सरला गौतम
मुक्तिनाथ जाँदै थिएँ, लखरलखर आफ्नै धुनमा। दशैंको बेला। खुलेको नीलो आकाश, खुलेका हिमाल। एक्लै हिँड्नुको आनन्द लिन बाटोमा भेट भएका साथी छोडेर हिडिरहेँ। जति माथि जान्छु उति मन सिमलको भुवा। धुम्रपानको बानी छैन। खल्तीमा चुरोट हुने कुरै भएन। क्या यार! मलाई धुँवाले तान्छ पो। भरियाहरु आनन्दले ढुंगामा बसेर धुम्रपान गरिरहेका। के गरम के गरम भयो। नजिकै गएँ र भनेँ, ‘दाइ मलाई चुरोट दिनुस् न साह्रैं खान मन लाग्यो।’ उनीहरु धेरै दंग परेनन्। पाइलट चुरोट दिए एउटा। पैसा लिन पनि मानेनन्। हामीले मिलेर धुम्रपान गर्यौँ हिमालतिर नजर डुलाउँदै।
मलाई लाग्यो, जन्मेदेखि छोरी मान्छे हौ तिमी भनेर मभित्र थोपरिएका डरहरु धुवाँधुवाँ भएर उडे। म पनि उडेँ सिमलको भुवाभुवा भएर।बाजुराको पान्डुसेनको त्यो डाँडा कति रमाइलो छ। कुनै बेला त्यहाँ पुग्दा मलाई मेरो साथीले सोधिन्, छ्याङ खाने? तर हामी डरायौँ, मद्यपान गर्न। स्वास्थ बिग्रेला भनेर होइन, कसैले देख्ला कि भनेर। जबकि कोही थिएन वरिपरि। मेरो मनले भन्यो, यार हामीभित्र यति डर हालिएछ कि वायुमण्डलसंग पनि तर्सन्छौँ। रिस उठ्यो, दुई बटुको बजाइदिएँ। मखलेल–मखलेल हुँदै त्यो मनोरम यात्रा गरेँ। पछि धेरै पटक मद्यपानको अफर आयो गरिनँ। किन गर्ने मलाई मेरो स्वास्थ्यको चिन्ता छ। त्यो डर मार्नु थियो मारिदिएँ। जाँड र चुरोटको सेवनले महिला शक्ति प्रमाणित गर्नु नै छैन। मन परे खाऊ नपरे नखाऊ।
मलाई मात्र भन्नु थियो, अरे यार जीवनका सारा दुःखकष्ट आफ्नो थाप्लोमा बोक्ने मैले अनि डराई–डराई बाच्न पर्ने !
अब कामको कुरो। भदौ महिनामा भारतका पत्रकार शेखर पाठक नेपाल आए। भेट्ने मौका मिल्यो। रिपोर्टिङका लागि बद्रीकेदार जान सुझाए। उनीसँग सम्बन्धित नैनीतालको पत्रिका ‘पहाड’ को लागि पनि लेख्न भने। म भुरेटाकुरे रिपोर्टर यो देशको।उत्साहित भएँ। तर ज्यान गलेको थियो। निकै बिरामी थिएँ। त्यति पर जान हिम्मत थिएन। बरन्डामा गम खाएर बसेको बेला बुवाको फोन आयो। मैले योजना सुनाएँ र तीर्थाटनमा जानेको समूहमा कुरा मिलाइदिनु भनेँ। बुवाले भन्नुभयो, ‘पर्दैन, एक्लै जा। तँलाई झर्को लाग्छ उनीहरुको तालमा हिँड्न। पहिला वनबासा गएर बस्। अनि हरिद्वार जा। एकदिन बस्, अनि बसमा बद्री जा। काम सकेर फेरि केदार पनि जा। सजिलै छ।’ फोनमा भनिनँ तर मेरो दुई थोपा आँशु तप्प झरे। बाको ममाथि कत्रो विश्वास। डर होइन बाले भर दिनुभयो। ज्यान त मेरो बिमार थियो, मन उड्यो फेरि सिमलकै भुवा भएर। बुवाको मुखबाट यी वाणी झार्न मैले नापेका चट्टानी यात्रा सम्झेर आफैँसँग भावुक पनि भएँ। हुन्छ नि यार कैले कैले।
