डिल्लीप्रसाद गौतम
मुलुक अहिले संघियता कार्यान्वयनको संघारमा छ । यसै प्रक्रियाको शिलशिलामा पहिलो चरणमा निर्वाचन २, ४ र ६ नम्बर प्रदेशमा स्थानिय तहको निर्वाचन सम्पन्न भै निर्वाचित जनप्रतिनिधिले आफ्नो काम सुरु गरिसकेका छन्भने दोस्रो चरणअन्तरगत यहि आषाढ १४ गते १, ५ र ७ नम्बर प्रदेशमा निर्वाचन निर्वाचन सम्पन्न हुन गै रहेको छ । आन्दोलनरत दलहरु (राजपा)को विरोधका बाबजुद सरकारले चरणवद्ध रुपमा निर्वाचन सम्पन्न गर्दै जाँदा अब स्थानिय निकाय अन्तरगत निर्वाचन हुन बाँकी प्रदेश नम्बर २ को निर्वाचन भने केही पर धकेलिएको छ । सरकारले कुनै हालतमा पनि स्थानिय तहको निर्वाचन सम्पन्न गरेरै छाड्ने रणनीति अनुसार ६ वटा प्रदेशको निर्वाचन सम्पन्न हुने प्रक्रिया चलिरहँदा २ नम्बर प्रदेशका नागरिकहरुमा पनि चुनावी चासो बढेको छ । यसरी आम नागरिकमा चुनावप्रति अत्याधिक चासो हुँदाहुँदै पनि राजपाको बालहठको कारण पछाडी धकेलिएको निर्वाचन पनि निकट भविष्यमा नै सम्पन्न हुने कुरामा दुई मत छैन । स्वयं उक्त प्रदेशका नागरिकहरुमा नै चुनावप्रति चासो बढेका कारण अब उक्त स्थानमा निर्वाचन आयोग र सरकार पनि चुनाव सम्पन्न हुनेमा ढुक्क छन् । यसरी चरणबद्ध रुपमै भएपनि निर्वाचन सम्पन्नको बारेमा अग्रसर भै रहँदा स्थानिय निकायको निर्वाचनले संविधान कार्यान्वयनको पहिलो खुट्किला स्थानिय निकायको निर्वाचन सम्पन्न हुन जानुलाई आम नागरिकहरुले सकारात्मक रुपमा लिएका छन् ।
यसरी स्थानिय निकायको निर्वाचन पश्चात केन्द्रमा केन्द्रितकृत रहेको अधिकारहरु नगरपालिकाहुँदै गाउँपालिकासम्म पुग्दै गर्दा एकातिर नागरिकहरुले स्थानिय तहबाटै आफ्ना समस्या समाधान गर्न जनप्रतिनिधि प्राप्त गरेका छन्भने वर्षौदेखि सामान्य कामको लागि पनि जिल्ला वा केन्द्रसम्म धाउनुपर्ने झन्झटबाट समेत मुक्ति पाउने भएका हुनाले स्थानिय आमनागरिकहरु हर्षित पनि छन् । यसै शिलशिलामा हाम्रो जिल्ला बागलुङमा पनि स्थानिय निकायको निर्वाचन सम्पन्न पश्चात स्थानिय स्तरमा निर्वाचित जनप्रतिनिधिहरुले कार्य सञ्चालन गर्न थालिसकेका छन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानिय तह निर्धारण गरिएको बागलुङ जिल्लामा बजार क्षेत्र बाहिर ८ वटा स्थानिय निकाय निर्धारण गरिएका छन् । बागलुङ नगरपालिकासँग हालसालै मात्र नयाँ संरचनानुसार गाभिन आएका जिल्लाका प्रमुख साविकका गाविस (बलेवा भेग) नारायणस्थान, पैयुँपाटा र अमलाचौर पहिलादेखि नै भौगोलिक रुपले पर्वतको कुश्मा बजारसँग व्यापारिक सम्बन्ध स्थापित भएका साविक गाविसमा परेका छन् । यसरी संरचनाको हिसाबले बागलुङ नगरपालिकासँग मितेरी साइनो गाँसिएता पनि उनीहरुको मुख्य व्यापारिक कारोबार कुश्मासँग नै हुनेमा दुई मत छैन । यसैगरी नयाँ संरचनानुसार साविक गाविस रायडाँडा, भकुण्डे, तित्याङ, सिगाना, पालाको तल्लो भाग र मालिका पहिलेदेखि नै बागलुङ बजारसँग हरेक हिसाबले गहिरो सम्बन्ध राखेका गाविसमा पर्दछन् । यिनी गाविसहरुको बानपा आगमनले कुनै व्यापारिक हिसाबले तलमाथि पार्ने क्षमता राख्दैनन् । किनकी यि गाविस पहिलेदेखि नै सम्पूर्ण कारोबार बागलुङ बजार क्षेत्रसँग नै हुँदै आईरहेको थियो ।
