बागलुङ, २ असार – राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी. ले सहकारीहरुलाई स्थानीय तहको प्रभावकारी वित्तिय सेवा प्रदायक संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । कमर्शियल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसर पारेर बिहिबार आयोजना गरेको सहकारी शिक्षा कार्यक्रमको उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताएका हुन् । स्थानीय तहमा जनतालाई सर्वसुलभ रुपमा वित्तीय सेवा दिनका लागि सहकारीलाई प्रभावकारी बनाउन राज्यका निकायहरुको समेत सहयोग र समन्वय आवश्यक पर्ने उनको भनाई छ । सहकारीमार्फत जनताको आयस्तर माथि उठाउनका लागि सहकारीलाई प्रभावकारी वित्तीय सेवा प्रदायक संस्थाका रुपमा विकास गर्न क्षमतावान सञ्चालक, दक्ष कर्मचारी र शेयर सदस्यहरु सक्रिय हुनुपर्नेमा उनले जोड दिए । स्थानीय स्रोतको पहिचान, परिचालन, उत्पादन, प्रशोधन र बजारीकरणमार्फत समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारीलाई सहज, प्रभावकारी र सफल वित्तीय कारोबार गर्ने संस्थाका रुपमा विकास गर्न सहकारीकर्मीहरु सचेत ढंगले लाग्नु पर्ने उनको भनाई थियो । कार्यक्रममा संस्थाका अध्यक्ष हिरामणी उपाध्यायले गाउँबाट बजारमा आई विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुले गठन गरेको संस्था हाल बजार क्षेत्रको सबल र सक्षम सहकारीका रुपमा स्थापित भएको बताए । २०६४ साल असार १ गते दर्ता भएको संस्थामा हाल ४ सय २० जना शेयर सदस्य, २ करोड २० लाख शेयर रकम, ३ करोड बचत र ५ करोड लगानी रहेको उनले बताए । कार्यक्रम शिक्षा उपसमितिका संयोजक हरिराम अधिकारीको अध्यक्षता, संस्थाका सचिव प्रेम सापकोटाको सञ्चालन र सहसचिव टेकबहादुर आरसीको स्वागतमा सम्पन्न भएको थियो । संस्थाका ५० जना शेयर सदस्यहरुको सहभागिता रहेको तालिममा सहकारीमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको काम कर्तव्य र अधिकार, पूर्ण सहकारीका लागि आवश्यक तत्वहरु, सहकारीमा बचत र यसको महत्व लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।