काठमाडौँ, ५ असार – विभिन्न समयमा नेपालबाट अमेरिका पु-याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन् ।
नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक अमोघपास लोकेश्वरको मूर्ति, १६औँ शताब्दीका स्थानक अमोघपास लोकेश्वर र १७औँ शताब्दीका मञ्जुश्रीका मूर्तिहरू रहेको पुरातत्व विभागले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । ती मूर्तिहरू ढलौट, काँस र तामाको मिश्रणबाट बनेका र सुनका जलप लगाइएका छन् ।
ती मूर्ति कहाँ थिए र कसरी अमेरिका पुगे भन्ने विषयमा भने हाल कुनै जानकारी नभएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । ती मूर्ति कहिले कहाँबाट हराएका हुन् र हराएको विषयमा कुनै निवदेन परे नपरेको सम्बन्धमा अनुसन्धान अगाडि बढाइने पनि उनले बताए ।
त्यस्तै मूर्ति सङ्ग्रह गरेर राख्ने व्यक्तिका बारेमा पनि थप जानकारी विभागसँग छैन । ती मूर्तिका सम्बन्धमा जोन म्याग २२५, वेस्ट ८६औँ स्ट्रिट काउन्सिलर एट ल न्युयोर्कबाट विभागमा गत मे ३० मा पत्र प्राप्त भएपछि फिर्ता ल्याउने प्रयास थालिएको थियो । कार्गो कम्पनी डीएचएल इनभ्वाइसले ती वस्तुको मूल्य १० हजार अमेरिकी डलर राखेकोमा अर्थ मन्त्रालयले उक्त मूल्य छुट गराएर मूर्ति फिर्ता ल्याइएको महानिर्देशक दाहालले बताए ।
सन् ७० को दशकमा नेपाल युनेस्कोको सदस्यराष्ट्र भएपछि इलिसिट ट्रफिकिङ अभिसन्धिमा हस्ताक्षर गरेपछि अवैध रूपमा नेपालबाट बाहिरिएका ऐतिहासिक वस्तु फिर्ता गराउन सहज भएको विभागले जनाएको छ । गोरखापत्र
Previous Articleभू–संरक्षण अभियानमा उपभोक्ताको चासो
Next Article स्थानीय तहको दोस्रो चरणको चुनाव : गजबको तालमेल