यसरी एकातिर संघियता कार्यान्वयनसँगै बागलुङ बजारलाई केन्द्रै बनाउँदै आएको बागलुङको दक्षिण–पश्चिम भेग बागलुङ बजारदेखि विस्तारै सम्बन्ध विच्छेदको संघारमा उभिनुले बागलुङ बजार क्षेत्र साँघुरिएको आभाष हुन थालेको छ । उसो त यसभन्दा पूर्व पनि व्यापारिक हिसाबले धौलागिरी अञ्चलकै प्रमुख केन्द्र मानिएको यस बागलुङ बजारमा यहाँका राजनीतिक दलहरु, स्थानिय उद्योग–व्यापारीहरु, उद्योग वाणिज्य संघ एवं स्थानिय जग्गादाता र नागरिक अगुवाहरुको अदुरदर्शि निर्णयका कारण बागलुङ बजार क्षेत्र व्यापारिक केन्द्रका हिसाबले पछाडी धकेलिदै गैरहेको थियो । तर पनि सरकारी कामकाज वा बालबच्चालाई पठनपाठन र व्यापारिक हिसाबले गाउँदेखि शहर झर्ने क्रमले बागलुङ बजारक्षेत्र आकर्षणको कैन्द्र नै बनिरह्यो । गाउँबाट शहर झनै क्रममा १० वर्षे जनयुद्धले झनै बढायो । यसको फाइदा लिँदै यहाँका व्यापारी वा घरबेटी (जग्गा वा घरधनी) हरुले महंगो दरमा जग्गा वा घरहरु भाडामा लगाई मनग्य आम्दानी गर्न सफल पनि भए । यति सम्मकी आफ्नो घरजग्गा भाडामा लगाए बापतको सरकारी राजश्व समेत भाडामा बसेकाहरु नै सरकारले असुल ग¥यो । घर भाडामा लगाउनेहरु यति निरिह देखिएको भाडामा बस्नेले घरबेटीले चाहेको दरको भाडा तिर्नुपर्ने, वर्षेनी मनोमानीपूर्वक भाडा वृद्धि गर्ने, भाडा वृद्धिमा कुनै मापदण्ड लागु नहुने । यसरी मनोमानी चलिरहेको भाडा दरमा न त स्थानिय प्रशासन न त व्यापारीहरुको साझा संस्था उद्योग वाणिज्य संघ, न त उपभोक्ता हित संरक्षण मञ्च वा नागरिक अगुवा कसैले पनि न त भाडा वृद्धिमा कुनै मापदण्ड बनाउने पहल गरे न त खस्किँदो व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने नयाँ रणनीति नै अख्तियारी । यसरी एकातिर सरकारी राजश्वको दोहोरो–तेहोरो कर प्रणाली त अर्कोतर्फ घरधनीहरुको भाडा दरबाट आजित बनेका उद्योगी, व्यावसायीहरु अहिले आएर आकुल व्याकुलको अवस्थामा छन् । संघियता कार्यान्वयनको पूर्व सन्ध्यामा नै कैयौं उद्योगी व्यावसायीहरु आफ्नो साँचो घर, धनीलाई बुझाएर झोली तुम्बा मिटी सकेका छन्भने कतिपय व्यावसायी खुट्टा उचालेर बसीरहेका छन् त कतिपय उचित मौकाको खोजीमा छन् । अहिले हरेक पसलमा हरेक व्यापारीहरु बागलुङ बजारमा खस्किँदो व्यापार–व्यावसाय र व्यापारको भविष्यबारे कुरा गरी रहेका भेटिन्छ । यहाँका ५० प्रतिशतभन्दा बढि व्यापारी आस–पासका गाउँबाट बजार क्षेत्र झरेर