काठमाडौं, १ असार-सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय चुनाव सार्ने तयारी गरेको छ । तर, आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले चुनाव सार्दा भाग लिने प्रतिवद्धता जनाएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा बुधबार सुरुमा प्रमुख तीन दल, राजपा र त्यसपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठक बसेको थियो । एमालेसहितको बैठकमा राजपालाई चुनावमा ल्याउनेबारे सामान्य छलफल भएपनि कुनै सहमति हुन सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्ने भन्दै सल्लाह मागेका थिए । राजपा नेताहरुले आफूहरुको कुनै माग पुरा नभएको भन्दै यथास्थितिमा चुनावमा नजाने बताए । एमाले नेताहरुले भने असार १४ मै चुनाव हुनु पर्ने अडान राखेका छन् । साथै चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउन नसकिने बताए । घाइतेको उपचार खर्च लगायतका माग आपसमा बसेर पुरा गर्न सकिने एमाले नेताहरुले बताए । चुनाव सार्ने कुरा आफूहरुलाई स्वीकार्य नभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अनलाइनखबरलाई बताए । एमाले नेताहरु बाहिरिएपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठक बसेको थियो । त्यहाँ भने राजपाका नेताहरुले प्रदेश नम्बर २ र ५ को चुनाव सार्न र आफ्ना राजनीतिक मागहरु पुरा गर्नु पर्ने बताएको छ । सत्तारुढ कांग्रेस र माओवादीले प्रदेश नम्बर २ को चुनाव सार्न सकिने संकेत दिएका छन् । स्रोतका अनुसार आज विहान ९ बजे निर्वाचन आयोगसँग छलफल गर्ने र १० बजे फेरि राजपासँग छलफल गर्ने तय भएको छ । तर, मिति सारेर प्राविधिक विषय सम्बोधन गर्दा पनि चुनावमा आउने आउने कुनै लिखित प्रतिवद्धता राजपाले जनाउने संकेत देखिएको छैन । बैठकमा नारायणकाजी श्रेष्ठसहितका केही नेताले भने प्राविधिक विषय सम्बोधन गर्दा चुनावमा आउने लिखित प्रतिवद्धता जनाउने हो भनेर राष्ट्रिय जनता पार्टीका नेताहरुलाई प्रश्न गरेका थिए । नेताहरुका अनुसार प्रदेश नम्बर २ को चुनाव सार्ने सम्भावना बढी छ । यसका साथै प्रदेश नम्बर ५ का केही जिल्ला नवलपरासी, रुपन्देही र कपिलबस्तुको पनि चुनाव दुई नम्बर प्रदेशसँगै गर्ने खतरा पनि छ । यो क्षेत्रमा असार १४ गते चुनाव नगरे कहिले गर्ने भन्ने कुनै टुंगो लागेको छैन । बुधबारको बैठकमा नभएका तर, सत्तारुढ दलहरुको सम्वादमा रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बिराटनगर पुगेर तराई मधेसका ११ जिल्लामा तेस्रो चरणमा चुनाव गर्नु पर्ने प्रस्ताव गरेका छन् । साथै उनले अब त्यहाँ कात्तिक तेस्रो साता चुनाव हुने सम्भावना रहेको बताएका छन् । बैठकपछि माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले भने, ‘छलफल राजपालाई पनि चुनावमा सहभागी गराउने सम्भावनाका विषयमा नै केन्द्रित थियो, तर बिहीबार १० बजे बस्ने गरी टुङ्गिएको छ ।’ राजपाका नेता शरदसिंह भण्डारीले सबै राजनीतिक दललाई चुनावमा जाने वातावरण सिर्जना गर्नका लागि राजपाले स्पष्टसँग माग राखेको बताए । तर, अहिलेसम्म चुनावमा जाने वातावरण सिर्जना नभएको र वातावरण नभएमा दुर्भाग्यपूर्ण अवस्था हुने उनको चेतावनी छ ।
राजपाको आन्दोलनमा सिके साउतको साथ !
