पूर्णप्रसाद उपाध्याय
पृष्ठभुमी
पानी हाम्रो जीवन हो भने सरसफाइ हाम्रो जीवन पद्वति हो । मानव जीवनको अभिन्न अंग मानिने स्वास्थ्य र सरसफाइलाई मानव सभ्यताको परिचय र समाज रुपान्तरणको दरिलो माध्यम मानिन्छ । वास्तवमा सरसफाइबाट आफ्नो आवश्यकताको परिपूर्ति हुनु त छदैंछ, यसमा पनि इज्जत, प्रतिष्ठा बृध्दिका साथै नैतिक मूल्य र मान्यतामा आत्मसम्मान बढ्ने देखिन्छ । भौगोलिक विकटता र जनचेतनाका अभावका कारणले झाडापखाला लगायतका सरुवा रोगबाट बर्षेनी पुरै देश प्रभावित हुदै आएको छ । सरसफाइलाई सामाजिक अभियानका रुपमा अगाडि बढाइ झाडापखालालाई इतिहासमा सिमित गर्न राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यहरु भैरहेका छन् । नेपालको सरसफाइ प्रबद्र्धनको व्यबस्थित प्रयासको शुरुवात सन् १९८० को दशकमा संयुक्त राष्ट्रसंघले खानेपानी आपूर्ती र सरसफाइको अन्तराष्ट्रिय दशक घोषणा गरेपछि मात्र भएको हो । त्यसपछि सरसफाइ प्रबद्र्धन खानेपानी तथा सरसफाइ आयोजनाको एउटा अभिन्न अंगको रुपमा समावेशहुंदै आयो । सरसफाइ सम्बन्धि मुख्य प्रयासहरु भने सन् १९९० को दशको शुरुमा प्रारम्भ भएको पाइन्छ ।
समग्र नेपालमा स्वास्थ्य र सरसफाइ एउटा जल्दोबल्दो समस्याको रुपमा रहि आएको परिप्रेक्ष्यमा बहुसंख्यक नेपालीहरुले चर्पीमा दिसालाई व्यबस्थित किसिमले विर्सजन गर्नुको सट्टा खुल्ला ठाउँमा दिशा गरिरहेकोले खुल्ला दिसाको कारणले जनस्वास्थ्यमा असर पर्ने विभिन्न रोगहरु (झाडापखाला, टाइफाइड, हैजा, आउँ, हेपाटाइटिस आदि) लाई न्यूनिकरण गर्ने नेपाल सरकारले सन् २०१७ सम्म सम्पूर्ण नेपाली जनताहरुमा सरसफाइको पहुँच पुर्याउने लक्ष्य लिइ सरसफाइ गुरुयोजना २०६८ जारी गरेको छ । नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न सबै स्थानीय निकायहरुले सरोकारवालाहरुको सामुहिक प्रयास र समन्वयबाट व्यापक जनपरिचालनका साथ कार्य गर्दै आइरहेका छन् ।
जिल्लाको अवस्था
बागलुङ जिल्ला ‘धवलागिरीवासीको प्रतिवद्धता, सरसफाइ अभियानमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (म्ध्ब्क्ज्ऋऋ) को अगुवाइमा वि.स. २०७० साल माघ १६ गते नेपालको आठौं खुल्ला दिसा मुक्त जिल्ला घोषणा भएको छ । यो संगै सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पूर्ण सरसफाइ कार्यक्रमको अभियान गाउँ गाउँमा शुरु भएको छ । यसै सन्दर्भमा बागलुंग जिल्लामा सरसफाइले छोटो समयमा उल्लेखनिय प्रगति हासिल गरेको छ । नेपाल सरकारको नीति र लक्ष्य अनुसार नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवालाहरुको सामुहिक प्रयासमा आधारभुत स्तरको सरसफाइमा बागलुङ जिल्ला नेपालकै नमूना जिल्ला बन्न सफल भएको छ ।
सरसफाइ अभियानको यात्रा
नेपाल सरकार राष्ट्र्रिय सरसफाइ कार्य संचालन समितिको निर्णय अनुसार बागलुङ जिल्लामा पहिलो पटक वि.सं. २०५५ सालमा जिल्ला स्तरिय सरसफाइ समन्वय समिति गठन भै त्यस पछिका वर्षहरुमा राष्ट्रिय सरसफाइ सप्ताह मनाउदै आएको छ । सरसफाइ अभियानको शुरुवातमा तत्कालिन जिल्ला खानेपानी कार्यालयको संयोजकत्वमा जिल्ला विकास समिति, बागलुङ नगरपालिका र अन्य संघसंस्थाहरुको संयुक्त पहलमा २०५६ असारमा पहिलो सरसफाइ सप्ताहको आयोजना गरियो । भौगोलिक विकटता, रहनसहन, अशिक्षा र गरिवीका कारण सरसफाइ सम्बन्धि जनचेतना न्यून रहेको अवस्थामा सरसफाइ सम्बन्धि नयाँ सन्देश फैलाउने काम गर्न सफल रह्यो । यो सप्ताह मनाउन क्षेत्रीय खानेपानी निर्देशनालय पोखरा र युनिसेफ फिल्ड अफिस पोखराको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो ।