व्यापार–व्यावसाय गरेर बसेका छन् । यहाँका पुराना जग्गाधनी वा व्यापारीहरु यस पूर्व नै बजार क्षेत्र छाडेर पोखरा, काठमाडौं, नारायणगढ र बुटवल पुगेर व्यापार व्यावसाय गर्दछन् । यसरी दिनहुँ खस्किदो व्यापार र करिव ५० प्रतिशत बजार बाहिरका बासिन्दाको व्यापारिक केन्द्र अहिले आएर दिनहुँ खस्किदो अवस्थामा जानुले व्यापारीहरुले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । अझै पनि यहाँका घरधनीहरु आफ्नो घरभाडा वृद्धि नै गर्ने धुनमा रहेको पाइन्छ । यहाँका घरधनी व्यवसायीको पिर र मर्का बुझ्ने क्षमताको अभाव देखिएको छ ।
तसर्थः अझै पनि एकातिर घर धनीहरुको मनोमानी कायमै रहने, उद्योग व्यवसाय दिनहुँ, खस्कँदै जाने र सम्बन्धित निकयाहरुले उद्योग व्यवसाय व्यापारिक नाका, पर्यटन भित्राउने पहल नगर्ने होभने संघियताको पूर्ण कार्यान्वयन पश्चात, आगामी १ वर्षभित्र बागलुङ बजार क्षेत्रको भविष्य के हुने ? त्यो अवस्था आउन नदिनको लागि स्थानिय सरोकारवाला निकायहरुले गर्ने पहलले नै निर्धारण गर्ने छ । बजार क्षेत्रसँग हरेक हिसाबले हातेमालो गर्दै आइरहेका चाहे ति सरकारी हुन वा गैह्रसरकारी छिमेकी गाविस हुन वा छिमेकी जिल्ला हरेक हिसावले बजार क्षेत्रदेखि लामो सम्बन्ध विस्थापित हुने अवस्थामा छन् । बजार क्षेत्र भित्र रहेका दर्जनभन्दा बढि सरकारी कार्यालय विस्थापितसँगै सयौं कर्मचारी स्थानान्तरण हुँदै छन् । कैयाँै आवासिय विद्यालय र तिनमा अध्ययनरत छात्र, छात्राहरुको पनि भविष्य अन्योलमा छ । गाउँबाट शहरमा झरेर डेरा गरी आफ्ना नानीबाबुहरुलाई पढाउन बसेका बाबु आमाहरु समेत दोधारमा छन् । यस्तो अवस्थामा सम्बन्धित निकायहरुले बजार क्षेत्रको अवस्था बारेमा सो विचार र चिन्तित हुन आवश्यक छ । अहिले बागलुङ नगरपालिकाको प्रमुख केन्द्र रहेको बजार क्षेत्र कुरुप छ । सामान्य वर्षा भयोभने पनि बीच बाटो माथिबाट नाली बग्दछ । स्थानिय पैदल यात्रुहरुलाई आवात जावत गर्न हम्मे–हम्मे पर्दछ । ढल तथा नालीको उचित व्यवस्थापन र सरसफाई छैन । नगरपालिकाले सञ्चालन गर्ने विकासे गति विधिबाट स्थानियहरु सन्तुष्ट छैनन् । नगरपालिकाले गर्ने हरेक विकास गतिविधिमा पारदर्शिता र जवाफदेहिताको खडेरी लागेको छ । नगरक्षेत्र भित्र वितरित खानेपानी एकातिर नियमितता छैनभने अर्को तर्फ गुणस्तरमा प्रश्नचिन्ह खडा भएको छ । लामो समयदेखि सञ्चालित नयाँ खानेपानी आयोजना पूर्ण सम्पन्न हुन नपाउँदै वितरणमा समस्या देखिएको छ । बिना पूर्वाधार र बिना योजना विछ्याइउका केवल, फोन, विद्युत विस्तारका तार र खम्बाले बजार क्षेत्र कुरुप छ । तसर्थ यावत समस्या नै समस्याले जेलिएको बागलुङ बजार क्षेत्रलाई व्यवस्थापन गर्नका लागि नवनिर्वाचित नगरपालिकाका पदाधिकारीहरुले पहल कदमी उठाउन र सफलता मिलोस् । यही शुभकामना !!!