बागलुङ, ४ असार – जिल्लाबाट पाएको सानो रकमको सदुपयोग गर्दै श्रमदान समेत जुटाएर यहाँका बासिन्दाले बाढी पहिरो रोकथामको अभियान संचालन गरेका छन् । गलकोट नगरपालिकाको मल्म बासीले प्रगती प्रावि, प्रगती बाल विकास केन्द्र तथा बस्तीमा परेको जोखिम तटवन्ध गरेका हुन् । जिल्ला भूसंरक्षण कार्यालयको सानो सहयोगबाट उनीहरुले चारगुणा बढी श्रमदान र लगानी समेत गरेका छन् । कार्यालयले दिएको ५० हजार सदुपयोग गर्दै २ लाख ५० हजार रुपैयाँको काम भएको जिल्ला भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताए । हुलुवाखोलामा भएका अन्य जोखिमका क्षेत्र पनि तटबन्ध गरेर सुधार गरेका छन् । विशेषगरी कार्यालयले पहिरो रोकथाम, बाढी नियन्त्रण जस्ता काममा जाली वितरण गर्ने तथा स्थानीयलाई जागरुक गराएर आफ्नो क्षेत्रको सुरक्षा आँफै गर्ने वातावरण पनि बनाउने गर्छ । यस्तै हरिचौरमा गठन भएको पावर समूहले पनि अदुवा बेसार लगायतको खेती गर्नेदेखि वातावरण संरक्षण अभियानमा उत्कृष्ठ काम गरेको भेटिएको छ । भू–संरक्षण विभागबाट आएको टोलीले गरेको भ्रमणका क्रममा उनीहरुको काम उत्कृष्ठ ठहर गरेको हो । विभागबाट इन्दीरा मलेपति, यमुना कंडेल र आरती पौडेल सहितको अनुगमन टोली जिल्लामा आएको थियो । महिला, दलित र अति विपन्न समुदायलाई संयुक्त रुपमा संगठित गरिएको समूहलाई पावर समूह भनिन्छ । आर्थिक रुपमा विपन्न, जातीय रुपमा पछाडि परेकाहरुलाई बीउ पूजि दिएर आयआर्जनका बाटो खोजी गरिने गरी यस्ता अभियान चलेका हुन्छन् । विशेष गरी तोकिएका जलाधार क्षेत्र तथा उप जलाधार क्षेत्रका उपभोक्ताहरुमा यस्तो समूह गठन हुन्छ । उनीहरुको काम प्रति कार्यालयले बढी चासो राखेको छ । बिउ पूजि पाएका समूहका सदस्यले तरकारी खेती, वुक्षा रोपण, सरसफाई र महिला स्वास्थ्यका लागि पनि खर्च गर्दै आएका छन् । सानो रकमबाट गाउँ विकास कोष समेत उनीहरुले बनाएका छन् ।
बजार बचाउ अभियान
गत बर्षको बाढी पहिरोले जोखिममा परेको बुर्तिवाङ बजारलाई संरक्षण गर्नका लागि जिल्ला भूसंरक्षण कार्यालयले व्यापक तटबन्धको काम गरेको छ । बजारको छेउछेउमा गएको पहिरो नियन्त्रण गर्दै तटबन्ध गरेपछि यो बर्षातमा बाढी पस्न नसक्ने बनाईएको हो । ‘पूर्ण रुपमा संरक्षण गर्नका लागि करोडौं बजेट आवस्यक पर्छ, तर सक्दो पहल गरेका छौं’ जिल्ला भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले भने, ‘स्थानीयको श्रमदान, सहभागिता समेत जुटाएर चालु बर्ष मात्रै १० लाख रुपैयाँ भन्दा धेरैको जाली भरिएको छ ।’ खोलाको बाढीले बजारको छेउका दर्जनौं घर जोखिममा परेका थिए । समयमै तटबन्ध नभएमा बाढी बजारमा पस्ने खतरा समेत थियो । यो अभियानलाई निरन्तर अगाडि बढाउने, दिर्घकालिन सुरक्षाका लागि तयारी समेत भैरहेको पनि उनले बताए ।
हरित सडक
कार्यालयले बागलुङ नगरपालिकाको देउराली चौतारी देखि तित्याङ सम्म हरित सडक बनाउने अवधारणा ल्याएको छ । ती क्षेत्रमा सडक संरक्षण गर्दै हरियाली बढाउने योजना कार्यालयले ल्याएको हो । त्यस्तो कामका लागि सडक छेउमा अम्रिसो, केरा, कागती, राईखन्यु र नेवारो जस्ता उपयोगी विरुवा रोप्ने कार्यक्रम चालु बर्षबाटै शुरु गर्ने भएको हो । त्यसका लागि अम्रिसो २० हजार, केरा १० हजार र अन्य विरुवा समेत मगाईएको श्रेष्ठले बताए । सडकलाई संरक्षण गर्ने र आसपासका किसानले आयआर्जन गरेर जीवनस्तर सुधार गर्न सक्ने भएकोले मिर्मिरे कृषि सहकारी संस्थाको सहकार्यमा यो काम अगाडि बढाइने भएको हो । यो अभियान सफल भएमा बाह्रै महिना सडक सुरक्षित हुने, हरियाली बढ्ने र सबै उपभोक्ता तथा किसानहरु स्वरोजगार पनि बन्ने सहकारीका अध्यक्ष गंगाबहादुर थापाले बताए ।
Previous Article४ असार २०७४, ढोरपाटन दैनिक
Next Article यी चारवटा मूर्ति अमेरिकाबाट फर्काइयो