बागलुङ, १९ भदौ – आज हिन्दू महिलाहरुको महान पर्व मानिने हरितालिका तीज, नेपाली हिन्दू महिलाहरुले उल्सासका साथ मनाउँदैछन् । बिहानैदेखि देशभरकिा शिवालयहरुमा महिलाहरुको भीड लागेको छ ।
निराहार ब्रत बसेर नाचगान गर्दै रमाइलोका साथ महिलाहरुले तीज पर्व मनाइरहेका छन् । हिन्दु नारीको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दु नारी निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन् ।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नपिई निर्जल वा निराहार बस्ने व्रत भएकाले हिजो साँझ नाची–गाई रमाइलो गरी दरका रूपमा मीठा–मीठा परिकार खाने चलन पनि छ ।
नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाका धार्मिकस्थलमा महिलाको सौभाग्यका सामग्रीको किनबेच गर्ने चलन रहेकोे छ ।
हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफलभएको हुनाले तीजको व्रतको महत्व बढेको हो । हिजोआज कतैकतै दर खाने र उपहार दिने प्रथालाई पनि सामाजिक प्रतिष्ठाका रूपमा लिएर तीज भड्किलो बन्दै गएको छ ।