केतुस खतिवडा
अमेरिका आउनेबित्तिकै सुरुमा मेरो सम्पर्क एउटा पन्जाबी ठिटोसँग भएको थियो । ऊ अमेरिकनको ग्यास स्टेसनमा म्यानेजर थियो । चार पाँच वटा स्टोर हेथ्र्यो । ऊ मलाई ग्यासको काम सिकाउँदै थियो र म चाहिँ सँगसँगै हिन्दी पनि सिकिरहेको थिएँ । एक साँझ उसले मलाई गुरुदेव भन्ने अर्को पन्जाबीसँग परिचय गरायो । त्यसै रात गुरुदेवले मलाई ‘अलिकति मद्दत चाहिएको छ’ भन्दै आफ्नो गाडीमा लिएर गयो ।
पहिलो चिनजानमै राम्रै मान्छे लागेको थियो । त्यसैले तुलसालाई ‘एकछिनमा आउँछु है’ भनेर राति नौ बजेतिर ऊसँग गएँ । १५ मिनेटजतिमा एउटा सेल ग्यास स्टेसनमा पुर्यायो र भन्यो, ‘यो मेरो ग्यास स्टेसन हो । काम गर्ने आज बिरामी भएर आउन सकेन । त्यसैले तिमीलाई लिएर आएको । भोलि बिहान सात बजे नै तिमीलाई लिन आउँछु ।’
म केही बोलिनँ । भनेको मानुँ भने कस्तो ठाउँ हो, काम पनि जानिसकेको छैन, रातभर काम पनि गरेको छैन, तुलसालाई पनि पत्तो छैन । नमानुँ भने भर्खर काम दिने म्यानेजरको साथी, भोलि नै जागिरबाट निकालिदेला भन्ने पिर । मैले केही भन्नुअघि नै उसले सुरक्षाका सम्पूर्ण उपाय र गर्नुपर्ने कामबारे बतायो र हिँडी पनि हाल्यो । अब परेन फसाद । फोन गरेर तुलसालाई जानकारी गराएँ ।
मलाई आफू नराम्ररी ठगिएको महसुस भयो । आफ्नो अवस्था राम्रो नभएर नै यसरी ठगिनुपरेको जस्तो लाग्यो । मनमनै सोचें, मेरो पनि दिन आउला नि । जीवनमा पहिलोपटक रातभर काम गर्नुपरेको थियो । सानो छँदा रातिको बिहेमा जाँदा रमाइलै रमाइलोमा र ठूलो भएपछि चाडबाडमा तास खेलेर रात बिताएको थोरबहुत अनुभव मात्र थियो, रातभर ननिदाएको । तर, रातभरि काम त कहिल्यै गरेको थिएन ।
राति भएकाले ग्राहक फाट्टफुट्ट मात्र आउँथे । जसोतसो तीन बजेसम्म त टिकें ।
त्यसपछि त जति आँखा खोल्न खोजे पनि बन्द भइहाल्ने । अनि केही नचलेपछि स्टोरको ढोका भित्रैबाट बन्द गरिदिएँ अनि बाहिरबाटै पढ्न सकिने गरी सिसामा सूचना टाँसिदिएँ, ‘म १५ मिनेटमा आउनेछु ।’ अनि स्टोर रुममा काउन्टरको कुर्सी लगेर त्यही निदाइदिएँ । सात बजे गुरुदेव आउँदा स्टोर सफाचट । ऊ दङ्ग ।
गुरुदेवले मलाई फेरि अर्कोपटक झुक्यायो । अझै मेरो गाडी भइसकेको थिएन । उसले अघिल्लो दिन फोन गरेर भोलिपल्ट बिहान कतै जाने बतायो । सोचें, राति भए पो शङ्का गर्नु, दिउँसो त लगेर कहीँ नछोड्ला नि । फेरि मैले भनेकै थिएँ, १० बजे काममा जानुपर्छ । त्यसैले त्योभन्दा अघि नै घर आइसक्नुपर्छ । उसले हुन्छ पनि भनेको थियो । भनेकै समयमा ऊ मलाई लिन आयो । गाडीमा चढेर केही अगाडि बढेपछि भन्यो, ‘मैले १० हजार डलर चिठ्ठा जितेको छु । मेरो नाममा क्यास गर्न मिल्दैन । त्यसैले तिमी यसलाई क्यास गरिदेऊ । म केही पैसा दिन्छु र पछि ट्याक्स फाइल गर्दा अहिले काटेको ट्याक्स पनि फिर्ता हुन्छ ।’ उसको कुरा मलाई पनि राम्रै लाग्यो ।