यसैगरि दोस्रो सरसफाइ सप्ताह २०५७ असार ४ देखि १० गतेसम्म जिल्ला सरसफाइ कार्य संचालन समिति बागलुङले जिल्ला खानेपानी कार्यालयको संयोजकत्वमा सम्पन्न भयो । यस सप्ताह अवधिमा जिल्लामा क्रियाशिल विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको व्यापक सहभागितामा कोण सभा, सडक नाटक, घरदैलो कार्यक्रम, सरसफाइ सम्बन्धि पुस्तक प्रकाशन, बक्तृत्वकला प्रतियोगिता आदि संचालन गरिएका थिए । यस कार्यक्रममा जिल्ला विकास समिति, बागलुङ नगरपालिका, जिल्ला खानेपानी कार्यालय, हेल्वेटास पोखरा, धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र, भिमपोखरा युवा क्लब, चारतारे युवा क्लब, दिप ज्योती युवा क्लब, ग्रामिण उर्जा विकास कार्यक्रम, महिला हित संरक्षण समूह, उद्योग वाणिज्य संघ, महिला विकास शाखा र स्वयं शक्ति बागलुङको आर्थिक सहयोग रहेको थियो । यसरी सरसफाइ सप्ताहमार्फत जनचेतना फैलाउने र चर्पी निर्माणको लागि प्यान पाइप खरिद गरि समुदायमा चर्पी निर्माण अभियान व्यापक रुपमा शुरु भएको थियो । यसै शिलशिलामा यसलाइ दिगो प्रकारले जिल्ला भरिनै सरसफाइ अभियान कार्यक्रम संचालन गर्ने ठोस रणनीति तथा तर्जुमा गर्न २०५७।०८।१३ मा तत्कालिन जिल्ला विकास समितिका सभापतिको अध्यक्षतामा सरसफाइ जिल्ला कार्य संचालन समितिको बैठक बसी सबै गाउ विकास समिति र नगरपालिका अनि अन्य संघ संस्थाबाट आर्थिक सहयोग संकलन गरि चर्पी निर्माण कार्यलाई घुम्तीकोषबाट जिल्ला भरिनै चर्पी निर्माण अभियानको थालनी भयो ।
नियमित सरसफाइ सप्ताहको अभियान अनुसार तेस्रो सरसफाइ सप्ताह २०५७ चैत्र ९ देखि १५ गतेसम्म जिल्ला सदरमुकाममा मात्र सिमित नभएर दुर्गम गाउँसम्म पुग्ने गरि पहिलो पटक ३५ गाविसमा सन्देशमूलक कार्यक्रम गरी सम्पन्न भयो । जनप्रतिनिधीको सक्रिय इच्छाशतिm, गाविसमा देखिएको उत्सुकता, सर्वसाधारणले महसुस गरेको आवश्यकता र सामुहिक प्रतिवद्धताका कारण प्रत्येक वर्ष सरसफाइले फड्को मार्दै गयो ।
विंस. २०५८ मा जिल्लाको ५९ गाविस र १ नगरपालिकालाई स्थानीय तथा अन्य जनशतिm, सामाग्री स्रोत र साधनका आधारमा स्वास्थ्य सम्बन्धी विद्यमान ज्ञान, शिप व्यवहार र धारणामा सकारात्मक परिवर्तन गर्नका लागि जनताहरुसंग मिलेर जनताहरु कै लागि काम गर्दै एक घर एक चर्पी अभियानका साथै जिल्लालाई सरसफाइ नमूना जिल्ला बनाउने उद्देश्य लिएर जिल्ला सरसफाइ ट्रष्ट कोष समिति गठन गरिएको थियो । समाजसेवी देव बहादुर श्रेष्ठको अध्यक्षतामा बनेको समितिको सचिवमा इन्द्रलाल सापकोटा, कोषाध्यक्षमा पदमचन्द्र राजभण्डारी र सदस्यमा दिपेन्द्र थापा, बावुराम नेपाली, श्रीमती पोट कुमारी जि.