म्याग्दी, १२ असार – तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् । प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो । चालु आवमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको धौलागिरि गाउँपालिका–३ मा रहेको धनजनता माविका प्रधानाध्यापक पुस्कर भण्डारीले बताए । ‘शिक्षा कार्यालयबाट प्राप्त हुने पिसिएफ अनुदानले निजी स्रोतका र तल्लो तहमा दरबन्दी भएर माथिल्लो तहमा अध्यापन गर्ने शिक्षकलाई तलब खुवाउन सहयोग मिलेको थियो’, प्रअ भण्डारीले भने – ‘चालु आवमा अनुदान नआउँदा निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।’ जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले चालु आवदेखि विभागले देशभरका विद्यालयलाई दिँदै आएको तलबी अनुदान कटौती गरेको जानकारी दिए । ‘विगतमा आवको अन्तमा अनुदान आउने गरेको थियो’, थापाले भने – ‘यसपालि अनुदान नै कटौती भएको जानकारी आएको छ । दरबन्दी नभएका आधारभूत र माध्यमिक विद्यालयलाई समस्या भएको छ ।’ गत आव २०७२÷७३ मा म्याग्दीका सामुदायिक विद्यालयमा ६२ लाख तलबी अनुदान वितरण गरिएको थियो । म्याग्दीमा २३२ वटा सामुदायिक विद्यालय रहेका छन् । १९ वटाको मावि, १९ वटाको आधारभूत तहमा दरबन्दीका शिक्षक छैनन् । नौवटा १–५ तहको पठनपाठन हुने विद्यालयले अहिलेसम्म दरबन्दी नपाउँदा निजी स्रोत जुटाएर शिक्षक पाल्दै आएका छन् ।
Previous Article२०७४ असार १२ गते सोमबारको राशिफल
Next Article म्याग्दी तातोपानीका मुहान अलपत्र