मैले चिठ्ठाको टिकट क्यास गरेर पाएको साढे सात हजार डलरको चेक उसको हातमा राखिदिएँ । १० हजार चिठ्ठामा जितेको, २५ सय ट्याक्स तिरेको र साढे सात हजारको चेक लिएको प्रमाण मैले लिएँ । मलाई एक दुर्ई सय दिए जस्तो लाग्छ । पछि ट्याक्स फाइल गर्दा राम्रै रिटर्न आयो । चिठ्ठाको कारण हो कि होइन म जान्दिनँ ।
एकदिन म्यानेजरले भन्यो, ‘गुरुदेवके लिए एक बन्दा चाहिए ।’ म ट्वाँ परें । के भन्छ यो ? गुरुदेवलाई बन्दा चाहिए मलाई किन भन्नू ? पसलमा गएर किने भैगो नि । म राम्रोसँग हिन्दी नबोल्ने, ऊ अङ्ग्रेजी बोल्न नरुचाउने भएकाले हाम्रो संवाद कमै हुन्थ्यो । म चुप लागेपछि ऊ आफ्नो काममा लाग्यो । निकै पछि मात्र बन्दा भनेको मान्छेलाई नै भन्दा रहेछन् भन्ने थाहा भयो । बन्दा चाहिए भनेको त काम गर्ने मान्छे चाहियो भनेको रहेछ ।
मेरो म्यानेजरले पनि मलाई अपार्टमेन्ट नजिकैको ग्यासमा काम दिने भनेर सिकायो र केही परकोमा काम दियो । बल्लबल्ल पाएको काम गर्नैप¥यो । जुलाईको महिना बिहान चार बजे नेै उज्यालो हुने बेलुकी नौ बजेसम्म उज्यालो दिनमा सरर साइकल चढेर काममा जान थालें । जाँदा त दिउँसो रमाइलै हुन्थ्यो । फर्किंदा १० बजे राति कहीँकहीँ डर पनि लाग्थ्यो । सबै ठाउँमा बत्ती नभएको बाटोमा बल्लतल्ल अपार्टमेन्ट आइपुग्थें ।
सेप्टेम्बरको पहिलो साता । बिहिबारको दिन । स्टोरमा फाट्टफुट्ट मात्रै ग्राहक भित्र पस्दैनिस्कंदै थिए । कोही बाहिरैबाट ग्यास भरेर जान्थे । म यसो बाहिर टोलाएर भित्र पसेर रजिस्टर अगाडि पुगेको मात्र थिएँ, एकजना कालो मान्छे काउन्टर अगाडि उभिएको देखें । किन हो मनमा थोरै डर उम्रिसकेको थियो । मैले सामान्य जस्तो भएर ‘म केही सहयोग गर्न सक्छु” भनेर सोधें । उसले आफ्नो दाहिने हातको चोर औंलाले उसैको रातो भएको दाहिने आँखा देखाउँदै सोध्यो, ‘आँखामा राख्ने औषधी छ ?’
म आफूछेउको र्याकमा औषधी खोज्दै थिएँ, ऊ त मेरै पछाडि पो आइपुगेछ । काउन्टरभित्र बस्दा प्रायः ढोका लाउँदिनथें । राम्रो एरिया हो को नै आउला र रबरी गर्न जस्तो लाग्थ्यो । उसले हातमा केही बोकेको थियो, मैले चिन्न सकिनँ । रबरी गर्नेहरूले बन्दुक देखाएर पैसा माग्छन्, पैसा नदिए मारी पनि दिन्छन् भनेको सुनेको थिएँ । मैले उसको हातमा डराउँदै हेरें । उसको हातमा केही थियो । मैले ठम्याउन नसके पनि मलाई त्यो बन्दुक नै हो भन्ने लाग्यो । रजिस्टर खोल्न लायो, मैले खोलिदिएँ ।
रजिस्टर खोलेपछि उसले मलाई त्यही कोठाभित्रको बाथरुममा जान भन्योे । मेरो सातोपुत्लो उड्यो । बाँच्ने आशा मारिसकेको थिएँ । मलाई लाग्यो, उसलाई सेफ बाथरुममा छ भन्ने थाहा रहेछ । उसले सेफ खोल्न लाउला । आफूसँग चाबी नभएकोले सेफ खोल्न सक्ने कुरै भएन । पैसा नपाएको झोँकमा ड्याङ ड्याङ गोली हानेर ऊ बेपत्ता हुनेछ । मैले अनुमान लगाएँ । यति बेला भने मेरो आँखाअगाडि तुलसा र कुशल आए । बुबा, आमा लगायत दिदी, भाइबहिनी सबैलाई सम्झें । मेरो शरीर थरथर काम्न थाल्यो । मुटु ढुकढुक गर्न थाल्यो । भगवान्सँग सहयोगको लागि प्रार्थना गर्न थालें । बाथरुमको ढोकामा चुकुल लगाउन खोजें, चुकुल पनि रहेनछ । उसले ढोका ठेल्यो भने म रोक्न सक्दिनँ भन्ने लागेकोले कुनामा चेपिएर डरले थरथर काम्दै उभिइरहें ।
