काठमाडौं, १६ जेठ – सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति केहीदिन पछि सार्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचन राष्ट्रिय जनता दल नेपाललाई निर्वाचनमा सहभागी गराउन भन्दै असार ९ गते गर्ने निर्णय गरेको थियो। तर, असार ९ गते मुस्लिम धर्मावलम्बीहरुको महान चाड रमजानको अन्तिम शुक्रबार पर्ने भएकाले सरकारले पुनः निर्वाचनको मिति केहीदिन पछि फेरि सार्ने भएको हो।
निर्वाचनको मिति सार्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफलसमेत गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले असार ९ गते मुस्लिम धर्मावलम्बीहरुको चाड पर्ने भएकाले रमजानपछि निर्वाचन गराउने गरी सरकारले निर्वाचनको मिति सार्नु पर्ने बाध्यता भएको जानकारी निर्वाचन आयोगका पदाधिकारीलाई गराएका थिए।
प्रधानमन्त्री प्रचण्डले मुस्लिमहरुको चाड र राजनीतिक वातावरण निर्माणका लागि असार ९ गते का लागि तोकिएको निर्वाचन केही दिन पछाडि सार्नु पर्ने बताएको निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए शर्माका अनुसार असार ९ को निर्वाचन अब मुस्लिम धर्मालम्बीहरुको चाड रमजान सकिएपछि मात्रै हुनेछ।
गृहमन्त्री विमलेन्द्र निधिनिकट स्रोतका अनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति असार १४ गतेका लागि सारिने पक्का भएको छ। प्रधानमन्त्री दाहालसँग मंगलबार साँझ भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेका लागि निर्वाचनको मिति तय गर्न सुझाव दिएका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले असार १४ गतेका लागि निर्वाचनको मिति सार्ने छ।
यसअघि मंगलबार विभिन्न मुस्लिम संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी असार ९ गते रमजानको अन्तिम शुक्रबार पर्ने र १३ गते रमजानको अन्तिम दिन पर्ने भएकाले निर्वाचनको मिति केही दिन सार्न माग गरेका थिए।
असार ९ को चुनाव पनि अनिश्चित, १४ लाई प्रस्ताव
Previous Articleबागलुङमा जिल्ला लिग फुटबल हुँदै
Next Article स्थानीय तहको न्याय अब महिलाका हातमा