बागलुङ, १५ जेठ – जिल्ला पेफा कार्यान्वयन ईकाईको आयोजनामा जिल्लाका सबै सरकारी कार्यालयका आर्थिक प्रशासन हेर्ने कर्मचारीका लागि एक दिने अभिमूखिकरण सम्पन्न भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङ र जिल्ला पेफा कार्यान्वयन ईकाईको आयोजनामा सम्पन्न कार्यक्रममा सबै कार्यालय र कर्मचारीले आर्थिक नियमावली बारे सामान्य चासो र जानकारी राख्नुपर्ने, आर्थिक पारदर्शीतालाई जोड दिनुपर्ने लगायतको सुझाव समेत दिइएको थियो । उक्त अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले संघिय संरचनामा जाँदा पनि वित्तिय क्षेत्र पारदर्शी र उत्तरदायी बन्नुपर्ने धारणा राखे । उनले जनताको भावनालाई बुझेर काम गर्न सबै कार्यालयका लेखा अधिकृत तथा लेखापाललाई निर्देशन पनि दिए । कार्यक्रममा प्रमुख कोष नियन्त्रक ईकाईका संयोजक रामजीप्रसाद शर्माले खर्चको पारदर्शीता बनाउन सबै कार्यालयले सरकारी श्रेस्ता चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिए । करदाता सेवा कार्यालयका निमित्त प्रमुख राजेन्द्र परियारले अग्रिम भुक्तानीमा पनि राज्यले तोकेको १ दशमलव ५ प्रतिशत आयकर भुक्तानीको अवसरमा अनिवार्य काट्नुपर्ने सुझाव दिए । सो कार्यक्रममै आयकर गणना सम्बन्धी जानकारी समेत दिइएको थियो । जिल्ला पेफा कार्यान्वयन ईकाईका संयोजक रामजीप्रसाद शर्माको अध्यक्षता, कोष नियन्त्रक मर्कण्डेय बरालको संचालनमा सम्पन्न कार्यक्रममा सबै कार्यालयका लेखा अधिकृत तथा लेखापालहरुले आफ्नो कार्यालयको हाल सम्मको खर्चको अवस्था र पारदर्शीताका लागि गरेका क्रियाकलाप बारे जानकारी गराएका थिए । उक्त अवसरमा लेखा समाज बागलुङका अध्यक्ष तथा लेखा अधिकृत कृष्णप्रसाद आचार्य लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पेफा सचिवालय काठमाण्डौबाट आएका प्रशिक्षक दिपक ज्ञवालीले पेफा सचिवालयको स्थापना, यसको विस्तार र उद्धेश्यबारेमा सहजीकरण गरेका थिए ।