बागलुङ, २६ जेठ – मंगलबार साँझ प्रहरीले पक्राउ गर्ने डरले मालढुंगाबाट भाग्न खोज्दा कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका काँठेखोला गाउँपालिका–८ घर भई हाल बागलुङ नगरपालिका–३ देउराली चोकमा बास्दै आएका सुनील पुनको खोजीलाई गम्भीरतापूर्वक नलिएको र बेवास्ता गरेको भन्दै उनका आफन्तहरुले गरेको बागलुङ बजार बन्द शुक्रबार १२ बजेबाट खुलेको छ ।
पुनका आफन्त तथा सघर्ष समितीले शुक्रबार प्रेश विज्ञप्ती निकाल्दै पुनको खोजी कार्यलाई सहज बनाउनको लागि बन्द स्थगित गरिएको जनाएका छन् । उनीहरुले उक्त घटनालाई प्रशासनले गम्भिरताका साथ लिएर उक्त घटनाको समयमा मालढुंगामा डियुटिमा रहेका प्रहरी इन्चार्ज सहित सवैलाई कारवाहीको माग गरेका छन् । उनीहरुले बजार बन्दको क्रममा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सघर्षसमितिले सुनिल पुनको खोजी नभएर र दोषीहरुलाई कारवाही नभए पुन आन्दोलन गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।
मंगलबार साँझ बानपा–१ मालढुंगा प्रहरी चौकीले पर्वतबाट आउँदै गरेको ध १ ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान लागुऔषध सहित ३ जनालाई पक्राउ गर्ने क्रममा पुन ट्याक्सीबाट निस्केर नदिमा हाम फाली पौडेर नदि पारगर्ने क्रममा विचबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त ट्याक्सीमा सवार ट्याक्सी ड्राइभर हेटौंडा उपमहानगरपालिका–१५ घरभई हाल सोही ठाउँ बस्ने २४ वर्षिय भिमसने लामा र बानपा–१ का दिपेन्द्रभरत भन्ने दिपेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
तर पुनका आफन्तहरुले पुन नदिबाट बाहिर निस्कने क्रममा प्रहरीले घेराहालेर नदिबाट निस्कान नदिई बेपत्ता बनाएको आरोप लगाएका छन् । उनीहरुले बुधबार दिउँसो मालढुंगामा चक्काजाम गरेका थिएभने बिहीबार बिहानदेखि अनिश्चितकालीन बजार बन्दको आव्हान गरी बन्द गराएका थिए ।