म्याग्दी, १४ जेठ – नागरिक समाज जलजला पर्वतको आयोजनामा शनिबार मिलनचोकमा बधाई एवं अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकाल सफलताको बधाई दिनुका साथै अभिनन्दन गरिएको हो । अभिनन्दन ग्रहणपछि बोल्दै नवनिर्वाचित प्रतिनिधिहरुले गाउँपालिकाको केन्द्र उपयुक्त ठाउँमा सञ्चालन गरिने बताएका छन् । उनीहरुले १५ वर्षपछि स्थानीय तहमा पहिलोपटक जनप्रतिनिधिहरु चुनिएको भन्दै जलजला गाउँपालिकाको ९ वटै वडाका जनतालाई पायक पर्नेगरी केन्द्र स्थापना गरिने र जनताको पक्षमा काम गर्ने बताए । कार्यक्रममा जलजला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकृष्ण मल्लले गाउँपालिकाको केन्द्र निर्वाचित जनप्रतिनिधिहरु सबैको सहमतिमा सबैलाई सहज हुनेगरी निर्धारण गरिने बताए । उनले निर्वाचित प्रतिनिधिहरु सबैको साझा भएको हुँदा केन्द्र स्थापनासँगै आम जलजलावासीको समस्यालाई प्राथमिकता दिइने भन्दै समग्र गाउँपालिका क्षेत्रको विकासमा आफुहरु केन्द्रीत हुने प्रतिबद्धता जनाएका छन् । सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महाधिवेशन प्रतिनिधि रुद्रलाल उपाध्याय र नेकपा माओवादी केन्द्रका दुर्गा दर्जीले विगत लामो समयपछि स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिएको बताउँदै ग्रामीण क्षेत्रको विकासमा केन्द्रीत भएर लाग्नुपर्नेमा जोड दिएका थिए । अधिवक्ता हरिनारायण रेग्मीले स्थानीय तहको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जलजला–१ का वडाध्यक्ष तुल्सीराम रेग्मी, ३ नम्बरका देवेन्द्र भण्डारी, ४ का श्रीराम मल्ल, ७ का तुङ्गनाथ आचार्य, ९ का गौबहादुर पुन, स्थानीय लक्ष्मी हमाल, लेखनाथ रेग्मी र सोमबहादुर जिसीले आ–आफ्नो धारणा राखेका थिए । नागरिक समाजका संयोजक जमुना आचार्यको अध्यक्षता, सहसंयोजक ज्ञानेश्वर आचार्यको स्वागत र लुङ्दी–जलजला बहुउद्देश्यीय सहकारी संस्थाका सचिव दामोदर पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका प्रतिनिधिहरुले नवनिर्वाचित जनप्रतिधिहरुलाई दोसल्ला ओढाई, खादा, माला र अरिब लगाएर भव्य स्वागत गरेका थिए । यसअघि गत बैशाख २२ नागरिक समाजको भेलामा गाउँपालिकाको विभिन्न पदमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्रका उम्मेदवारले ‘म र मेरो पार्टी’ विजयी भएमा सबैलाई पायक पर्ने ठाउँमा गाउँपालिकाको केन्द्र निर्धारण गरिने भनी लिखित रुपमा प्रतिबद्धता जाहेर गरे ।