बागलुङ, १६ जेठ – हालै सम्पन्न स्थानीय तह निर्वाचनमा तमानखोला गाउँपालिकाको प्रमुखमा निर्वाचित भएपछि अध्यक्ष जोकलाल बुढाले आफ्नो पारिश्रमिकको ५ प्रतिशत रकमबाट शुरु गरेर तमानखोला विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् । सोमबार भएको पदभार ग्रहण पछि बोल्दै बुढाले उक्त रकमबाट दलित र सिमान्तकृतको विकासका लागि उक्त रकम खर्चगर्ने बताए । पदभार ग्रहणपछि बसेको बैठकले तमानखोलाका सबै वडा कार्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तरमा अगाडि बढ्ने निर्णय गरेको हो । साथै बालशिक्षा देखि १२ कक्षा सम्मका बालबालिकाको शिक्षामा विशेष ध्यान दिएर परिक्षाफल सुधार गर्नका लािग आवस्यक काम थाल्ने निर्णय भएको बुढाले जानकारी दिए । त्यस्तै गाउँपालिकाको पूर्वाधार निर्माणको बारेमा पनि छलफल भएको उनले बताए । उक्त अवसरमा निर्वाचन अधिृकत सुवास लामिछानेले पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । गत बैसाख ३१ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा जोकलाल बुढा, उपाध्यक्षमा मानसरी शेरचन निर्वाचित भएका थिए । त्यस्तै वडा नं. १ मा थमबहादुर रोका, वडा नं. २ मा मिनबहादुर घर्ती, वडा नं. ३ म ागिरबहादुर घर्ती, वडा नं. ४ मा उदिम छन्त्याल, वडा नं. ५ मा हिराबहादुर श्रीपाली र वडा नं. ६ मा कुलबहादुर छन्त्याल बिजयी भएका थिए । कार्यकारी गाउँपालिकाका कार्यकारी अधिृकृत खिमबहादुर बिकको अध्यक्षता, लेखापाल यामबहादुर थापाको संचालनमा सम्पन्न कार्यक्रममा निर्वाचितहरुले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता पनि जनाएका थिए । निर्वाचित भएका बुढाले तमानखोला गाउँपालिकामा तत्कालका लागि इन्टरनेट सेवा विस्तारका लागि टेलिकममा आग्रह गर्ने, बुंगादोभान स्थित गाउँपालिका भवन सम्म बर्षातमा पनि सहज यात्रा गर्न सकिने गरी मोटरबाटो स्तरउन्नती गर्ने र सबै वडामा सडक संजाल निर्माण गर्ने दिर्घकालिन योजना अगाडि सारेको बताए । ती आयोजनाका लागि आवस्यक बजेटको व्यवस्थापनको तयारी भएको र जुटेपछि निर्णय गरेर काम थाल्ने पनि बताए ।