म्याग्दी, ५ असार-मंगला गाउँपालिकाको एक झोलुङ्गे पुल जिर्ण हुदाँ आवत जावतमा समस्या भएको छ । मंगला गाउँपालिका–२ बावियाचौर सिमलचौर र बरंजाको पखेर जोड्ने झोलुङ्गे पुल जिर्ण हुदा समेत मर्मतसम्भारमा सम्बन्धित निकायले चासो नदेखाउँदा जोखिम मोलेर यात्रा गर्नुपरेको नर बहादुर थापा मगरले बताए । ‘पुलका काठ कुहिएको छ । तत्काल मर्मत नगरे दुर्घटना हुनसक्छ’ थापा मगरले भने । स्थानीयबासीले जिल्ला समन्वय समिति र राजनीतिक दललाई फलामको प्रयोग गरी पुल मर्मतका लागि माग गरेपनि सुनवाई भएको छैन् । दैनिक बालबालिका र बृद्धबृद्धालाई निकै समस्या देखिएको छ । यता गाउँपालिका प्रमुख सतप्रसाद रोकाले जिर्ण पुलका बारेमा जानकारी पाएलगत्तै वडा कार्यालय मार्फत अवाश्यक बजेट माग गर्ने बताए । ‘मैले मर्मतका लागि पहल गर्नेछु । तत्काल मर्मत गरी आवश्यकता अनुसार स्तरउन्तीमा पहल हुन्छ‘ रोकाले बेनीअनलाइनलाई भने । चालु आर्थिक बर्षमा जिल्लाका विभिन्न गाउँलाई जोड्ने नौ वटा झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समितिले ५ करोड १२ लाखको लगानीमा धौलागिरि गाउँपालिकामा दुई, रघुगंगा तीन, मालिका, अन्नपूर्ण र मंगला गाउँपालिका र बेनी नगरपालिकामा एक–एक वटा झोलुङ्गे पुल निर्माण भइरहेपनि सिमलाचौर र बरंजाको पोखेर जोड्ने नयाँ पुलको माग भने सुनुवाई भएको छैन् । म्याग्दी जिल्लाभर कुल १ सय ८६ झोलुङ्गे रहेको छ । पुलको हेरालु राखेर नियमित मर्मत सम्भारको ब्यवस्था समेत मिलाइएको छ । झोलुङ्गे पुल सहयोग इकाई (टिबीएसयू), विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) ले पुलमा प्राविधिक सहयोग गर्ने गरेको छ ।