एक साता देखि युवक हराएको र त्यसमा प्रहरीको संलग्नता लगायतका बिषयले बागलुङ बजार तातेको छ । कहिले बन्द र कहिले अन्य प्रकारका दवाव अभियान पनि चलेका छन् । गत मंगलवारदेखि हराएका एक युवक अहिले सम्म भेटिएका छैनन् ।
लागूपदार्थ सेवन गरेको तथा ओसारपसार गरेको आरोपमा मालढुंगामा चेकजाँच गर्ने क्रममा ट्याक्सीमा सवार तीन जनालाई नियन्त्रणमा लिन खोज्दा भागेका एक युवकको बिषयले पाएको चर्चा सेलाउन नपाउँदै प्रहरीले लागूपदार्थ बोकेर हिडेका अर्का भारतीय नागरिक पनि पक्राउ गरेको छ । यस्ता विभिन्न घटनाले आजकलका युवाहरु लागू औषधको दुव्र्यसनमा लिप्न भएको स्पष्ट हुन्छ । खपत हुने भएकै कारण लुकाई छिपाई ल्याउने, विक्रिगर्ने क्रम पनि बढेको छ । कानूनले ओसारपसार गर्नेलाई बढी दोषी देखेर कारवाहीको दायरामा ल्याएपनि प्रयोग कर्ता भएर दुव्र्यसनी भएका युवाहरुको भविष्य सबै भन्दा अन्धकार छ । १५ देखि २५ बर्षको उमेर समूहका युवाहरुमा बढेको यस्तो प्रयोगले युवाहरु त विग्रेका छन्, उनीहरुको परिवार पनि तनावमा छ । साथै राज्यको राम्रो जनशक्ति उत्पादनमा पनि ठूलो असर परेको छ । यो समयमा धेरै ज्ञानगुनका कुरा सिक्ने देखि राष्ट्र निर्माणमा लाग्ने अवसर पनि हो । तर उनीहरुमा यस्तो काममा लाग्ने भन्दा दुव्र्यसनमा फस्ने गरेकोले देश झन विपन्नता तर्फ धकेलिएको छ । युवाहरुले काम नगर्ने, भोलीको पुस्तालाई पनि गलत बाटोमा लैजाने तथा उर्जावान समय जेलनेलमा विताउने अवस्थाले देशको आर्थिक अवस्था झन डरलाग्दो तरिकाले खस्कन्छ ।
पटक–पटक संचारमाध्यममा लागू पदार्थहरु समातिएको, अनाधिकृत रुपमा विक्रि वितरण गरिएको जस्ता समाचार आइरहन्छन् । साथै कतिपय व्यक्ति पक्राउ परेका उदाहरण पनि छन् । पक्राउ पर्नु र कारवाहीको दायरामा ल्याउनु प्रहरीको सफलता होला, तर युवाहरु दिन दिनै दुव्र्यसनमा फस्नु राष्ट्रको असफलता हो । उनीहरुलाई यस्ता कुलतबाट फसाएर उत्पादन मूलक काममा लगाउने, रोजगारीको सिर्जना गर्ने काम गर्न नसक्ने हो भने यो क्रम अझै बढेर जाने देखिन्छ । तसर्थ प्रहरीले पाउने सफलता सँगै राष्ट्रको असफलता पनि जोडिएको यथार्थलाई मध्यनजर गरेर युवा लक्षित कार्यक्रम पनि संचालन गर्नुपर्ने आवस्यकता भएको छ । किनकी युवालाई समयमा सही मार्गमा हिडाउन सकिएन भने फेरी पनि राष्ट्रको भविष्य अन्यौल हुनेछ । देश विकासका खम्बा, भविष्यको कर्णधार जे भनेपनि युवाहरुकै हातमा राष्ट्र निर्भर रहन्छ । उनीहरुलाई यतिवेला सही मार्गमा हिडाउने प्रयास भएन भने देशको राजनीतिक, आर्थिक र सामाजिक भविष्य चकनाचुर हुन्छ । जसका कारण हाम्रो मौलिकता, राष्ट्रियता समेत गुमाइसकेको अवस्थामा पुग्नेछौं ।
अवका दिनमा प्रहरी लगाएर दुव्र्यसनीहरुको खोजी गर्ने काम मात्र नभएर प्रत्येक बालबालिका देखि युवा सम्मलाई नैतिक शिक्षा, असल चरित्र र उद्यमशिल बनाउने अवसर सिर्जना गर्न जरुरी छ । साथै उनीहरुलाई देश विकासको अवसर देखि आर्थिक विकासमा उनीहरुको भूमिकाको बारेमा पाठ पठाउन र काम गर्ने अवसर दिएर सक्रिय र व्यस्त बनाउन पनि जरुरी भएको छ । नत्रभने आगामी दिन पनि प्रहरीले दुव्र्यसनी समात्ने, चोरी, डकैती र अन्य अपराधका अभियुक्त पक्राउ गरेर सफलता पाउने बाहेक अन्य सफलता हात पर्ने देखिंदैन ।
Previous Article२०७४ जेठ २८ गते आईतबारको राशिफल
Next Article बालबालिकालाई शैक्षिक सामाग्री