पर्वत, २ असार – जिल्लाको आर्थर स्थित पञ्चकोशी माध्यमिक बिद्यालयमा गाउँका बालबालिकाको भविष्य उज्वल बनाउने उदेश्यअनुरुप मन्टेश्वरी कक्षा सञ्चालन गरिएको छ ।
सोहि बिद्यालयमा अध्ययन गरेका भुपु बिद्यार्थीहरुको सहयोगमा कुश्मा नगरपालिका–१४ मा रहेको उक्त बिद्यालयमा मन्टेश्वरी स्थापना गरिएको हो । बालबालिकाहरुको ५ देखि ८ वर्ष सम्मको उमेरमा व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा शिक्षा मात्र नभई संरक्षण, पोषण, र स्याहार सुसारको वातावरण सिर्जना गर्ने गरी मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बताए ।
झण्डै ३० लाखको लगानीबाट शुरु गरिएको मन्टेश्वरीमा सिपिएस विधिबाट सिकाइने र मन्टेश्वरीमा प्लेग्रुप, नर्सरी र एलकेजी गरि २ सम्म पढाउने तयारी गरिएको विद्यालयका प्रधानध्यापक अर्जुन सुवेदीले जानकारी दिए । बालमैत्री स्कुल नभएपछि हामीले मन्टेश्वरी स्कुल खोलेका हौं’ उनले बताए । उनका अनुसार प्लेग्रुप र नर्सरीसम्म पढाइ भैरहेको मन्टेश्वरीमा २५ जना बालबच्चाले ज्ञान लिन सक्नेछन् ।
बिद्यालयलाई सुरु सुरुमा मन्टेश्वरी पद्धति कठिन भएतापनि यो विधि आम बालबालिकाहरुमा सहजै स्थापित गरेर मन्टेश्वरी स्कुलले बालबालिकाहरुको व्यावहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको स्थानीय समाजसेवी मनोज गुरुङले बताए । शैक्षिक गुणस्तर कमजोर भएकै निहुँमा गाउँबाट अधिकांश घरपरिबारहरु बजार केन्द्रीत भएको तितो यथार्थ बताउँदै गुरुङले मन्टेश्वरी कक्षा सञ्चालन भएपछि विस्थापित घरपरिवारहरु पुन गाउँमा फर्किने आशा गरिएको उनले बताए ।
यस मन्टेश्वरीलाई आगामी दिनमा अभिभावकहरुको चाहाना अनुरुप परिस्कृत गर्दै लैजाने सञ्चालकहरुले बताएका छन् । अभिभावकहरु व्यस्त हुंदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको छ ।