दुई दलको गठबन्धनबाट कांग्रेसका उमेद्वार कमलप्रसाद भुसाल मेयरको उमेद्वार बनेका छन्। उनीसँग एमालेका कृष्णप्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन्। सन्धिखर्कमा यी दुई पक्षबीच नै मुख्य रुपमा प्रतिस्पर्धा हुने छ। कांग्रेस उम्मेदवार भुसाल पार्टीका पूर्व जिल्ला सभापति हुन्। ०३६ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध उनी तरुण दलको संस्थापक जिल्ला सभापति हुँदै केन्द्रीय उपाध्यक्षसमेत भइसकेका छन्।
सन्धिखर्कमा आफ्नो पकड बलियो रहेको र माओवादी केन्द्रसँग तालमेल गरेर अझ सहज भएको कांग्रेसको दाबी छ। ‘तालमेल दुबै तर्फबाट इमान्दारिताका साथ पालना हुन्छ। त्यसैले यहाँ समस्या छैन,’ मेयरका उम्मेदवार भुसालले भने।
एमालेबाट मेयरका उम्मेदवार बनेका कृष्णप्रसाद श्रेष्ठ १४ वर्षदेखि उद्योग वाणिज्य संघ अर्घाखाँचीको अध्यक्ष छन्। हाल उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पनि हुन्। श्रेष्ठले कांग्रेस माओवादी तालमेलले आफ्नो पार्टीलाई फाइदा भएको उल्लेख गरे। ‘यो अपवित्र गठबन्धन हो। भरतपुर, पोखरा लगायतका ठाउँमा तालमेल देखेका छौँ,’ उनले भने।दुई वटा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा गत संविधान सभाको चुनाबमा कांग्रेसलाई दोस्रो स्थानमा छोड्दै माओवादी केन्द्र र एमालेले एक एक सिट जितेका थिए। त्यस अघि २०६४ मा भने दुबै क्षेत्रमा एमालेलाई पछि पार्दै कांग्रेस र माओवादी बिजयी भएका थिए। जिल्लाको क्षेत्र नम्बर १ बाट माओवादी नेता टोपबहादुर रायमाझीले दोस्रो कार्यकाल संसदमा छन्। सन्धिखर्क नगरपालिका दुई वटै निर्वाचन क्षेत्रमा पर्दछ। नगरको १, ४, ५ ६ नम्बर वडामा नेपाली कांग्रेस बलियो भएको विश्लेषण गरिएको छ। त्यसैगरी २, ११ र १२ मा एमाले र ९ र १० नम्बर वडामा माओवादी केन्द्र बलियो भएको मानिन्छ। बाँकी वडामा अनुमान गर्न गाह्रो छ।
सन्धिखर्कका कतिपय ठाउँमा खानेपानीको समस्या छ। यसको समाधान गर्नुका साथै शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको विकास गरी नगरलाई समृद्ध बनाउने उम्मेदवारहरुको प्रतिवद्धता छ। ‘आर्थिक उन्नति र रोजगारीको सिर्जनाका लागि व्यवसायिक कृषि र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा ध्यान दिने छु,’ कांग्रेसका मेयरका उम्मेदवार कमलप्रसाद भुसालले भने, ‘खानेपानीको समस्या समाधानका लागि लिफ्टिङ लगायतका बैकल्पिक उपाय खोज्ने छु। यहाँको शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कार्यक्रम र पूर्वाधार तयार पार्ने छु।’
यता एमाले तर्पmका मेयरका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्कलाई स्मार्ट सिटीको परिकल्पना गरेको बताए। ‘युवा बेरोजगारको समस्या समाधानका लागि पहल गर्ने छु, कृषिको व्यवसायीकरण र आत्मनिर्भर बनाउने छु,’ उनले भने, ‘सडकहरुलाई बर्खायाममा समेत सञ्चालन हुन सक्ने गरी स्तरोन्नति गर्ने छु। सन्धिखर्क गोरुसिंहे सडकको लागि सहायक राजमार्गको रुपमा विकास गर्न पहल गर्ने छु।’ गठबन्धनमामाओवादी केन्द्रबाट ठाकुरकुमार विक उपमेयरका उम्मेदवार छन्। एमालेले ईश्वरा पोखरेललाई उपमेयर बनाएको छ।स्थानीयत तहको निर्वाचनका लागि सन्धीखर्कमा मेयरमा ७ जना र उपमेयरमा ४ जना उम्मेदवार बनेका छन्। राप्रपाबाट धु्रबराज भुसाल र सुनिता गिरि, नयाँ शक्तिबाट यमुना भुसाल र टोपबहादुर बलाल, राष्ट्रिय जनमोर्चाबाट कल्पना पोखरेल र पशुपति ढकाल क्रमश मेयर र उपमेयरको उमेद्वार बनेका छन्। नेपाल परिवार दलबाट डिल्लीराज भुसाल र स्वतन्त्र रुपमा बसीर मिँया मेयरको उम्मेदवार बनेका छन्।
कांग्रेस र माओवादी केन्द्रबीच अर्घाखाँचीमा ४ स्थानीय तहमा तालमेल भएको छ। सन्धिखर्कसँगै सितगंगा नगरपालिकामा कांग्रेसले मेयर लिएर माओवादी केन्द्रलाई उपमेयर दिएको छ। भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा माओवादी केन्द्रलाई मेयर दिएर कांग्रेसले सघाएको छ।
काँग्रेस-माओवादी गठबन्धनसँग एक्लै भिड्दै एमाले
Previous Articleएमालेको निर्देशनपछि मोबाइल बाँड्ने निर्णय उल्टियो
Next Article लुटेराबाट बाथरुममा थुनिँदा …