बागलुङ, १९ जेठ – आजभन्दा १६ बर्षअघिको त्यो विभत्स मध्यरात दुःस्वप्न बनेर आजपनि नेपालीहरुलाई लखेटिरहन्छ। २०५८ साल जेठ १९ गतेको कालरात्री इतिहासमा विरलै आउने दिनहरुमध्येको एक हो। अभेद्य मानिएको नारायणहिटी दरबारभित्रै तत्कालिन राजा, रानी, युवराज, युवराज्ञी लगायत विशिष्ट व्यक्तिहरुलाई एक चिहान बनाइएको दिन। रहस्य नै रहस्यले भरिने दरबारभित्र आजसम्म नसुल्झिएको एउटा रहस्य बोकेर अट्टहास गरिरहेको कठोर दिन।
घटना श्रृङ्खला
रातको करिब पौनै नौ बजे। राजदरबारको प्रचलन अनुसार हरेक महिनाको तेश्रो शुक्रबार त्रिभुवन सदनमा पारिवारिक जमघट हुन्थ्यो। त्यसदिनको जमघटमा राजपरिवारका २४ जनालाई निम्त्याइएको थियो। निम्तालु मध्ये २१ जना दरबार आए, तीनजना आएनन्। प्रेक्षा, मोहनबहादुर शाही र विमला सिंह त्यसदिनको जमघटमा अनुपस्थित थिए। ज्ञानेन्द्र पोखरा भएकाले सहभागी भएनन्।
त्यसदिन साँढे सात बजेको जमघट अगावै दिपेन्द्र मातिसकेका थिए। उनले बिलियार्ड हलमा बसेर फेमस ग्राउज ह्वीस्की २ पेग लिएका थिए। नातेदारहरु आउने क्रम जारी थियो। कोमल, प्रेरणा, हिमानी र पारस ७ः४० बजे निर्मल निवासबाट नारायणहिटी आइपुगे। महेन्द्र मन्जिलमा बस्ने तत्कालिन मुमा बडामहारानी रत्नलाई लिन आठबजे दिपेन्द्र बिलियार्ड हलबाट बाहिर निस्के। आफैं मोटर चलाएर उनले रत्नलाई महेन्द्र मन्जिलबाट त्रिभुवन सदन ल्याइपु¥याए। रत्न बिलियार्ड हल नपस्ने भएकाले आडैको सानो बैठकमा बसिन्।
रत्नलाई लिएर फर्केपछि दीपेन्द्रले शाही पाश्ववर्ती गजेन्द्र बोहोरासंग चुरोट मागे। एडिसी बोहोराले अर्दली रामकृष्णमार्फत चुरोट मगाए। दीपेन्द्र चुरोटमा मात्र सन्तुष्ट नभएपछि पुनः बोहोराले ‘कालो पदार्थ’ मिसाइएको चुरोट मगाए। नशालु पदार्थ भरिएको चुरोट सेवन गरेकाले दीपेन्द्र उठ्न नसकेर बिलियार्ड हलमै ढले। ढलेका दीपेन्द्रलाई पारस, गोरख, निराजन र राजीवले उठाएर उनको खोपीमा पु¥याए। खोपीमा पुगेको केहिबेरमा दीपेन्द्रले बाथरुममा गएर बान्ता गरे। बान्ता गरिसकेपछि प्रेमिका देवयानी राणासंग १ मिनेट ३९ सेकेण्ड कुरा गरे। देवयानीलाई ‘गुड नाइट’ भनेर दीपेन्द्र बिलियार्ड हलमा जान उठे।दीपेन्द्रले आर्मीले लगाउने टाटेपाटे कम्ब्याट ड्रेस लगाए। खुट्टामा आर्मीकै बुट लगाए। साथमा दुइटा राइफल, बाह्र बोरको बन्दुक र ह्याण्डगन पनि बोके। युवराजको गेटअप देखेर अर्दली रामकृष्णलाई उनी बाहिर जान लागेजस्तो लाग्यो। दीपेन्द्रलाई रामकृष्णले सोधे,‘इमर्जेन्सी ब्याग टक्रयाउँ सरकार ?’
दीपेन्द्रले भने,‘अहिले पर्दैन।’ नौ बज्न केहि मिनेट बाँकी हुँदा उनी हातहतियारसहित विलियार्ड हल छिरे। राजा बीरेन्द्र भर्खरै आफ्नो कार्यालय मंगल सदनबाट जमघट स्थल त्रिभूवन सदन आइपुगेका थिए। राजाको आगमनपछि परिवारका सदस्यले उनको दर्शनभेट गर्दै थिए। अधिराजकुमार निराजनले बुवाका लागि कोक अर्डर गरे। स्न्याक्स सर्भ गरिरहेका वेटर बच्चुराम केसीले निराजनको आदेश अनुसार कोक वीरेन्द्रको हातमा थमाइदिएका थिए।
दीपेन्द्र सरासर वीरेन्द्रको छेउमा पुगे। पहिला उनले कोठाको सिलिङ र भित्तामा फायर गरे। त्यसपछि मेशीनगनबाट वीरेन्द्रलाई ताकेर फायर गरे। गोली वीरेन्द्रको पेटमा लाग्यो। त्यसपछि उनले राइफल सोझ्याएर कुमार गोरखशमशेर, कुमार खड्गविक्रम र धीरेन्द्रमाथि फायर गरे।
तेश्रोपटक श्रुती, शारदा, शान्ता र जयन्तीमाथि फायर गरे। यतिलाई फायर गरेर बगैंचामा पुगेका दीपेन्द्रलाई रानी ऐश्वर्य र अधिराजकुमार निराजनले पछ्याए। भाइ र आमा पछ्याउँदै आएको देखेर दीपेन्द्रले निराजनमाथि फायर गरे। गोलीले निराजन ठाउँको ठाउँ ढले। पहिलो फायर वीरेन्द्रमाथि गरेका दीपेन्द्रले अन्तिम फायर रानी ऐश्वर्यामाथि गरे। सानो पोखरीको पुलबाट उत्तर हुँदै मुख्यद्वारबाट भित्री भर्याङको सातौं खुड्किलामा उनले ऐश्वर्यालाई फायर गरेका थिए। दीपेन्द्रको फायरबाट ऐश्वर्याको गिदी उछिट्टियो र दाँत झरे। सबैलाई गोली हानेका दीपेन्द्रले अन्तिममा आफैंलाई गोली हाने।
वीरेन्द्र, ऐश्वर्या, निराजन, श्रुती, शान्ति, शारदा, जयन्ती र कुमार खड्गविक्रम घटनास्थलमै मारिए। दीपेन्द्र र धिरेन्द्रको तीन दिनपछि उपचारका क्रममा निधन भयो। घटनामा गोरखशमशेर, कोमल, शोभा र केतकी घाइते भए। (यो विवरण दरवार हत्यकाण्डबारे तत्कालिन सरकारले बनाएको जाँचवुझ समितिको प्रतिवेदनमा आधारित हो। )
यस्तो छ राजदरबार हत्याकाण्ड साँझको घटना श्रृङ्खला
Previous Articleनेता रिझाउन सिपालु शर्मा किन पक्राउ परे ?
Next Article शुभकामना आदानप्रदान कार्यक्रम