भारतमा चलेको स्वतन्त्रता आन्दोलनको मूलधारा अहिंसात्मक थियो। गान्धी र नेहरूहरू अहिंसात्मक आन्दोलनकै नेता हुन्। तर, तिनै नेता र त्यस्तै विचारबाट प्रेरित भनिने नेपाली कांग्रेसले २००७ सालमा हतियार किन उठायो? सात सालमा मात्रै होइन, पछि पनि बेलाबेला नेपाली कांग्रेसले सशस्त्र संघर्षको कुरा चलाइआएकै छ। मान्छेहरूलाई लाग्न सक्छ, गान्धीद्वारा प्रेरित बिपी कोइरालाको पार्टीले क्रान्तिको नाममा हिंसात्मक आन्दोलनलाई कसरी अघि बढायो ? यो एकदमै ज्वलन्त प्रश्न हो। यसमा धेरै मान्छेले अध्ययन नगरेको हुनाले बुझाइमा पनि समस्या छ।
सन् १९४९ अक्टोबरमा चीन आजाद भयो, स्वाधीन भयो। चीन स्वाधीन भएको दुई चार महिनामै तिब्बतमा लालसेना आइपुग्यो। लालसेना तिब्बत पुगेको मितिको अघिल्लो दिनसम्म नेपाली कांग्रेसको गतिविधि र लालसेना त्यहाँ पुगेपछिको गतिविधिमा फरक देखिन्छ। तिब्बतमा लालसेना आइसकेपछि भारत सरकार चीनलाई नेपालसम्म आउन दिनु हुँदैन भन्ने निर्णयमा पुग्यो। उनीहरूले नेपाली कांग्रेसलाई भनेका थिए– हामीले हतियार ठाडै दिएको देखाउनु हुँदैन, त्यो हतियार बर्माबाट ल्याएर सुरू गर्दै गर, बाँकी हामी छँदैछौं।
यो तथ्य कांग्रेसको कुनै किताबमा पाइन्न तर मातृका कोइरालाको ‘रोल इन रेगुलेसन’ नामको आत्मकथा पुस्तकमा भेटाइन्छ। त्यस पुस्तकमा पनि मैले मूल कुरा मातृकाबाटै जे सुनेको थिएँ, अहिले लेखिएकोमा फरक छ। उनले त्यस पुस्तकमा के लेखेका छन् भने हतियारको सारै कमी भएपछि दुई सय थान आधुनिक हातहतियारका लागि महावीरशमशेरसँग कुरा भयो र एक सय थान राइफल लिएर महावीर शमशेरको गाडी आयो। यो कुरा ‘रोल इन रेगुलेसन’ पुस्तकमा लेखिएको छ।
अहिले त भारतमा ५० वर्ष पुरानो इतिहासका दस्तावेज सार्वजनिक गर्ने चलन छ। त्यसअनुसार नेपालसँग सम्बद्ध भएर सरदार बल्लभभाइ पटेलले लेखेको चिठी पनि सार्वजनिक भइसकेको छ। नेपालमा नेपाली कांग्रेसले हतियारबद्ध आन्दोलन गर्नुको कारण तिब्बतमा चीन आइसकेपछि नै भारतले छिटोछिटो हतियार दिएर नेपालमा राणाविरोधी आन्दोलन सफल पार्न खोजेको थियो भन्ने कुरा सरदार पटेलले लेखेको चिठीको आशय बाट पनि बुझ्न सकिन्छ। उनको चिठीमा ‘के हेरेर बसेको तिमीहरू अहिलेसम्म? चीनलाई नेपालसम्म आउन दिने हो कि के हो? चीन तिब्बतमा आइपुग्यो’ भन्ने आशयमा जवाहरलाल नेहरूलाई लेखिएको छ। यता राजा त्रिभुवन देशै छाडेर भागिदिए। त्रिभुवन भागेपछि राणाको वैधता घट्यो। उता भारत पनि खुलेर आयो। यी सबै घटनाक्रमबीच २००७ सालको क्रान्ति भएको हो।
