, भूकम्प, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपका कारणले पनि मानिसहरु एक ठाउँ छोडेर अर्को ठाउँमा बसाइँ सर्न बाध्य हुन्छन् ।
६) धार्मिक कारणः
बसाइँसराइँ धार्मिक कारणले पनि हुने गर्दछ । विभिन्न धार्मिक आस्था राख्ने मानिसहरु आफ्नो धार्मिक स्थलको वरिपरि बसाइँ सर्न रुचाउँछन् । नेपालको सन्दर्भमा काठमाडौंको पशुपतिनाथ क्षेत्र, त्रिवेणी, लुम्बिनी, देवघाट आदि धार्मिक स्थलवरिपरि बसाइँ सर्नु धार्मिक कारण नै मान्न सकिन्छ ।