तीते करेली
कृष्णराज शर्मा
बागलुङमा यौटा घरेलु उद्योगको ‘अफिस’ छ । तपाईं कहिल्यै यो अफिसमा जानु भएको छ ? छैन भने भोली नै जानुस् त एक पटक । देख्नु हुनेछ त्याहाँको हरिदशा ! म त अस्ति गएर त्यो हरिदशा हेरेर आएँ । त्यो रमिता देखेर आएँ । शुरूमा ०३५ सालमा म गएको थिएँ यो घरेलुमा । मेरो नाममा घरेलु उद्योग खोल्दा गएको थिएँ । हाम्रो परिवारले यौटा उद्योगधन्दा दर्ता गर्दा कानुन बमोजिमका प्रकृया पुर्याउन म गएको थिएँ । त्यतिबेला त्यति भव्य र सभ्य अफिस थियो त्यो । तत्कालिन अञ्चलाधीशले पनि रिस गर्थे यो घरेलु अफिस देखेर । त्यति लोभलाग्दो थियो घरेलु । आज हेर्नुस् त घरेलुको दूर्दशा ! त्यो दयनीय अवस्था । अस्ति यौटा कामले त्यही घरेलुमा पुग्दा जे दूर्दशा देखें, मै पनि तिरीमिरी झ्याईंमा परें । करिब एक अर्वको अचल सम्पत्ति ओगटेको बागलुङको मालिक अफिस हो त्यो । आज त्यो घरेलु अफिसका घरेलु हाकिमको कार्यकक्ष देखेर म त चकित परें । त्यतिसम्म बेहाल भएर पनि चल्दो रहेछ सरकारी कार्यालय प्रमुखको कोठा । त्यसरी पनि बस्न सक्दा रहेछन् कार्यालय प्रमुख ।
राजा महेन्द्रका पालाका सोफा । वीरेन्द्रका पालाका कुशन । राणाकालिन जस्ता लाग्ने कार्पेट । त्यसमाथी कुफत् परेको धूलो । भोटका मान्छेले जाडो महिनाभरी जीऊमा पानीको थोप्लो नपारी मयल थुप्रिएर मोटाएर कट्कटिएको हात जस्ता सोफाका बाहु । नछुनी भएका अल्छी महिलाका पेटिकोट जस्ता सोफाका खोल । आम्मै आम्मै..इइइ ! हरे शिव यो विजोग् ! हाकिमको यस्तो कोठा त यो संसारमा कहिं देखिए मरिजाम् । के देख्नु पर्यो यस्तो अचम्म ! अन्त हो र,आफ्नै आँगनी बागलुङमा !
यो भएर पो हाकिम सा’प कहिल्यै यो कोठामा नबस्ने रहेछन् । जतिबेला पनि सुत्नी कोठामा आराम गर्नी । हाकिम सा’पको टेबुलको नेमप्लेट भने जहिँको तहीँ । ओहो..! त्यो नेमप्लेटको अपहत्य । हाकिम सा’पको सशरिर कार्यकक्षमा नबसे पनि वहाँको नामको नेमप्लेट मज्जाले बसेको छ । त्याहाँको दूरावस्था देखेर कति रूँदो हो नेमप्लेट । कोठा बाहिर झुण्ड्याएको नेमप्लेटमा ‘भित्र–बाहिर’ हुनुपर्नेमा बाहिरको बाहिरै देखिन्छ । सेवाग्राहीले नेमप्लेटमा ‘भित्र’ देख्दै नदेख्ने के हो त्यो ? कोठा भित्रको बाताबरणले गर्दा यो नेमप्लेट पनि स्थीर बस्दो रहेछ ।
हाकिम बाहेक तीन जना कर्मचारीले पुरै अपिस धानेका । अर्जुन नेपाल,विश्व उपाध्या र एक महिला कर्मचारीले पुराना थोत्रा दराजबाट फाईल खोजीवरी फटाफट् काम गरे । हंसिला र मिजासिला थिए सबै । यि तीनैजना कर्मचारीलाई मैले चिन्दिन । तिनले पनि मलाई चिन्दैनन् । मेरो काम सरासर गरिदिए । तर रू. १०।– को हुलाक टिकट त किनेर दिनै पर्थ्यो दिएँ । रू. ४०।– को आधुनिक फाईल पनि सेवाग्राहीले बुझाउनु पर्ने भयो । यो कुरो भने मैले बुझिन । यसपछि काम सकियो । मात्रै, हाकिम सा’पको रातो मसिले मेरो प्रमाणपत्रमा हस्ताक्षर हुन पाएन । भेटेको भए वहाँ पनि सजिलै हुनुहुँदो हो । बस्दाबस्दा थाकें । सुत्नी कोठाबाट बाहिर आए पो ! पछि वहाँ मुनिका अधिकृतलाई सही गराएर फर्कें ।
अहिले बागलुङमा दर्जनौं सरकारी कार्यालयहरू छन् । तिमध्ये अधिकांश कार्यालयहरूका आफ्नै सरकारी भवन छन् । घरेलुको आफ्नै कार्यालय भवन हुँदा अधिकाँश कार्यालय भाडामा थिए । जिल्ला प्रशासन, अंचल प्रहरी, जिल्ला प्रहरी कार्यालय समेत भाडामा थिए । अहिले पनि कतिपयले एसपी चोक भनेर चिन्छन् बागलुङको धौलागिरी चोकलाई । यही चोकमा अंचल प्रहरी कार्यालय र सिडिओ कार्यालय रहेका थिए । यि कार्यालय भाडामा बसेका घर यद्दपी जस्ताको तस्तै छन् । तर आजसम्म त्यो घरेलुको शान उत्तिकै छ । अहिले बन्दै गरेका भन्दा ऊ बेला बनेको घरेलुको यो भवन अझै उत्कृष्ट छ । तर भित्र त्यो दूर्दशा छ ।
