बागलुङ, २६ जेठ
एउटा एसएमएसः जसले समात्यो लागूऔषधिसहित भारतिय युवक
बागलुङमा लागूऔषधको जालो कसरी फैलदो छ भन्ने उदाहरण एक साता नबित्दै घटेका दुई घटनाले प्रष्ट पारेको छ । लागुऔषध समातिएको दुई दिन नबित्दै प्रहरीले बिहिबार एक भारतियलाई लागूऔषधसहित पक्राउ गरेको छ । बानपा–१ रामरेखाबाट बिहिबार ठूलो परिणाममा लागूऔषधसहित एक भारतीय युवक पक्राउ परेका छन् । गत मंगलवार पक्राउ परेका दुई युवाले प्रयोग गरेको मोबाइल सन्देशका आधारमा भारतको महाराजगञ्च झिम्टी गाउँका १८ वर्षीया जितेन्द्र हरिजनलाई तिन सय एम्पुलसहित बिहिवार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका हरिजनको साथबाट लागूऔषध फेनार्गन, नुर्फिन, डाइजपाम सय–सय एम्पुल र नाइट्राजेपाम २ पत्ता बरामद गरिएको छ । नियन्त्रणमा लिएका हरिजन र थप सञ्जालका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनिलकुमार खड्काले जानकारी दिए । हरिजन भारतबाट लागूऔषध ल्याई बागलुङ आसपासका क्षेत्रमा बेच्ने कार्यमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । ‘लागूऔषधको कारोबारमा ठूलै गिरोह सक्रिय छ’ निमित्त प्रहरी प्रमुख खड्काले भने ‘यसबारे हामीले गहिरो अनुसन्धान गरिरहेका छौ ।’ गत मंगलबार मात्रै लागूऔषधसहित तीन युवकलाई प्रहरीले मालढुङ्गाबाट पक्राउ गरेको थियो । तिमध्ये बागलुङ नगरपालिका–३ बस्ने सुनिल पुन प्रहरीलाई छलेर भाग्ने क्रममा कालिगण्डकी नदीमा बेपत्ता छन् । बागलुङबाट ट्याक्सीमा पर्वतको कुश्मा जाँदै गरेका बा.न.पा.–१ का २८ वर्षीय दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भिमसेन लामा प्रहरीको नियन्त्रणमा छन् । उनीहरुको साथबाट लुकाईछिपाई राखेको लागूऔषध डाइजेपाम ३, नुर्फिन ३, फेनार्गन ४ एम्पुल, नाइट्राजेपाम ३ थान र ४ थान सुई प्रहरीले बरामद गरेको थियो । उनीबाट नियन्त्रणमा लिएको मोबाइलमा देखिएको सन्देशबाट हरिजनलाई पक्राउ गर्न सफल भएको अनुसन्धानमा संलग्न प्रहरी निरिक्षक दामोदर भट्टराइले बताए । प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका पुनको खोजी गर्न माग गर्दै उनका परिवार र आफन्तजन आन्दोलित भएका छन् । घटनाको विरोधमा उनीहरुले बिहिबार बागलुङ बजार बन्द गराउँदै हिडेका थिए । बन्दका कारण दिनभर ठप्प बनेको यातायात, बजार साँझ ५ बजेपछि भने सामान्यतर्फ उन्मुख भएको थियो । प्रहरीले बेपत्ता युवक पुनको खोजी कार्य चलिरहेको जनाएको छ ।
नदीमा बेपत्ता युवा अझै भेटिएनन्
आफन्तद्धारा विरोध प्रर्दशन जारी
प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा कालीगण्डकी नदिमा बेपत्ता भएका बागलुङका एक युवक अझै फेला परेका छैनन् । काठेखोला गाउँपालिका–८ कादेश घर भई हाल बागलुङ नगरपालिका–३ देउराली चोक बस्ने सुनिल पुन प्रहरीलाई छलेर भाग्ने क्रममा मंगलबार साँझ कालिगण्डकी नदीमा बेपत्ता भएका थिए । बेपत्ता भएको दुई दिन बित्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन । उनको खोजीका लागि सशस्त्र प्रहरी, प्रहरी र स्थानीय युवाहरुको टोली परिचालन गरिएको छ ।
