बागलुङ, २१ जेठ – काठेखोला गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शनिबार स्वागत गरिएको छ ।
नेकपा एमाले काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराले जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य मनकुमारी केसीले नेकपा एमालेकै नेतृत्वमा विकास र सम्वृद्धिको सपना पुरा हुने बताएकी थिइन ।
निर्वाचनमा भएका विभिन्न प्रतिबद्धता जनप्रतिनिधीले कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले जनचाहना अनुरुपको विकासनै वर्तमानको आवश्यकता भएको बताइन । कार्यक्रममा एमाले जिल्ला कमिटीका सचिव लालबहादुर थापा, काठेखोला संगठन कमिटीका संयोजक डिल्लीराज गौतम, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा, नेकपा एमाले प्रचार विभागका पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतम, एमाले जिल्ला कमिटी सदस्य दिपक गौतम, वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्मा, सदस्य चिरन थापा लगायतले बोलेका थिए ।
सो अवसरमा नेकपा एमाले जिल्ला कमिटी बागलुङको छैठौँ अधिवेशनमा तत्कालिन भीमापोखरा गाविसबाट निर्वाचित जिल्ला सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम एमाले वडा नम्बर २ का अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष सविना गौतमको स्वागत र सचिव नारायणदत्त रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।
यसैबीच, धौलागिरि टेलिभिजन प्रा.लि. बागलुङले काठेखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित प्रालिका लेखा समिति सदस्य अम्मरबहादुर थापालाई शनिवार वधाई ज्ञापन गर्नुका साथै शुभकामना व्यक्त गरेको छ ।
प्रालिका तर्फबाट शनिवार आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्ष दयाराम पौडेल, सचिव रामबहादुर जिसी, कोषाध्यक्ष अशोककुमार श्रेष्ठ, सञ्चालकहरु मनोजकुमार श्रेष्ठ, प्रकाश पौडेल, सुन्दर श्रेष्ठ, लेखा समितिका संयोजक सिद्धार्थ मिलन श्रेष्ठ, सदस्य केशव सुवेदी, सल्लाहकारहरु कमलप्रसाद श्रेष्ठ र नवराज पौडेलले सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै काठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापाले मुलुकको समृद्धिका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहेको भन्दै काठेखोलाको विकासमा पनि सञ्चार क्षेत्रको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।
उनले सञ्चार क्षेत्रलाई उद्यमका रुपमा विकास गर्दै समाज रुपान्तरणको अभिन्न अंगका रुपमा अगाडि बढाउन सकेमा आर्थिक विकास र सामाजिक रुपान्तरण संभव रहेको बताए । धौलागिरि टेलिभिजनका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष दयाराम पौडेलको स्वागत र सचिव रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।