काम परे जाने, नपरे कुनै अफिस गैईदैंन । कमै जाने अफिस मध्येको हो यो घरेलु अफिस । तै,काम परेर अस्ति गएँ । काम नपरी कहीं पनि जान्न । अस्पताल, पुलिस र अदालतमा त जीवनमा कहिल्यै कामै नपरोस्, जानै नपरोस् यो मेरो आदर्श छ । तर समय र परिस्थितिका अगाडि आदर्श निहुरिंन पुग्छ नपुगी धरै छैन । हुन त हाकिम सा’पहरूसँग परिचय हुनु राम्रो नै हो । तर ‘परिचित’ हुन खासै आवश्यक छैन । परिचय नै काफि छ । सेवा दिने र सेवा लिनेको सम्बन्ध यतिभए पुग्छ । जे होस् कुरो घरेलु कै छ । हाकिमसंग भेटेको भए सुझावका केही कुरा गर्ने थिएं । परिचय हुँदो हो । त्यो भएन । उद्योगधन्दाका बारेमा एनजीओमा फलेका विदेशीहरू पनि त्यो अफिसमा पुग्दा हुन् । तिनले देखे के भन्लान् । त्यो कार्यकक्षमा कसरी फोटो खिच्लान् रकाठमाण्डौबाट विभागीय मान्छे आउँदा हुन्, के भन्लान् । अफिस घरेलुकै भएपनि बागलुङको पहिला नाम लिनेछन् । बागलुङको घरेलु भन्नेछन् । ईज्जत त बागलुङको जोडिन्छ । नभेटे पछि केही भन्नै पाईन । यतिदेखि सकेपछि सरकार पट्टि मेरो ध्यानाकर्षण भयो । सरकारले हरेक सरकारी कार्यालयका लागि सालबसाली मर्मत संभारका लागि बजेट विनियोजन गरेको हुन्छ । खर्च भएर जाने र नजाने जिन्सिका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको हुन्छ । कार्यालयको भवन तथा कोठा र भित्रबाहिर सजावट गर्दै दुरूस्त राख्न ति बजेट आएका हुन्छन् । घरेलु त प्रतिनिधि कार्यालय बनेर यहाँ उल्लेख हुन आयो । अन्य कार्यालयहरूमा पनि मर्मत संभारका लागि बार्षीक बजेट आउँछ । त्यो विनियोजित बजेट फ्रिज भएर फर्कन्छ कि कागजी मिलानमा सकिन्छ । अथवा जसो गरेपनि भत्के बिग्रेका कुराहरू त मर्मत गर्नु पर्छ । कतिपय कार्यालयका साईनबोर्ड अक्षर मेटिए पनि फेरिन्नन् । भवन बन्दा लगाईएको रंगरोगन खुईलिएर उडेपनि दोहोर्याएर रंगरोगन गरेको कम पाईन्छ । यि कामका लागि आएका बजेट सही ढङ्गले प्रयोग भए कार्यालयको भित्रि र बाहिरी स्वरूप र बाताबरण कति सुन्दर हुँदो हो । सुन्दर र स्वस्थ्य बाताबरणमा खेल्ने मान्छेमा श्रृजनशीलता बढ्छ । सकारात्मक सोंच पनि बढ्छ । हाकिम साहेबहरूको श्रृजनशीलता बढेमा जनतालाई पनि सहजता बढ्दो हो । जति फोहोरी बाताबरणमा हाकिमहरू रहन्छन् उती जनताले नानाथरी झञ्जट बेहोर्नु पर्ने हुन्छ । फोहोर मैलोमा रमाउनेहरूले जनतालाई चुस्तदुरूस्त सेवा दिन अल्छि हुन्छन् । अहिले एकछिनमा आउनोस्, भोली आउनोस् भन्ने मानसिकता बढ्छ । भरे बेलुकी फलानो होटल रेष्टुरेण्टमा भेटौं है भन्ने पनि मनमा आउन सक्छ । यसो हुनुको मुलकारण कार्यालय वरिपरिको फोहोरी बाताबरणकै परिणाम हो । त्यसकारण घरेलु अफिसका हाकिम सा’पको जस्तो अन्यत्र कुनै कार्यालयको अवस्था नभैदेओस् । कार्यालय वरिपरिको बाताबरण मनमोहक होस् । समयानुकुल फेरिएका सरकारी जनशक्तिको जस्तो उर्जा हरेक कार्यलयमा रहोस् । यो अवस्था देखेर तालुक अड्डाहरूले पनि पुग्दो बजेट विनियोजन गरिदिउन् । सबै कर्मचारीका कार्यकक्ष रमाईला बनुन् । जसले गर्दा जनताको कामगर्दा मुस्कान सहीतको सेवा पुर्याउन मद्दत पुगोस् । अहिलेलाई घरेलुका हाकिम सा’पको कोठा साँच्चै ‘निर्देशक’ को जस्तै कोठा बनोस् । धन्यवाद् !
Previous Articleस्थानीय तहको बजेटमा कन्जुसाई
Next Article पर्वतमा खानेपानी आयोजना अन्तिम चरणमा