पुनका आफन्तको भनाई यस्तो छ
बेपत्ता हुनुमा प्रहरी मुख्य कारक भएको भन्दै पुनका आफन्त आन्दोलित भएका छन् । पुनलाई भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याएर घेराबन्दीमा गरेपछि नदिमा हाम फाल्न बाध्य बनाएको र पौडिएर नदी छेउ पुग्दा समेत प्रहरीले संवेदनशिलता देखाउन नसक्दा पुन बेपत्ता भएको आफन्तको आरोप छ । बेपत्ता पुनका आफन्तजनले पनि संघर्ष समिति गठन गरेर बिहिवार नै पत्रकार सम्मेलन गरेर पुनको उद्धार तथा खोजीलाई प्रभावकारी बनाउन माग गर्दै शुक्रबार बागलुङ बन्दको आव्हान गरेका छन् । घटनामा संलग्न प्रहरीलाई आवश्यक अनुसन्धान गरी कारवाही गर्नुपर्ने संघर्ष समितिका सदस्य नरेश कंडेलले बताए । समितिको माग सुनुवाइ नभए थप संघर्षका कार्यक्रम सार्वनिक गर्ने चेतावनी दिएको छ । नदिमा हाम फाल्न बाध्य पारेको र हाम फालेपछि पनि उद्धार तथा खोजीका लागी प्रहरी प्रशासनले कुनै प्रयास र पहल नगरको बेपत्ता पुनका आफन्तको भनाई छ । बिहीबार आकस्मिक रुपमा बन्द आव्हान गरिएपछि बजार पसल ठप्प भएभने बिभिन्न स्थानमा जाने र बजार भित्रिने सवारी साधन र यात्रुहरु बिचमै अलपत्र परेका थिए । बन्दका क्रममा समिक्षालय चोकको केवी मासु पसलमा बन्दकर्ताले तोडफोड समेत गरेका थिए । साथै पसलका सञ्चालक केवी भण्डारीलाई हातपात समेत गरिएको भन्दै बागलुङ उद्योग बाणिज्य सघंको एक टोलीले तत्काल कार्यालय पुगेर प्रहरीको समेत ध्यानाकर्षण गराएको थियो ।
मानवअधिकारकर्मीको ध्यानाकर्षण
जिल्लामा क्रियाशिल विभिन्न मानव अधिकारवादी संघ संस्थाले उक्त घटनाप्रति गंभीर ध्यानाकर्षण भएको जनाएका छन् । बागलुङ उच्च अदालत बार एशोसिएसनका अध्यक्ष केशवराज पराजुली, नागरिक सामाजका अध्यक्ष काजीगाउँले श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष भूमिश्वर गौतम र शान्तिका लागि मानव अधिकारकर्मीको साझा सजालका अध्यक्ष राम शर्माले संयुक्त रुपमा विज्ञाप्ती प्रकाशन गरी घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । प्रहरी नियन्त्रणमा भएका युवा सोधपुछकै क्रममा कालीगण्डकी नदीमा हामफाल्दा प्रहरीले कुनै किसिमको उद्धार कार्य नगरी उद्धारकर्तालाई समेत निक्रिय बनाएको भन्ने आफन्तको भनाई देखिएकाले विधिको शासन र मानव अधिकार र नागरिकको सुरक्षाको प्रत्याभूतिमाथि गम्भिर आघात पुगको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नि. प्रहरी प्रमुख यसो भन्छन्
मालढुंगा चेकपोष्ट प्रहरीले चेकजाँचका क्रममा लागुऔषध भेटिएपछि ट्याक्सीबाट निक्लिएका पुन शौचालय जाने भन्दै नदि छेउतिर भागेको र आत्तिएर नदिमा हाम फालेको हुन सक्ने प्रहरीको भनाई छ । प्रहरीले बिहिबार पत्रकार सम्मेलन गर्दै गाडीमा लागुऔषध भेटिएपछि बेपत्ता भएका पुन भागेको र तर अन्य दुई युवा ट्याक्सी चालक भिमसेन लामा र बानपा–२ का दिपेन्द्र कार्की प्रहरी नियन्त्रणमै भएकाले पिछा नगरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरी प्रमुख अनिल खड्काले बताए ।