म्याग्दी, १० असार – जिल्लाका दुई ठूला नदी कालीगण्डकी र म्याग्दीनदीका वगरहरुवाट अनियन्त्रित रुपमा ढुङ्गा र वालुवा निकाल्ने क्रम बढेपछि नदीको सुन्दरता गुम्नुका साथै तटीय क्षेत्रका गाउँहरु समेत असुरक्षित बन्दै गएका छन् । नदी छेउका वगरहरु डोजर लगाएर खन्दै ढुङ्गा र वालुवा निकाल्न थालेपछि नदीको मौलिक स्वरुपमा परिर्वन आउनुका साथै नदीहरु कुरुप देखिन थालेका छन् भने छेउछाउका गाउँहरु समेत खतरामा परेका छन् । वढ्दो शहरीकरणका कारण घर निर्माण हुने क्रम वढ्दै गएपछि ढुङ्गा गिट्टी र वालुवाका लागि म्याग्दी र कालीगण्डकीका वगरहरु धमाधम खनिदै छन् । यसवाट नदीको धार परिवर्तन हुनुका साथै वरपरका गाउँहरुलाई समेत खतरा उत्पन्न भएको स्थानीयवासिन्दाहरुको गुनासो रहेको छ । ‘जथाभावि रुपमा नदीवाट ढुङ्गा र बालुवा निकालिदै छ, नियमन निकाय छैन, नदीले धार परिवर्तन गर्दा नदीहरुको सौन्दर्य लोप हुनुका साथै नदी वगर नजिकका गाउँहरु समेत खतरामा छन्’ बेनी नगरपालिका २ का रामवहादुर घर्तीले बताए । सरकारी स्वामित्वमा रहेका खोला नदीहरु केही टाँठा वाठा व्यक्तिहरुका लागि दुहुनागाई वनेका छन्भने जिल्ला समन्वय समिति र नगर वा गाउँपालिकाका सम्वन्धित वडाहरु पनि त्यसवाट प्राप्त हुने रोयल्टीमा नै मख्ख परेका कारण वगर अतिक्रमणको समस्या बढ्नुका साथै वातावरणीय समस्या समेत उत्पन्न भएको स्थानीयको भनाइ रहेको छ । स्थानीय स्वायत्त शासनको नियम अनुसार स्थानीय श्रोत साधनहरु माथि स्थानीय वासिन्दाहरुकै अधिकार हुनुपर्नेमा म्याग्दीका नदी वगरहरु भने केही सीमित व्यक्तिहरुका लागि मात्र आम्दानीका गतिलो श्रोत वनेका स्थानीय स्थानीय वासिन्दाहरुले बताएका छन् । नदीका वगरहरु जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपािलकाका केही कर्मचारी, ठेकेदार, ट्याक्टर मालिकहरुका लागि कमाइखाने साधन वनेका र केही मजदुरहरुले रोजगारी पाए पनि स्थानीय वासिन्दाहरुका लागि ‘कागलाई वेलपाक्यो हर्ष न विश्मात’ भनेजस्तै भएका गाउँलेहरुको भनाइ छ ।
धु्रबसागर शर्मा