बागलुङ, ३ असार – जिल्लाको बलेवामा सञ्चालित जिल्लाकै एक मात्र दृष्टिबिहिन स्रोत कक्षा सञ्चालित विद्यालयको इज्जत दृष्टिबिहिन विद्यार्थीले जोगाएका छन् ।
बागलुङ नगरपालिका–१४ बलेवा नारायणस्थानमा सञ्चालित जनता धन माविमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले २०७३ को एसईई परीक्षामा विद्यालयको साख जोगाउन सफल भएका हुन् । विद्यालयबाट सहभागी पाँचजना दृष्टिबिहिन छात्रछात्रा मध्ये बागलुङको रेशाकी मञ्जु अधिकारीले बि प्लस ग्रेडमा एसईई उत्तिर्ण गरेकी छिन् । उनले ३ दशमलव २ अंक ल्याउन सफल भएकी छिन् । यस विद्यालयबाट बि प्लस ग्रेडमा उत्तिर्ण हुने उनी एक मात्र विद्यार्थी हुन् । त्यस्तै विद्यालयबाट बि ग्रेडमा उत्तिर्ण पाँचजना विद्यार्थी मध्ये चारजना दृष्टिबिहिन विद्यार्थी रहेका छन् । गोरखा जिल्लाबाट दृष्टिबिहिन स्रोत कक्षामा पढ्नका लागि आएका दुई दाजुबहिनी डिलबहादुर गुरुङ र ममता गुरुङ सँगै गल्कोट नगरपालिका बागलुङका दीपक अधिकारी र बागलुङ नगरपालिका भान्साका सम्झना खत्रीले बि ग्रेडमा एसईई उत्तिर्ण गरेका हुन् । विद्यालयबाट सहभागी २६ जना विद्यार्थी मध्ये तीनजनाले सि प्लस ल्याएका छन् । दुईजना सि ग्रेड, १३ जना डि प्लस र दुईजना डि ग्रेडमा उत्तिर्ण भएका छन् । विद्यालयले अघिल्लो २०७२ को एसईई परीक्षामा एाजना विद्यार्थी एलिना शर्मालाई मात्र ए प्लस ग्रेडमा उत्तिर्ण गराउन सफल भएको थियो । यस पटक भने विद्यालयमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुले विद्यालयको साख जोगाइदिएको विद्यालयका प्रधानध्यापक कुमार पौडेलले बताए । यस विद्यालयमा अहिले पनि २३ जना दृष्टिबिहिन विद्यार्थीहरु छात्राबासको सेवा सुविधा लिएर पठनपाठन गर्दै आएका छन् ।
Previous Articleकिन गन्हाउँछ सास ? यस्ता छन् कारणहरु
Next Article युवाहरु लागुऔषध दुव्र्यसनमा फस्दै गएकोमा चिन्ता