सन्तोष थापा
पर्वत, २९ जेठ – पर्वतमा ५१ लाख भन्दा बढी लागतमा अत्याधुनिक व्याडमिण्टन कवर्डहल निर्माण सम्पन्न भएको छ । पर्वत व्याडमिण्टन संघको पहलमा कवर्डहल निर्माण भएको हो । विगतमा विभिन्न खुल्ला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेस लगायतका स्थानमा खेल्दै आएका व्याडमिण्टन खेलाडीहरु अब भने कवर्डहलमा खेल्न पाउने भएका छन् । करिव ६ महिनामा उक्त कवर्डहल निर्माण सम्पन्न भएको हो । सार्वजनिक स्थानमा खेलमैदान तथा कवर्डहल नहुँदा समस्या खुम्चिएको खेल क्षेत्र व्याडमिण्टन कवर्डहल निर्माण पश्चात् फस्टाउने देखिएको छ । संघले हाल संघमा आबद्ध सदस्य तथा खेलाडीहरुबाटै इच्छानुसारको रकम संकलन गरेर उक्त कवर्डहल निर्माण सम्पन्न गरेको हो । कवर्डहल निर्माणका लागि व्याडमिण्टन खेलाडीहरुले ५ हजार देखि ३ लाख रकम सम्म व्यक्तिगत रुपमा प्रदान गरेका छन् । उक्त कवर्डहल निर्माणका लागि जिल्ला समन्वय समिति पर्वत, जिल्ला खेलकुद विकास समिति पर्वत, कुश्मा नगरपालिका कार्यालय पर्वत, कालीगण्डकी करिडोर प्रसारण लाईन शाखा पर्वत लगायतले संस्थागत सहयोग उपलब्ध गराएका छन् भने सांसद अर्जुन प्रसाद जोशीले ३ लाख सहयोग प्रदान गरेका छन् । शनिबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरी उक्त कवर्डहलमा खेल कार्य शुरुवात गरेको छ । निर्माणका क्रममा खेलाडी तथा अन्य विभिन्न बैदेशिक रोजगारमा गएका खेलप्रेमी सहयोगदाताहरुबाट ४७ लाख रकम संकलन भएको र अन्य ४ लाख रुपैया अझै अपुग भएको संघका कोषाध्यक्ष रविकुमार श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुतका क्रममा जानकारी दिए । उक्त ४७ लाख रकम मध्ये अझै करिव ४ लाख रुपैँया संकलन भइनसकेको संघका अध्यक्ष तथा कवर्ड हल निर्माण समितिका अध्यक्ष प्रेम गुरुङले जानकारी दिए । कुश्मा नगरपालिका अन्तर्गत गुप्तेश्वर बहुमुखी क्याम्पस सँगै बनेको उक्त कवर्ड हलबाट पर्वतमा नयाँ खेलाडी उत्पादन गर्ने सोच समेत राखिएको गुरुङले बताए । ‘पहिला हामी भाडा तिरेर खेल्नुपर्ने अवस्था थियो, नयाँ खेलाडीलाई पनि समस्या हुन्थ्यो’ उनले भने ‘अब हामी नयाँ खेलाडीहरुलाई पनि व्याडमिण्टन खेल प्रति आकर्षण गर्ने गरी खेलकार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ ।’
विगत १८ बर्ष देखि व्याडमिण्टन खेल क्षेत्रमा प्रबेश गरेका गुरुङले आफुहरुले खेल शुरु गर्दाको अवस्था स्मरण गराउँदै भने ‘हामीले धेरै दुःख भोगेका हौँ, अबका खेलाडीहरुले हाम्रो जस्तो समस्या भोग्नुपर्ने छैन’ निर्माण सम्पन्न भएको कवर्डहलको एक विशेष कार्यक्रमको आयोजना गरी उद्घान गर्ने तयारी गरिएको उनले बताए । कवर्डहल निर्माण सम्पन्न भएपछि राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न सक्ने क्षमता पर्वतले राखेको भन्दै उनले खुशी व्यक्त गरे ।
जोशीलाई सम्मान
पर्वत व्याडमिण्टन संघले संघका कुश्मा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामचन्द्र जोशीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संघले बधाई ज्ञापन गरेको हो । संघका सल्लाहकार समेत रहेका जोशीलाई व्याडमिण्टन कवर्डहल शुभारम्भको अवसर पारेर बधाई ज्ञापन गरेको हो । कवर्ड हल निर्माणका लागि १ लाख सहयोग गरेका जोशीलाई संघमा आबद्ध व्याडमिण्टन खेलाडीहरुले समेत शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले पर्वतमा खेलकुदको विकासका लागि विभिन्न गतिविधिहरु बढ्दै गएको जानकारी गराउँदै संघले निर्माण गरेको कवर्डहलले खेल क्षेत्रको विकासमा थप इट्टा थपेको बताए । आफुले बार्षिक कार्यक्रममा नगरप्रमुख रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको बताउँदै व्याडमिण्टन प्रतियोगितालाई पनि त्यसमा समेट्न तर्फ विशेष ध्यान दिने बताए । संघका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्धान गुरुङ, समाजसेवी युवराज जोशी लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन सचिव अर्जुन चापागाई र स्वागत गोविन्द आचार्यले गरेका थिए । सोही अवसरमा शुभारम्भ खेलका विजेता समुहलाई मेडल प्रदान गरिएको थियो । शुभारम्भ खेलमा सि समुहबाट राजेन्द्र कर्माचार्य र उर्मिला गुरुङको समुह प्रथम भएको थियो भने वि समुहबाट प्रेम श्रेष्ठ र गोपाल गौडेलको समुह प्रथम भएको थियो ।
Previous Articleचिल्ड्रन लाइफ बागलुङ लिगको फाइनलमा
Next Article पोखरा सुधार्ने प्रतिबद्धता २८, उपलब्धि शून्य