काठमाडौँ, २१ भदौ – मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले नेपाली साहित्यका प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा सोमबार राजधानीमा आयोजित दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका तर्फबाट साहित्यकार घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरे । विश्वविद्यालयले जेठ २६ गते घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विश्वविद्यालयको पाँचौँ सभाले विद्यावारिधिको उपाधि दिने प्रस्ताव पारित गरेको थियो ।
उपाधि प्रदान गर्दै राष्ट्रपति भण्डारीले साहित्यकार घिमिरेलाई एक सङ्घर्षशील र स्वाभिमानी नारी स्रष्टाको संज्ञा दिइन । उनले जीवनका दुःख र पीडालाई मात्र होइन, नेपाली समाजका तमाम विकृतिका पर्खालहरू भत्काउन झमकका कलम क्रियाशील रहेको धारणा व्यक्त उनले गरिन ।
राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन नै यति बेला सबैको साझा र सर्वोपरि महìवको कार्यभार रहेको वताईन । संविधान निर्माणसँगै मुलुकको विकास र समृद्धिको आधारशीला खडा भए पनि चुनौती अझै समाप्त भइसकेको छैन भन्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन गर्न र आर्थिक–सामाजिक रूपान्तरणद्वारा समतामूलक समाज निर्माण गर्ने जनचाहना पूरा गर्न राजनीतिक दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको धारणा ब्यक्त गरिन ।
प्रधानमन्त्री दाहालले उच्च शिक्षाको विकासबिना मुुलुकको विकास सम्भव नरहेको बताउँदै प्राविधिक क्षेत्रमा उच्च शिक्षालाई केन्द्रित गरी राष्ट्र विकासलाई टेवा पु¥याउनु विश्वविद्यालय शिक्षाको आवश्यकता भएको वताए । दाहालले विश्वविद्यालयहरूलाई मुलुकको प्राकृतिक स्रोतसाधन र सम्पदाहरूको दोहन गर्नसक्ने उच्चस्तरीय जनशक्ति उत्पादनमा आफ्नो ध्यान केन्द्रित गर्न आग्रह गरे ।
साहित्यमा चेतनाको सर्वोत्तम अभिव्यक्ति हुन्छ भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति रहनुभएका दाहालले जीवनका भोगाइ, अनुभव र अनुभूतिलाई अभिव्यक्ति गर्ने सशक्त माध्यमका रूपमा रहेको साहित्यले आममानवीय संवेदनालाई छुन सक्यो भने त्यसले सार्वभौम रूप प्राप्त गर्छ भने । शिक्षामन्त्री धनीराम पौडेलले यस वर्षको नीति तथा कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रका १० वटा सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा ग्रहण गर्ने र यस क्षेत्रमा एक जिल्ला एक आङ्गिक क्याम्पसको नीतिलाई सरकारले आत्मसात् गरेको जानकारी दिए ।
मानार्थ विद्यावारिधिको उपाधिको घोषणा भएपछि झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अनिता लामाले झमकको लिखित मन्तव्य पढेर सुनाइन । पत्रमा झमकले आफूले विद्यावारिधि पाउँदा ज्यादै नै खुसी लागेको उल्लेख गर्दै विद्यालय भर्ना भएर आफूले कहिल्यै पढ्न नपाए पनि प्रकृतिको अध्ययन गरेर पनि धेरै कुरा सिक्न सकिँदो रहेछ भनेर चर्चा गरेकी थिइन । २०३७ असार २१ गते धनकुटामा जन्मेकी झमकका दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
Previous Articleऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी मनाउँदै
Next Article नासाले सार्वजनिक गर्यो बृहस्पतीका नयाँ तस्वीर