राजेशचन्द्र रा.भ.
बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनकराज पौडेलले बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा अब बागलुङ जिल्लाको साँच्चिकै विकास गर्ने होभने अब गफ चुटेर नहुने भनी खरो धारणा राखे । जसलाई बागलुङ नगरबासीले सकारात्मक रूपमा लिएका छन् । हो साँच्चै अहिले नगर प्रमुखले भन्नू भए जस्तो बागलुङ नगरपालिकामा गफ चुट्ने काम धेरै भए तर काम भने हुन नसकेको कुरालाई हामीले स्विकार्न सक्नुपर्छ ।
अहिले पनि हामीले सधैं–सधैं निरासको कुरा मात्र गर्दछौं । कहिले पनि आशाबादी हुन सकेनौं । नगर प्रमुख पौडेल लगायतको टोली लाई बागलुङ उद्योग बाणिज्य संघले बधाई तथा शुभकामना दिने क्रममा बागलुङको पर्यटन भित्राउन नसकेको, कालिगण्डकी कोरीडोर बागलुङ सदरमुकाम भएर जानुपर्ने कुरा, बागलुङको सर्बसिद्धिधाम पञ्चकोटको विकासदेखि नगरका समस्याबारे सरोकारवालाले आ–आफ्नो धारणा राखेपछि बागलुङ नगरपालिकालाई राम्रोसँग बुझेका र लामो समयदेखि बामपन्थी राजनीति गर्दै आउनु भएका पौडेलले बधाई तथा स्वागत कार्यक्रममा चिल्लो कुरा नगरीकन अलि खरो रूपमा प्रस्तुत हुनुभयो ।
हुनतः हामीलाई चिप्लो कुरा मन पर्ने, जे पनि गरिदिन्छु जस्तो भन्ने जुन चलन छ । त्यसले गर्दा पनि हो । अहिले निर्वाचित भएका पौडेल बागलुङ नगरपालिकाको पहिलो बैठकमा नगरपालिकाले आयोजना गर्ने कुनै पनि सभा समारोहमा मदिराको प्रयोग नगर्ने, बागलुङ नगरपालिका भित्र काम गर्ने मजदुरको २ लाख रूपैयाँ सम्मको दुर्घटना बिमा नगरपालिकाले गरिदिने, बागलुङ नगरपालिका भित्र ई–रिक्सा संचालन गर्ने निर्णय भए त्यो सान्र्दभिक छन् ।
पहिलो नगरपालिकाले गर्ने कार्यक्रममा मदिराको प्रयोग नगर्ने जुन निर्णय भयो त्यसबाट धेरै कुराको फाइदा हुनेछ । एक त सबै नगरबासी मात्रै होइन देशभरि नै यसले राम्रो सन्देश दिने छ । अरूलाई पनि प्रेरणा हुनेछ । दोस्रो दैनिक रूपमा कामकाज गरेर खाने मजदुर बर्ग जसले काम गर्छ तर काम गर्ने क्रममा जीबन तलमाथि भयोभने उसले कहिले कतैबाट क्षतिपूर्ति पाउदैन त्यस्तो काम गरेर खाने मजदुरको लागि २ लाख सम्मको दुर्घटना बिमा नगरपालिकाको सकारात्मक काम मध्येमा पर्छ । हुनतः हाम्रो बागलुङ जिल्लामा मजदुरको हकहितमा काम गर्ने भनी एक दर्जन भन्दा बढी संघ संस्था खुलेका छन् । सबै संगठनले मजदुरको हकहितको नारा फलाक्ने गर्छन् तर कसैले पनि अहिलेसम्म एक रूपैयाँको पनि मजदुरको बिमा गर्नेबारे न त सोचेका छन् न त केही गर्नुपर्छ भन्ने नीति नै बनाएका छन् । यस्तो समयमा नगरपालिकाले गरेको यो पनि सकारात्मक कामको थालनी हो भन्ने कुरामा कसैको दुई मत हुने छैन ।
बागलुङ नगर क्षेत्रमा केही समयअघि भित्राइएको ई–रिक्सा बागलुङ नगरबासीको लागि सजिलो सवारी साधन मानेका थिए । जसले सबैभन्दा बढी जेष्ठ नागरिक र महिला दिदीबहिनीलाई सजिलो भएको थियो तर यहाँ हुने सबैखाले चलखेल कै कारण यसलाई बन्द गर्ने काम भएको थियो । जसलाई फेरि सम्मानित पुनराबेदन अदालतले ई–रिक्सा संचालन गर्न नरोक्नु भन्ने आदेश हुँदा पनि प्रहरी प्रशासन, ट्राफिक प्रहरीले चल्न नदिएको बिषयमा समेत अब बागलुङ नगरपालिका भित्र सुचारू रूपमा ई–रिक्सा चलाउने कुरा पनि सकारात्मक कामको थालनी मान्न सकिन्छ ।