अहिले हुने हो भने यस्तो–यस्तो इतिहास पूरा कथा बन्छ। बर्माबाट हतियार जुन दिन कलकत्तामा आयो, अनि जुन दिन राजा त्रिभुवन काठमाडौंबाट भागे, ती मितिहरू हेर्ने हो भने त्यतिबेलाको योजना थाहा हुन्छ। जुन यन्त्रले त्रिभुवनलाई काठमाडौंबाट भगाएको हो, त्यही यन्त्रले उता कांग्रेसका लागि बर्माबाट हतियार ल्याइदिएको हो। त्यो थाहा पाउन मितिहरू र त्यतिबेलाका गतिविधिहरू हेर्दा पुग्छ। मितिले चित्त बुझ्दैन भने ‘रिसेन्ट पोलिटिक्स इन नेपाल’ भन्ने भोला चटर्जीको किताब हेर्दा पनि हुन्छ। भोला चटर्जी स्वयम् हतियार ल्याउने मान्छे भोला हुन्। उनले कसरी ल्याइयो भन्ने कुरा लेखेका छन्। त्यो मातृका कोइरालाको ‘रोल इन रेगुलेसन’बाट पनि पुष्टि हुन्छ।
सैद्धान्तिक रूपमा त्यतिबेलाको विश्वमा एसियामै पनि दुई ध्रुव थियो। एउटा कम्युनिज्म भनेर सोभियत रूसले अलि पहिलेदेखि बेग्लै अभ्यास गरिरहेको थियो र चीनमा पनि क्रान्ति भइरहेको समय थियो। सँगसँगै अर्को ध्रुव चाहिँ विचारधारामा लोकतान्त्रिक प्रभावको थियो। सोभियत रूस र चीनजस्ता ठूला देशमा कम्युनिस्ट व्यवस्था चलिरहेका बेलामा पनि नेपालमा कांग्रेस नै प्रभावी थियो, कम्युनिस्ट चाहिँ बलियो हुन सकेको देखिदैन।
दोस्रो विश्वयुद्धकै सेरोफेरोदेखि विश्व दुई ध्रुवमा बाँडियो– समाजवादी र पुँजीवादी। सुरूमा बलियो इङ्ल्यान्ड थियो, ऊ कमजोर भइहाल्यो। अनि अमेरिकाको मुखुटा आयो– म पुँजीवाद हुँ। यी दुई पुँजीवादी र समाजवादीबीच तेस्रो सशक्त आन्दोलन आयो, जसलाई लोकतान्त्रिक समाजवादी भनियो। नेपाली कांग्रेस आफूलाई त्यही लोकतान्त्रिक समाजवादी भन्छ। यो लोकतान्त्रिक समाजवादको उत्पति कहाँबाट भयो? यसको पुँजीवाद र साम्यवादसँग के सम्बन्ध छ? यसबारे छुट्टै छलफलको खाँचो छ। तर बिपीले अघि बढाएको लोकतान्त्रिक समाजवादको भारतीय गुरू जयप्रकाश नारायण हुन्। उनले ‘डेमोक्रेटिक सोसलिजम’ भन्ने किताबमा भूमिका लेखेका छन् (किताब अशोक मेहेताले लेखेका हुन्।) त्यसमा उनले आज दुनियाँ गलतफहमीमा परेको छ, यो पुँजीवाद र साम्यवादको दुई भागमा बाँडिएको छ भन्छन्। तर वास्तवमा दुनियाँमा तेस्रो विचारधारा पनि छ त्यो लोकतान्त्रिक समाजवाद हो भन्ने कुरा उल्लेख गरेका छन्।