म डराउँदै आज्ञाकारी विद्यार्थी जस्तो बाथरुममा पसें । म भित्र पस्नेबित्तिकै उसले बाहिरबाट ढोका लगाइदियो । मेरो डर अझै कम भएको थिएन । मलाई लाग्यो, ऊ केही खोज्दैछ । पक्कै भित्र आउँछ । ढोकाको चुकुल लगाउन हात लम्काइसकेको थिएँ तर त्यो आवाजले गर्दा उसले झन् छिटो खोल्ला भन्ने डरले आँट आएन । भित्र पनि आउँदैन, बाहिर पनि चालचुल छैन । ज्यान बच्यो जस्तो लाग्यो । यतिबेरसम्म बाहिर बसेको छैन जस्तो लाग्यो । कता जान्छ भनेर देख्छ कि भनेर मलाई बाथरुममा थुनेको होला जस्तो लाग्यो । विस्तारै डराउँदै अलिकति ढोका खोलें र चिहाएँ । कतै नदेखिएपछि रजिस्टरमा गएँ । मुटु ढक्क फुलेको थियो र खुट्टा कामिरहेका थिए ।
के गरुँ कसो गरुँ भयो । पुलिसलाई खबर गरुँ कि नगरुँ भनेर दुविधा भयो । म्यानेजरलाई फोन गरें तर उठेन । एकैछिनमा दुर्ईजना अधबैंसे महिला ग्राहक आए । म अलमलमा परें उनीहरूलाई भनुँ नि नभनुँ भनेर । केही किने भने फिर्ता दिने पैसा पनि छैन । म अत्तालिएको देखेर उनीहरूले नै सोधे, ‘के भयो ? किन नर्भस भएको ?’
मैले भखैरै भएको सबै कुरा बताएँ ।
‘पुलिसलाई फोन गर्यौ त ?’ एउटीले सोधी ।
मैले ‘छैन’ भनेपछि एउटीले ब्यागबाट फोन निकालेर नम्बर डायल गर्न थाली । फोनमा केही कुरा गरेर फोन फेरि ब्यागमै राखेर काउन्टरमा आएर भनी, ‘चिन्ता नलेऊ, पुलिस आउँदै छ ।’ एकैछिनमा साइरन बजाउँदै तीन चारवटा पुलिसका गाडी, दमकल र एम्बुलेन्स आइपुगे । ग्यास स्टेसनको एरियालाई सावधान लेखेको डोरीले घेरेर घटना र मेरो बारेमा सोधपुछ गर्न थाले । यसै बीचमा म्यानेजरको पनि फोन आयो । मैले सबै कुरा बताएपछि उसले आफू तुरुन्तै आइहाल्ने बतायो ।
पुलिसको सबै प्रक्रिया सकिन करिब डेढ घण्टा लाग्यो । त्यसपछि म्यानेजरलाई चाबी दिएर भनें, ‘म भोलिदेखि काममा आउँदिनँ, आफ्नो बन्दोबस्त गर्नू ।’
उसले अरू एक हप्ता गर्न अनुरोध गर्दै थियो, म ‘एक हप्ता हैन एक मिनेट पनि काम गर्दिनँ’ भनेर साइकल लिएर हिँडें । आत्मादेखि नै भगवान्प्रति विश्वास जागेर आयो । मनमनले धेरैधेरै धन्यवाद दिएँ । कोठामा नपुगुन्जेल मेरो पूरै शरीर थरर कामिरहेको थियो ।
त्यसपछि करिब डेढ वर्ष मेरो इन्डियन लगायत अन्य कुनै देशीसँग खासै सम्पर्क भएन । दुर्ई तीन वर्षपछि एउटा सपिङ सेन्टरमा गुरुदेवसँग भेट भएको थियो । उसले ग्यास स्टेसन छोडेर पिज्जा रेस्टुरेन्ट खोलेको रहेछ । उसले धेरैपल्ट फोन गरेर पिज्जा खान बोलाइरह्यो । सानोबासँग पनि गुरुदेवको राम्रो चिनजान भएकोले हामी अरू तीनजना साथी पनि लिएर उसको रेस्टुरेन्टमा गयौं । उसले खुसी भएर राम्रो स्वागत सत्कार गर्यो । पछि ऊ सिकागो गएर फेरि ग्यास स्टेसन व्यवसायतिर लागेको खबर सुनें ।
(केतुस खतिवडाको संस्मरणात्मक कृति ‘भूगोल र भोगाइ’ बाट )
Previous Articleकाँग्रेस-माओवादी गठबन्धनसँग एक्लै भिड्दै एमाले
Next Article ‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’