अनि आमाको कुरा सम्झेँ। घरमा पूजा थियो। म कर्णालीको महिनौँ बसाइपछि फर्केकी थिएँ। एक खालको उत्साह थियो। चार जना बुबालाई (काकाहरु) सामुन्नेमा राखेर आमाले भन्नुभयो ‘छोरी एक्लै घुमेर काम गर्छे। यसरी हिँड्दा जे पनि हुन सक्छ (बलात्कार पनि )। तर आज यसलाई जसरी स्वागत गरिएको छ, केही भयो भने पनि त्यसरी नै घर आउनु पाउन पर्छ।’ मेरा बाहरु हुन्। हुन्न भन्ने कुरै छैन। त्यहि दिन कान्छी बहिनी र म पुलचोक गयौँ। रात पर्यो। घरबाट लिन कसलाई बोलाउने भनेर फोन गर्नै लागेको हाम्रा आँखा एकैपटक जुधे। लगभग एउटै स्वरमा भन्यौ ‘के को डर हिँड दिँउसो आमाले के भन्नु भ’को छ।’ दाजुभाइलाई लिन नबोलाइ नदी किनारको बाटो हिँडेर पुलचोक बाट बेलचोक आयौँ। त्यो नाथे डर नारायणी नदीमै बग्यो लौजा! बलात्कार भनेको दुर्घटना हो, दोषी पीडक हो, पीडित होइन। यसमा त म प्रष्ट थिएँ। एक्लै रारा नजाउन प्लिज भन्ने साथीलाई भरमार जवाफ दिइसक्या थिएँ। तर त्यही कुरा घरमा भनिदाँ आत्मविश्वासले अर्कै तह छोयो।
अब भर्खरैको कुरो। जनकपुर जाँदै थिएँ। छेउमा सुन्दर केटी थिइन्। हामी अगाडिको सिटमा थियौं। एकजना कालो वर्णका युवा थिए। उनले सिटमा हात अड्याए। ती युवतीको अनुहारमा डर मडारिन लाग्यो। पढेकी होलिन् नि महिलालाई हर मिनेट रेप हुने डर छ। अनि त्यो डर आफ्नो मनभरि अटाइनअटाइ बोकेकी पनि होलिन्। देशका नम्बर वान अखबारले डरैडरका ग्रन्थले पाना भरिदिन्छन्। भर र बलका कुरा दिने कति पो छन् र! दुवैको अनुहार नियालेँ। ती युवकलाई अडिन अफ्ठेरो थियो, हात राख्नै पथ्र्यो सिटमा। अनि म अर्कोतिर फर्कें। तर युवतीले मलाई कोट्याएर भनिन‘दिदी हेर्नुस् न।’ फेरि केटोलाई हेरेँ। अनुहारमा पनि त कति कुरा पढ्न सकिन्छ। मलाई डर लागेन। मुखै फोरेर भनेँ, राख्नुस् हात केही भएको छैन। अनि दुवै जनालाई हल्का स्माइल पनि दिएँ। केटो आफ्नै धुनमा थिए। केटी डराएकी थिइन्। म केटीलाई दोष दिन्नँ। आफैँलाई दिन्छु। हामीलाई पितृसत्ताले त तर्सायोतर्सायो, यसलाई गाली गर्दा हामीजस्ताबाट आएका डर र गालीका मात्र असंख्य लेखनले महा तर्सायो।
