गणतन्त्र दिवसको पुर्वसन्ध्यामा भरतपुरमा मध्यरातमा गणना चलिरहेकै बेला मतपत्र च्यात्ने काम भएको छ । मतपत्र च्यात्ने क्रममा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ता बीच झडप समेत भएको छ । झडपले उग्र रुप लिन थालेपछि प्रहरीले लाठी समेत प्रहार गर्न बाध्य भयो । मत गणना चलिरहेका बेला माओवादीका कार्यकर्ताले जुन मत च्यात्ने काम गरेका छन् त्यसले लोकतन्त्रको चिरहरण गर्ने काम गरेका छन् । मतपत्र च्यात्ने वाईसिएल कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मतपत्र च्यातेको विषयलाई लिएर माओवादी केन्द्र, नेपाली कांग्रस र नेकपा एमालेबीच एकअर्कालाई आरोप लगाउने काम भएको छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्र्ने होभने निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन जरुरी छ । भरतपुर घटनाले गणतन्त्र र लोकतन्त्रको धज्जी उडाएको छ ।
मतपत्र च्यात्नु समान्य घटना होइन । आफ्ना कार्यकर्तालाई मतपत्र च्यात्न लगाएर माओवादीले गल्ती गरेको छ । यस्तो प्रवृत्ति असभ्यताको पराकाष्टा हो । जुन निन्दनीय छ ।
माओवादी र कांग्रेसबीच गरिएको अप्राकृतिक ढंगले गरिएकै गठबन्धन पनि अन्तिम मतपरिणाम आउँदै गर्दा रेणु दाहालका कार्यकर्ताले मतपत्र च्यातेका छन् । १२ वर्षे सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले पुरानै धङधङी छाडेको छैन भन्ने उदाहरण भरतपुर घटनाले देखाएको छ । चुनावमा हारजित स्वीकार्नु पर्छ तर, माओवादीले शान्तिपुर्ण तरिकाले चलिरहेको मत गणनाबाट आत्तिएर उग्र व्यवहार उत्रनु अलोकतान्त्रिक चरित्र प्रस्तुत गर्नु हो । रेणुले हार स्वीकार्न नसक्नु उनको ठूलो कमजोरी हो । यसले उनको राजनीतिक भविश्यलाई समेत अन्धकारमा धकेलिदिएको छ । माओवादीका कार्यकर्ताले देखाएको असुन्दर हर्कत लोकतन्त्रको विरुप संस्कार हो । मतगणनाको विषयमा असहम भएको भए निर्वाचन आयोगमा उजुरी गर्न सकिन्थ्यो ।
माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरमा मतगणना नै रोकिएको छ । २० वर्षपछि जनताले आफ्ना नेता चुन्ने अवसर पाएका थिए । त्यसको व्यग्र प्रतिक्षामा बसेका थिए तर, मतपत्र च्यातेपछि अब के हुने भन्ने अन्यौल छाएको छ । माओवादी र कांग्रेस गठबन्धनले पुन मतदान हुनुपर्ने माग गरेको छभने नेकपा एमाले पुनः मतदान नभई मतगणना गर्नुपर्ने माग अघि सारेको छ । निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । यो समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिनेछ । मध्यरातमा मतपत्र च्यातिएपछि निर्वाचन अधिकृतले मतगणना रोकेर मतपत्र च्यातेको रिपोर्ट केन्द्रमा पठाएका छन् । छानवीन समितिमा सहमहान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको नेतृत्वको समितिमा गृह मन्त्रालयका प्रतिनिधि र नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक रहनेछन् ।
समितिले निष्पक्ष रुपमा छानविन गरेर सत्य कुरा बाहिर ल्याउनु पर्छ । कानुनी सहायता लिएर भरतपुरमा माओवादीले पुन मतदान गराउने नियत माओवादीको देखिन्छ । त्यसैले छानवीन समितिले यथार्थ कुरा बाहिर ल्याउनु पर्छ । जुन विवादमा नपरोस् ।
Previous Articleबागलुङ नगरपालिकाको अबको प्राथमिकता
Next Article पारिश्रमिकबाट गाउँ विकास कोष स्थापना