बागलुङ, २२ जेठ – ज्येष्ठ नागरिक जिल्ला संघ र राधाकृष्ण मन्दिर सेवा समितिले बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षलाई स्वागत गरेको छ ।
आइतबार आयोजित एक समारोहमा प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वार्ड नं. ३ का अध्यक्ष लक्ष्मी बास्कोटालाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै तीनै जना निर्वाचित जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गरेका छन् ।
चुनावका बेला गरेका प्रतिवद्धतालाई पुरा गर्दै अघि बढ्ने प्रमुख पौडेलले बताए । उनले ज्येष्ठ नागरिक पक्षमा बनेका ऐन, नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गरे । ‘ज्येष्ठ नागरिकको हकहितमा राज्यले कानुन बनाएको छ, त्यसको कार्यान्वयमा हामी जोड दिन्छौं’ प्रमुख पौडेलले भने ‘नगरस्तरबाट गर्न सकिने काम र योजनाबाट पनि ज्येष्ठ नागरिकका मागलाई सम्बोधन गर्छौं ।’ उनले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवन बाँच्न पाउने अधिकारको रक्षाको निम्ती सबै एकजुट हुनुपर्ने धारणा राखे ।
उपप्रमुख खड्काले ‘हाम्रो बागलुङ, राम्रो बागलुङ’ बनाउने प्रतिवद्धता व्यक्त गरे । सबैखाले विकासका दृष्टिबाट बागलुङलाई समृद्ध बनाउने योजना आफूहरुसँग रहेको उनको भनाइ छ । जनताका अपेक्षा धेरै रहेको भन्दै उनले समाजका सबै वर्ग र पक्षको समान विकासको आवश्यकता औंल्याए । वार्ड अध्यक्ष लक्ष्मी बास्कोटाले ज्येष्ठ नागरिकको लागि विशेष व्यवस्थअसका साथै सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख गरिन् । उनले ज्येष्ठ नागरिकको लागि विश्राम स्थल र हेरचाह केन्द्रको निर्माण गर्ने योजना रहेको बताइन् । यस्तै हिंसापीडित महिलाहरुको पुनःस्थापना केन्द्र स्थापना गर्ने सोँच आफूसँग रहेको उल्लेख गरिन् ।
कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संघका अध्यक्ष काजी रोशनको अध्यक्षता र समितिका उपाध्यक्ष रमेशकुमार राजभण्डारीको स्वागत मन्तव्य तथा सचिव हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी ९६ वर्षीय लालबहादुर थापा लगाएतका ज्येष्ठ नागरिकले आफ्ना जनप्रतिनिधिलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।