हामी त्यही लोकतान्त्रिक समाजवादी विचारधाराको स्थापनामा प्रचारप्रसार गरिरहेका छौँ। नेपाली कांग्रेसले बुझे पनि, नबुझे पनि, पढे पनि, नपढे पनि प्रारम्भदेखि नै हामी पुँजीवादी पनि होइन, कम्युनिस्ट पनि होइन भन्ने हिसाबले काम गरिरहेका छौं। हामी पुँजीवादी होइनौं समाजवादी भनेको थियौं। हामी कम्युनिस्ट पनि होइन, लोकतन्त्रवादी हौँ। नेहरू, जयप्रकाश नारायणको लोकतान्त्रिक समाजवादी सिद्धान्तमा के थियो, त्यो अलग विषय हो। तर यहाँ नेपाली कांग्रेस पुँजीवाद र साम्यवादको तेस्रो बाटो खोज्छु भनेर हिँडेको पार्टी हो। हिँड्न सक्यो–सकेन, त्यो अलग कुरो हो। किभने यस्तै भनाइ र प्रस्तुति, यही नियति जवाहरलाल नेहरूको पनि थियो। नेहरूले पनि आफूलाई ‘डेमोक्रेटिक सोसलिस्ट’ भनेका थिए। त्यसलाई अगाडि बढाउन उनी भन्थे– हामी कम्युनिस्ट पनि होइनौँ, पुँजीवादी पनि होइनौँ। त्यो सिद्ध गर्न उनीहरूले के भनेका थिए भने त्यसैले हामी अमेरिका र रूसको दुवै पक्षमा नलागेर तेस्रो पक्षमा छौं।
त्यतिबेला अमेरिकाले पनि आफ्नो पक्षमा अनेक सन्धीसम्झौताहरू गराएको थियो, उता रूसले पनि वार्सा प्याक्ट भन्ने ल्यायो। यी दुईबाटै हामी अलग छौं भन्नलाई नेहरूले ‘असंलग्न’ लाइन ल्याएका थिए। त्यो लाइनमा सुरूमा चाइना पनि लाग्यो। रूस र अमेरिकाबाहेक सबै लागे। यसबाट के बुझ्न सकिन्छ भने नेपाली कांग्रेसमा वैचारिक दृष्टिकोण नै ‘तेस्रो दृष्टि’, विचारधारामा लोकतान्त्रिक समाजवाद, परराष्ट्र नीतिमा असंलग्न परराष्ट्र नीति थियो। यसका व्याख्याता चाहिँ जवाहरलाल नेहरू नै थिए।
जसरी अहिले सबै पार्टीले आफूलाई कम्युनिस्ट पार्टी भन्छन्, तर उनीहरू कम्युनिस्ट जस्ता छैनन्। प्रचण्डदेखि बाबुरामसम्मले माक्र्सवाद भनेकै छन्, उता एक मात्र भयंकर सच्चा कम्युनिस्ट हुँ भन्ने चित्रबहादुर केसी छन्, अर्का छन् रोहित। तर, ओली र प्रचण्डको शैलीमा वा विचारमा फरक देखिन्नँ। भनाइको तात्पर्य के हो भने कुनै पनि पार्टीले आफूलाई समाजवादी भन्दैमा समाजवादी हुँदैन, गान्धीवादी भन्दैमा गान्धीवादी हुँदैन। कांग्रेसले पनि सिद्धान्तमा आफूलाई गान्धीवादी वा समाजवादी भन्छ, तर व्यवहारमा त्यस्तै छ/छैन, त्यो बेग्लै कुरा हो।
पार्टी स्थापनाकालदेखि २०१७ सालसम्मको समय नै विचार र व्यवहारका हिसाबले नेपाली कांग्रेसको स्वर्ण युग हो। यो कुरा मैले धेरै समय सोचविचार गरेर भन्दैछु। यसलाई अर्को शब्दमा शैशवास्थाबाट तारूण्यमा उठ्दै गरेको अवस्था भन्न पनि सकिन्छ। जसरी टिन्स क्रस गरेर युथ (किशोर वय छाडेर युवा) मा जान्छ मान्छे, नेपाली कांग्रेसका लागि २०१७ सालसम्मको अवधि त्यस्तै हो। मान्छेकै उमेरसँग तुलना गर्ने हो भने ३० वर्षको प्रौढ उमेर, जतिबेला अनुभव पनि हासिल गरिरहेको हुन्छ, तर जोसजाँगर र भविष्यको कल्पना पनि मरेको हुँदैन। कांग्रेसको सबैभन्दा र्याडिकल र प्रगतिशील फेज त्यही थियो। त्यो १४/१५ वर्षको बीचमा कांग्रेस जनताको बीचमा थियो। ऊसँग नयाँ नयाँ एजेन्डा थिए, नयाँ युवकहरू आकृष्ट हुँदै थिए। कम्युनिस्ट आन्दोलन नाम मात्रको थियो र कम्युनिस्ट आन्दोलनप्रति मानिसहरूको मनमा नकारात्मक धारणा पनि थियो। यिनीहरूले धर्म मान्दैनन्, सम्पति खाइदिन्छन् भन्ने पनि थिए। कम्युनिजमले आफूलाई आधुनिकीकरण गर्न पनि सकेको थिएन। राम्रा प्रतिभाहरू कांग्रेसमै थिए, राम्रो विचार र राम्रा राजनीतिक कार्यक्रम पनि कांग्रेसले नै दिएको थियो।
नेपाली कांग्रेसको २०१५ सालको जुन सरकार थियो, त्यसका जस्ता गतिविधि थिए, तिनका आधारमा कांग्रेसमा युगबोध थियो। त्यसलाई आजको बुद्धिले र मेरो जस्तो बुद्धिअनुसार हेर्दा त कमजोरी देख्न पनि सकिन्छ। तर त्यतिबेला हुँदो हुँ त मेरो आजको बुद्धि नै कहाँ हुन्थ्यो र? यो त मेरोे आजको बुद्धि हो। अहिलेजस्तो दुनियाँमा पर्यावरणका कुरा, महिला अधिकार र जातपातका कुरा आएकै थिएनन्। त्यतिबेलाको हिसाबले युगबोधअनुसार नै कांग्रेसले आफ्नो कार्यक्रम बनाएको थियो। तर, दुर्घटना–दुर्भाग्यवश राजाले कू गरेपछि पार्टी भूमिगत भयो। नेता कार्यकर्ता अलिकति जेल परे, अलिकति हिन्दुस्तान भागे, केहीले हिन्दुस्तानमा पार्टी चलाउन थाले। केही मान्छे चरम दमनमा पनि बसे। जब पार्टीको संरचनामा विभिन्न समस्या देखिन्छ, अनि त्यहाँ सुविधापरस्त नै हुन्छन्। सत्तामा लागेका मान्छेहरूमा पनि घर चाहियो, स्वास्नी चाहियो, छोरा चाहियो, परिवार चाहियो भन्ने हुन थाल्छ। थोरै मात्रै हुन्छन्, ज्यान हत्केलामा लिएर अगाडि बढ्न चाहने। तर पार्टीमा प्रतिक्रियाको काल पनि आउँन थाल्दो रहेछ। यस्तो जहाँ पनि देखिन्छ। यसको बडो सुन्दर व्याख्या रूसी क्रान्ति किन पथभ्रष्ट भयो भनेर रूसी क्रान्तिमा सहानभूति राख्ने मान्छेहरूले बडा राम्रो तरिकाले लेखको छन्। नेपाली राजनीतिमा नेपाली कांग्रेसको प्रतिक्रियाकालको इतिहास पनि भविष्यमा कसैले लेख्लान्।
लालसेना तिब्बत आएपछि कांग्रेसलाई बर्माबाट हतियार
Previous Articleप्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका
Next Article राजपालाई चुनावमा ल्याउन ऐन संशोधन