चुनाव बहिस्कार गर्ने राष्ट्रिय जनता पार्टीको निर्णय र आन्दोलनलाई देश टुक्र्याउने बिखण्डनकारी अभियानका सिके राउतले समर्थन जनाएका छन् । राउतले राजपा नेता महन्थ ठाकुरलाई पत्र लेखेर राम्रो निर्णय गरेको भन्दै धन्यवाद दिएका हुन् । सिके राउतले महन्थ ठाकुरलाई हिन्दी भाषामा पत्र लेखेर चुनाव बहिस्कारका लागि धन्यवाद मात्रै दिएका छैनन्, चुनाव बहिस्कार गर्ने तरिकासमेत सिकाएका छन् । राउतले चुनावलाई सक्रिय बहिस्कार गर्ने भन्दा पनि मतदानमा भाग लिएर मतपत्रमा कोठाबाहिर छाप लगाउन राजपा नेता कार्यकर्तालाई सल्लाह दिएका छन् । चुनाव बहिस्कार तीन तरिकाले हुन्छ भन्दै राउतले चुनाव बिथोल्न खोज्नु सक्रिय बहिस्कार हुने र मतदान गर्न नजानु निश्क्रिय बहिस्कार हुन जाने राउतको तर्क छ । उनले महन्थ ठाकुरलाई भनेका छन् कि यी दुबै तरिका अपनाउनुको साटो ‘राइट टु रिजेक्ट’ को अधिकार प्रयोग गर्दै बहुमत मतपत्र बदर गरेर चुनावलाई अवैधानिक बनाउन सकिन्छ । तर, राउतले मतदानमा भाग लिएर चुनाव बहिस्कार गर्न भने पनि मधेसमा राजपाका नाममा भइरहेको आन्दोलनमा सिके राउतका कार्यकर्तासमेत उत्रिएर निर्वाचन विथोल्ने कार्यमा लागिरहेको स्थानीय प्रशासनको दाबी छ । यसैवीच बिखण्डनका अभियन्ता सिके राउतले महन्थ ठाकुरलाई धन्यवाद दिँदै लेखेको पत्रबारे बुधबार गहृमन्त्रालयमा समेत छलफल भएको स्रोतले अनलाइनखबरलाई बतायो ।
चुनाव सारे देउवाले असक्षमताको अर्काे तक्मा पाउँछन्ः एमाले
प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय जनता पार्टीको स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनको माग चुनाव अघि पूरा गर्न नसकिने बताएको छ । साथै उसले असार १४ का लागि निर्धारित दोस्रो चरणको चुनाव कुनै हालतमा सार्न नहुने बताएको छ । एमाले स्थायी कमिटीको बुधबार बसेको बैठकमा राजपाका मागबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एमालेले घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, जघन्य अवराधमा संलग्न नभएका तथा निर्दोषमाथि लागेको मुद्दा फिर्ता लिन सकिने बताएको छ । तर, पहिलो चरणको चुनाव भइसकेको र दोस्रो चरणको चुनावको उम्मेदवारीको पूर्वसंध्यामा स्थानीय तहको संख्या बढाउन नसकिने बताएको छ । एमाले सचिव योगेश भट्टराईले भने, ‘भोलि चुनावपछि आवश्यकता र औचित्यका आधारमा आयोग बनाएर देशब्यापी अध्ययन गर्न सकिन्छ ।’ प्रमुख विपक्षी एमालेले
चुनाव र संविधान संशोधनको कुनै सम्वन्ध नभएको भन्दै एमालेले संशोधनलाई अघि सारेर चुनाव नरोक्न माग समेत गरेको छ । प्रधानमन्त्री स्वयंम र उनको दल कांग्रेसबाट सार्जवनिक धारणाले असार १४ को चुनाव गर्न चाहँदैन कि भन्ने आशंका जन्माएको एमालेले बताएको छ । १,२, ५ र ७ नम्बर प्रदेशमा असार १४ मै चुनाव हुनु पर्ने भन्दै एमालेले राजपालाई पनि चुनावमा आउन आउन आहृवान गरेको छ । साथै उम्मेदवारको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा र रक्षा गर्ने र जनताले मताधिकार प्रयोग गर्ने सहज वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । चुनाव सार्नु पर्ने प्रस्तावमा एमालेको सहमति नहुने भन्दै सचिव योगेश भट्टराईले भने, ‘प्रधानमन्त्रीमाथि इतिहासबाट असक्षमताको प्रश्न लाग्दै आएको छ । यदि यो चुनाव तलमाथि भयो भने असक्षमताको अर्को तक्मा पाउनुहुन्छ ।’