सी. र विदुर खडका हुनुहुन्थ्यो । यस अभियानले आजीवन सदस्यता, संस्थागत सदस्यता र मानार्थ सदस्यता वितरण गरि संकलन गरिएको रकमबाट घुम्तीकोष परिचालन गरि गरिब विपन्न वर्ग सम्म चर्पी निर्माणको काम अगाडि बढ्दै गयो । यसैको परिणाम स्वरुप नेपालमै पहिलो गाविसको रुपमा अर्जेवा मिति २०६२ साल भाद्र २४ गते खुला दिसा मुक्त गाविस घोषणा हुन सफल भयो । ततःपश्चात गाउँ गाउँमा चर्पी निर्माण अभियान तिब्र रुपमा अगाडि बढ्यो । जिल्लाका अन्य गाविसहरु क्रमशः एक पछि अर्को गर्दै खुला दिसा मुक्त घोषणा भै २०७० बैसाख २४ गते बुर्तिबांग अन्तिम गाविसको रुपमा घोषणा भयो । यसरी जिल्लाका सबै गाविसहरुमा घर घरमा चर्पी निर्माण सम्पन्न भैसकेकोले नेपालको ८ औं खुला दिसा मुक्त जिल्लाको रुपमा २०७० माघ १६ गते जिल्ला घोषणा कार्यक्रम सम्पन्न गरियो । जिल्ला घोषणासंगै धवलागिरी अंचलका सबै जिल्लाहरु खुला दिसा मुक्त भैसकेकाले नेपालको पहिलो अंचल घोषणा पनि जिल्ला घोषणासंगै गरियो ।
बागलुङ जिल्लाको सरसफाई अभियान नेपालको इतिहासमा सामाजिक, राजनैतिक एवं सबै सरोकारवालाहरुको सामुहिक प्रतिबद्धता र एकद्धार प्रणालिमा आधारित रहेकोले नमूना बन्न सफल भएको छ । यहि अभियानलाइ कोशे ढुंगाको रुपमा लिदैं नेपाल सरकारबाट २०६८ मा सरसफाइ गुरुयोजना लागु गरेको थियो । यस अभियानको निरन्तरता दिदैं हाल खुला दिसा मुक्त क्षेत्र पश्चातका पूर्ण सरसफाइ सम्बन्धि क्रियाकलापहरु संचालित रहेका छन् ।
चुनौतीहरु
खानेपानी तथा सरसफाइ क्षेत्रको लक्ष्यहरु हासिल गर्नको लागि विद्यमान अवस्थामा निम्न समस्याहरु रहेका छन् । सरसफाइ अभियान खानेपानी सेवा विना असम्भव छ । जिल्लाको खानेपानीको आधारभुत सेवामा विगतमा निर्माण गरिएका खानेपानी आयोजनाहरु सार्वजनिक धाराको अवधारणामा गरिएको तर हाल आम उपभोताबाट निजिधारा प्रणालीको माग बढ्दै गएकोले माग भए बमोजिम आयोजना निर्माण गर्न मौजुदा बजेट विनियोजन र आवश्यक बजेट विच ठूलो खाडल रहेकोले स्रोत उपलब्धतामा कमी रहेको । जिल्लामा संचालन भएका ग्राभिटि प्रणालीका खानेपानी आयोजनाहरुमा उचित मर्मत सम्भार तथा व्यबस्थापनमा कमजोरी । खुल्ला दिसा मुक्त घोषणा भैसकेका गाविसहरुमा पर्याप्त खानेपानीको व्यबस्था नहुँदा घोषणा पश्चात पूर्ण सरसफाइको अवस्था हासिल गर्न कठिन बनेको छ ।
अझैं पनि जिल्लाका केही गाउँमा सामाजिक, सांस्कृतिक, रुढीवादी सोच र अशिक्षा एवं गरिबीका कारण सरसफाइ अभियान सुस्त गतिमा बढेको । सरसफाइको क्षेत्रमा सुहाआरा, नेवा, पश्चिम नेपाल लगायत अन्य गैससहरुको समेत सहयोग प्राप्त भै कार्यक्रमहरु संचालन भैरहेका छन् । पर्याप्त लगानी आवश्यक पर्ने साना ठूला खानेपानी आयोजनाहरुको निर्माणमा समेत यी निकायहरु क्रियाशिल हुनुपर्ने देखिन्छ । सरसफाइमा सबैको समान र सक्रिय सहभागिता आजको आवश्यकता भयको छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाल सरकारले यहि जेठ २२ गते देखि २८ गतेसम्म राष्ट्रिय सरसफाई सप्ताह “खुला दिसा मुक्त गर्नु छ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व’ भन्ने मूल नारा सहित भब्य रुपमा मनाउने निर्णय गरेको छ । आ–आफ्नो ठाँउबाट हामी सबैले सरसफाइमा योगदान गरी स्वच्छ र सभ्य समाजको निर्माण गरौं । बर्तमान समयमा खानेपानी र सरसफाइ क्षेत्र अभाव र दबावमा छ । राजनैतिक स्थिरता, राज्यको प्राथमिकता, नीति नियमको सहि कार्यान्वयन एवं नागरिक सचेतना भएमा खानेपानी र सरसफाइ क्षेत्रमा जिल्ला तथा राट्र्रिय लक्ष्य हासिल गर्न सकिन्छ । यसको लागि सबै सरोकारवालाको उत्तिकै योगदानको आवश्यकता देखिन्छ ।
(ईन्जिनियर उपाध्याय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङमा डिभिजन प्रमुख हुन् ।)
Previous Article२०७४ जेठ २२ गते सोमबारको राशिफल
Next Article प्रकाश माध्यमिक विद्यालयको वार्षिकोत्सव