हामीले आफ्नो शक्ति कसरी उजागर गर्ने? अर्को पुस्तालाई कसरी निडर र निर्भय बनाउने मनोविज्ञान दिने? खोई हामीले भन्न सकेको! खोइ उदाहरण पस्कन सकेको! कसैले ‘हैन समाजका खराव व्यक्तिलाई प्रतिनिधि नमानौँ। तिनको हदैसम्मको विरोध गरौँ तर समाजको पर्याय तिनीहरु होइनन्। ती त धब्बा हुन्’ भनोस् न मात्र प्रतिआक्रमण सुरु भैहाल्छ। अपवादलाई समाज भन्ने, समाज खराबै खराबले भरिएको छ। सर यसो भन्छन् भनेर चैतन्य सरलाई गुनासो गर्यो भने भन्नुहुन्छ ‘छोड्दिनुस त्यस्ता मनुस्मृतिमै अड्केर बस्नेका कुरा।’
हुर्कदैँ गर्दा आफूभन्दा अग्रज दिदीहरुको यस्तो डरभरिएको कुरा सुन्दा मभित्र असंख्य डर थियो। बिस्तारैबिस्तारै समाजसँग आफैँ नजिक भएँ। अन्तरक्रिया गर्न थालेँ र थाहा पाएँ राम्रो र नराम्रो दुवै छन्। हामी चनाखो हुनुपर्छ। राम्रो मानिसहरुको समर्थनले खराबसँग पंगा लिनु पर्छ।
यही पुषको महिना वीरगञ्ज बजार फन्को मार्दै थिएँ। घण्टाघरनजिकको सुन पसलबाहिर जाँदै थिएँ। मलाई एक भलाद्मीले यस्तो घुरे के भनम्। सीधा उनको नजिक गएर सोधेँ, ‘घुर घुरके क्या देख रहे हो?’ हिन्दी फिल्म हेरेर हुर्कियो नि। डायलग मार्न हिन्दीमै मजा आयो। नजिकको पसलमा छिरेँ। सामान सोधेजस्तो गरी आफ्नो रिपोर्टिङको काम गरेर हिँडेँ। पर्साको गाँउमा गएँ। किरिया बसेको ठाँउमा गएर काम गर्नु पर्ने भयो। राती छोरीमान्छे बस्न नमिल्ने ठाँउमा। कुर्ता लगाएको पनि थिइन। बसेँ । एकछिनमा गाँउका धेरै मानिस आए। कामको कुरा त भइहाल्यो मैले ठट्टा पनि गरेँ। यो माहोलमा उनीहरुको स्नेही नजर म कसरी लेखुँ के। मेरो मधेसले मलाई जज गरेन। राती एक्लै यतिका केटामान्छे बीच भिडियो खिच्ने भनेन। सहयोग गर्यो, माया गर्यो। मैले एक कदम चालेँ, उसले दश कदम चाल्न हौस्यायो। अरे यार कदम चालम् त सही। आफू जहाँको तहीँ अनि भन्ने, समाज एक पाइला अघि बढेको छैन। जति तर्सन्छौँ उति बढ्छ आक्रमण। उति जोशिन्छन् काला मन। त्यसैले भन्छन् बुद्ध, ‘निर्भय बन निर्बैरी बन।’
भन्न म त्यही सक्छु, जे मैले अनुभुतिको स्तरमा आत्मसात गरेँ। स्वबेदन बाट आर्जेको ज्ञान नै सत्य हो भन्छन् विपस्यनाका आचार्य गोयंका पनि। म किन संसारका थ्योरी पढेर लादिएको डर खोपडी र मनभरि बोकेर हिड्छुँ? हिँड्दिनँ। मलाई केही होस् न, मरेँ भने त सकियो। बाँचे मात्र भने त म कुनै माइका लाल नियमकानुनसँग डराउनेवाला पनि छैन। ममाथि थोपरिएका सारा मान्यता धुवाँधुवाँ बनाएर उडाइदिनेछु र हिँड्नेछु मेरै बाटो मस्तमस्त।
जब एक बर्षकी हाम्री छोरीको ड्यासिङ मोडलिङवाला फोटो बैनीले पठाउँछे, निकैबेर हेर्छु। मनमनै भन्छु, ‘तँ मेरो सन्तान नडराइ बाँच यो धर्तीमा। निर्भय बन छोरी निर्बैरी बन।’