बागलुङ, १९ जेठ – आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि फेरि एक पटक कर फर्छ्यौटको विषय सतहमा आएको छ। आयोगले अकूत सम्पती जोडेको भन्दै यसअघि नै शंकाको घेरामा राखेका शर्मालाई शुक्रबार कर फर्छ्यौटबारे सोधपुछ गर्दागर्दै पक्राउ गरेको हो।
वाहलवाला प्रशासकका रुपमा विभिन्न कम्पनीलाई अर्बौं रुपैयाँ छुट दिएको भन्दै उनीबारे आयोगले अनुसन्धान गरिरहेको छ। यसमा ‘एनसेल लाभकर प्रकरण’देखि अख्तियारका पूर्वप्रमूख ‘लोकमान सिहं कार्की कनेक्सन’सम्मको परिधीमा राखेर शर्माबारे अनुसन्धान हुने आयोग स्रोतको भनाई छ। यद्यपी कतिपय जानकारहरुले भने, शर्मा पक्राउ प्रकरणलाई उल्टो उनलाई चोख्याउने अनुक्रममा रुपमा समेत हेरेका छन्।
एक हजारभन्दा बढि करदाता कम्पनीले सरकारलाई सरकारलाई बुझाउँछु भनेको कर नबुझाएपछि आयोग नै गठन गरेर यसको सुलहको अभ्यास भएको थियो। विभागको महानिर्देशक रहेका नाताले सो आयोगको सदस्य सचिव रहेका शर्माले सोही पदको गरीमाको खिल्ली उडाउँदै अधिकार र अर्थको अपचलन गरेको शंका अख्तियारको छ।
तर कम्पनीहरुले बुझाउनुपर्ने ३० अर्ब ५२ करोड ५८ लाखमध्ये २१ अर्ब रुपियाँ छुट दिनका लागि ‘नीतिगत भ्रष्टाचार’ भएको कुरा समेत सतहमा आइसकेको छ। ९ अर्ब ५४ करोड ६१ लाख रुपियाँ मात्र सरकारलाई तिर्नुपर्ने गरी आयोग र ती करदाताबीच गरिएको यस्तो सम्झौताको केन्द्रमा पनि यिनै शर्मा थिए।
आयोगले सबै विवरण त बाहिर ल्याएको त छैन, आयोगको सेरोफेरोमा अकुत सम्पत्ती कमाउने धन्दाहरु भएको हुनसक्ने र त्यसका पर्याप्त संकेतहरु भेटिएको अख्तियार स्रोतको भनाइ छ। व्यवासयी पोस्ने मतियारका रुपमा नभइ शर्माले पदीय अधिकारभन्दा बाहिर पुगेर राजनीतिक वृत्तमा समेत चलखेल गरेको हुनसक्ने बताइएको छ। अख्तियारले उनी लगायत अरु केही पहुँचवाला सरकारी अधिकारीहरुको बैंक लकर रोक्का गरिसकेको छ।
कर प्रशासनवृत्तमा आकर्षक ठानिने आन्तरिक राजस्व विभागको महानिर्देशकमा चुडामणी शर्मालाई सो स्थानमा सुशिल कोइराला प्रधानमन्त्री हुँदाको सरकारले लगेको थियो। रमाइलो के छ भने, ०७० साल यताका कुनै पनि अर्थमन्त्रीले उनलाई राजस्व विभागबाट सरुवा गर्न चाहेनन् या सकेनन्। केपी ओली प्रधानमन्त्री हुँदा रहेका अर्थमन्त्री विष्णु पौडेलसँग त उनको अझै गाढा सम्बन्ध रहेको प्रतिक्रिया राज्वस्वकै कर्मचारीहरुले दिन्छन्। यता, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले पनि विवादित शर्मालाई कर्के आँखाले हेर्न सकेनन्। भनिन्छ, शर्माको नेता रिझाउने विशेषताकै कारण उनी राजस्वमा हालिमुहाली गरिरहन पाए।
Previous Article१९ जेठ २०७४, ढोरपाटन दैनिक
Next Article यस्तो छ राजदरबार हत्याकाण्ड साँझको घटना श्रृङ्खला