माध्यामिक तहको परिक्षाफल आएपछि स्थानीय र राष्ट्रिय पत्रपत्रिकाका पानाहरु बधाई र शुभकामनाले भरिएका छन् । विशेषगरी नीजि विद्यालयले आफ्ना विद्यार्थीलाई धमाधम बधाई दिने नाउँमा विज्ञापन पनि गरिरहेका छन् । दश बर्ष सम्मको मेहेनतको सफलतामा बधाई दिनु नौलो कुरा त होइन तर विद्यार्थीको पढाईको गुणस्तर कस्तो छ भन्ने बिषयमा भने चासो नराखी उनीहरु बधाई दिनमा हतारिएको देखिन्छ ।
हुनपनि अघिल्ला बर्ष भन्दा विशिष्ट, प्रथम, द्वित्तिय श्रेणी भनेर छुट्टाउने चलन हटेकोले पास र फेल भएको भन्नै नपर्ने अवस्था छ । त्यसले सबै विद्यार्थीलाई बधाई दिनका लागि परिक्षा सकिएको दिनमै डिजाईन बनाएर राखे पुग्ने देखिएको छ । बधाई दिइरहेको समयमा नेपालभरका ६ लाख विद्यार्थी मध्ये दुइ सय विद्यार्थीले पनि नेपाली बिषयमा विशिष्ट श्रेणी ल्याउन सकेका छैनन् । आफ्नै राष्ट्रिय भाषमा राम्रो अंक ल्याउन नसक्दा पनि बधाई दिन भने छाडेका छैनौं । शिक्षा कार्यालयका कर्मचारीको भनाई बिष्लेषण गर्ने हो भने त धेरै बिषयमा बी ल्याएको र कुल अंक जोड्दा मात्र ए ग्रेड ल्याएकोमा पनि विद्यालयले खुसी भएर बधाई दिएका छन् । त्यो देखाउनका लागि गरिएको बधाई मात्र हुने भयो । विद्यार्थीले भोलीका दिनमा शैक्षिक रुपमा प्रगतीगर्न कठिन हुने अधिकांसको विष्लेषण छ ।
समग्रतामा हेर्दा माध्यामिक तहमा ल्याएको कुल अंकको मापनले मात्र शैक्षिक गुणस्तर विकास हुन सकदैन । उत्कृष्ठ भनिएका विद्यार्थीहरुनै कुलतमा फसेका पनि देखिएका छन् । सामान्य र सामुदायिक विद्यालयका विद्यार्थीले पनि उच्च स्तरको सफलता देखाएका पनि उदाहरण छन् । नेपालको प्रशासनिक क्षेत्रमा हेर्दा पनि सामुदायिक विद्यालयकै अग्रता देखिन्छ । अहिले सम्म देश भित्र बसेर काम गर्ने, राष्ट्रसेवा, समाजसेवा र राजनीतिक क्षेत्रमा टिकेकाहरु पनि सामुदायिक विद्यालयकै विद्यार्थी हुन् । नीजि विद्यालय पढेका र उत्कृष्ठ भएकाहरुले बिदेश ताक्ने प्रवृत्ति पनि छ । प्राविधिक बिषय पढेको नाउँमा पनि धेरै बिदेशिएका छन् । व्यक्तिगत सफलताका लागि गरिएका कामलाई चासो नराख्दा पनि राष्ट्रका लागि काम गर्ने जनशक्ति निर्माणमा सामुदायिककै भूमिका देखिएको छ । तर नेपाली भाषामा देखिएको कमजोरीले भोलीको उच्च प्रशासन, सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा कस्तो प्रभाव पर्ला भनेर समयमै सोच्न बाध्य बनाएको छ । आफ्नै भाषामा समेत कमजोरी भएको विद्यार्थीले भोलीको शैक्षिक सामाग्री कसरी तयार गर्ला ? राज्यको नीति निर्माण र विष्लेषणको काममा कसरी सफलता पाउला । त्यसकै असर स्वरुप विदेशीहरुको जीवनी, कुनै आग्रहमा लेखिएका लेख रचनालाई पाठ्यक्रममा समावेश गर्ने चलन शुरु भैसकेको छ । विद्दानहरुका रचनालाई पाठ्यक्रमबाट हटाइएका उदाहरण पनि छन् । तसर्थ अवका दिनमा राष्ट्रियताको रक्षा गर्न पनि राष्ट्रिय भाषाको संरक्षण र विद्यालय तहमै यस्ता बिषयको पढाईमा गुणस्तर विकास गर्न जरुरी छ । किनकी समयमा आफ्नो भाषा संरक्षण गर्न सकिएन भने पछि पछुताउनुको विकल्प छैन । छिमेकी देशले आफ्नो भाषा प्रति कति माया गर्छन् भन्ने एक पटक सोचेर हामी पनि अगाडि बढ्ने की ?