देशमा अहिले २० बर्ष पछि स्थानीय तहको निर्वाचन भएको छ । ढिलो गरि भएपनि जनताले आफ्नो गाउँ घरमा जनप्रतिनिधि पाएका छन् । अहिले बागलुङ नगरपालिका हिजो जस्तो सानो अबश्य हैन बृहत हुन पुगेको छ । जनताको इच्छा आकांक्षा धेरै छन्, गर्नुपर्ने कामकाज धेरै छन् तर नगरपालिकासंग स्रोत साधन भने कम भएको कारणले तत्काल सबै चाहना पूरा गर्न गाह्रो छ । तर पनि बागलुङ नगरपालिकाको १४ वटा वडामै बिकास गर्न भने जरुरी छ । बागलुङ नगरबासीले जहिल्यै पनि बागलुङ पछि परेको, यहाँ पर्यटन भित्रिन नसकेको कुरा पटक–पटक उठाइरहेको समयमा अब बागलुङमा साँच्चिकै बिकास गर्ने होभने सधैं–सधैं निरासाको कुरा र गफ चुटेर हुँदैन अब यहीँ लगानी गर्नुपर्ने हामी बागलुङ जिल्लाको बिकास भएन भनी गुनासो गर्दछौं तर लगानी अन्य जिल्लामा गर्दछौं आफ्नो ठाउँमा लगानी पनि नगर्ने खाली मञ्चमा भाषण गरेर केही हुनेवाला छैन । सत्य कुरा हो बागलुङ नगरपालिकाको पञ्चकोटमा धार्मिक पर्यटन भित्राउने भनिएको छ तर त्यहाँसम्म पुग्ने पर्यटकले एक कप चिया खाने होटल छैन भनी नगर प्रमुख पौडेलले गुनासो गर्दै होटल ब्यबसायीहरूलाई त्यहाँ सुबिधा सम्पन्न होटल खोलेर पर्यटन बस्ने बाताबरण बनाउन सुझाव दिनुभएको थियोे । जुन सान्दर्भिक पनि थियो ।
बागलुङ नगरपालिका भित्र के–के गर्न सकिन्छ, के–के काम गर्ने भन्नेबारे योजनाबद्ध रूपमा कार्यक्रम लिएर आउनु नगरपालिकाले सबै खालको सहयोग गर्न तयार भएको भनाईबाट पनि अब भने नगरको लागि केही न केही अबश्य हुने बिश्वास गर्न सकिन्छ । बागलुङ नगरपालिका भित्र अहिले सबैभन्दा पहिलो काम भनेको घर तथा भबन बनाउने क्रममा देखिएको नक्सा र मापदण्ड बिबादास्पद देखिएको छ त्यसलाई समाधान गर्न जरुरी छ ।
बागलुङ नगरपालिका भित्र ब्यबस्थित सुबिधाजन्य बसपार्क बनाउन भनी बागलुङ नगरपालिका वडा नम्बर ४ का जनताले दिएको निःशुल्क १८ रोपनी जग्गामा बसपार्क बनाउने कुरा बजारभित्र मनपरि ढंगले सवारी साधन संचालन हुदै आएका छन् । त्यसलाई नियन्त्रण गर्नेतर्फ कसैले पनि ध्यान दिएको देखिएको छैन । त्यसलाई पनि बागलुङ नगरको सडकको अबस्था हेरेर मात्र भित्रीन दिन जरुरी छ । नगरभित्र सतह ढल निर्माण गरिएको छ तर त्यसलाई सरसफाइ गर्ने बारे नगरपालिकाले कहिले पनि ध्यान नदिएको आमनगरबासीको गुनासो छ । जसले गर्दा आकासबाट पानी परेको समयमा सडक जलमग्न हुन्छ यसलाई पनि कसरी ब्यबस्थापन गर्ने भन्नेबारे सोच्न जरुरी छ । जनताले घर बनाउन नगरपालिका कै ईन्जिनियरसंग घरको नक्सा बनाउनुपर्ने नत्र भने त्यो घर नगरपालिकाबाट नक्सापास गर्न गाह्रो मात्र हैन महाभारत नै हुने गरेको गुनासो अब आउन दिनु हुँदैन ।
बागलुङ नगरपालिकामा निर्वाचित उप–प्रमुख सुरेन्द्रबहादुर खड्का पनि बागलुङ नगरपालिकामा हिजोका दिनमा वडाअध्यक्ष हुँदै जिल्ला बिकास समितिमा सभापति भै सक्नु भएका एक जोशजाँगर भएका युवा भएको नाताले पनि बागलुङ नगरबासी उत्साहित छन् । उपप्रमुख खड्का पनि जनभावना अनुसार आफुले नगरको बिकास गर्ने कसम खानुभएको छ । साँच्चै तनमनदेखि सबैले आफ्नो क्षेत्रको बिकास गर्ने सकारात्मक सोचका साथ अगाडि बढ्ने होभने केही समस्या देखिदैन ।
बागलुङ नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुखले निर्वाचनको समयमा जुन घोषणापत्र निकाल्नु भएको छ त्यो भबिष्यका दिनमा अबश्य क्रमिक रूपमा पुरा हँुदै जानेछ । बागलुङ नगरबासीले पनि जनप्रतिनिधिलाई राम्रो काम गर्दा स्वागत र बाटो बिराएमा खबरदारी गर्न जरुरी छ । अहिले पनि बागलुङ नगरपालिकाको बारेमा नगरबासीमा नकारात्मक धारणा छ । त्यसलाई चिर्न जरुरी छ । अहिले देशमा भुकम्प गएपछि भुकम्प प्रतिरोधात्मक भबन तथा घर बनाउँदा माटो परिक्षण गर्नुपर्ने नाममा एउटै ब्यक्तिबाट ५० हजारसम्म असुल गरेको गुनासो पनि बाहिर आइरहेको छ । यस्तो खालको बिकृति र बिसंगतिलाई पनि जनप्रतिनिधिले रोक्न जरुरी छ । हामी सकारात्मक भए नकारात्मक केही पनि नदेख्ने नकारात्मक भए सकारात्मक नै नदेख्ने चश्मा पनि हटाउन जरुरी छ । अब सिंहदरबार गाउँ गाउँमा भन्ने नारालाई सबैले सहयोग गरे मात्र पूरा हुनेछ ।
Previous Articleमहिला फुटबलको संभावना
Next Article प्रमुखद्वारा विद्यालयमा ५ लाख सहयोग