बागलुङ, १२ जेठ – बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनक पौडेलले बागलुङ नगरलाई सुन्दर तथा सम्बृद्धिको लागि अब धेरै व्याख्या गरेर भन्दा पनि काम गरेर देखाउने बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघ बागलुङले बिहीबार आयोजना गरेको बागलुङ नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पौडेलले सुन्दर नगरको लागि सवैले धेरै व्याख्या गरिसकेको बताउँदै अब त्यसलाई कार्यान्वयन गरेर देखाउने बेला आएको बताएका हुन । मेयर पौडेलले सधै बागलुङ नगरपालिका भित्र धेरै पर्यटकीय क्षेत्रहरु छन्भन्नुभन्दा पनि नगरलाई पर्यटकीय गन्तव्य बनाउनको लागि बागलुङ उद्योग वाणिज्य संघले पर्यटकहरुको लागि उत्कृष्ट होटलहरुको स्थापना गर्नुपर्ने बताएका छन् । पौडेलले अहिले एक वडा एक उत्पादन लाई प्राथमिकता दिएर बागलुङको उत्पादन के हो भन्ने बारे जानकारी गराईने बताए । हामी धेरै निर्यातकर्ता भयौं मेयर पौडेलले भने– ‘अब त्यसको अन्त्यको लागि सवैले केहीन केही उत्पादन तर्फ लागौं ।’ आफुहरुले धार्मिक पर्यटनको बिकासको लागि बागलुङको कालिका भगवती मन्दिर देखि पञ्चकोट सम्म सहजरूपमा धार्मिक पर्यटन लैजान नगरपालिकाले भुमिका खेल्ने पौडेलले बताए । पौडेलले पञ्चकोटमा होटल स्थापना गर्ने र कालिका देखि पञ्चकोटसम्म यातायात संचालन गर्नको लागि नगरपालिकाले गर्नुपर्ने सेवाहरु गरिदिने बताउँदै त्यसको लागि उद्योग वाणिज्य संघले होटल स्थापना र यातायात संचालन गर्नको लागि आग्रह गरेका छन् । यस्तै उपमेयर सुरेन्द्र खड्काले कालीगण्डकी कोरिडोरलाई बागलुङबाटै जोमसोमसम्म लैजानको लागि नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताएका छन् । उनले आफुहरुले निर्वाचन अगाडी मतदातासँग मतमाग्न जाँदा नगरपालिकाको सडकहरुको दुरदशादेखेको बताउँदै त्यसको सहि व्यवस्थापनको लागि स्तरोउन्ती गरिने बताएका छन् । उपमेयर खड्काले बलेवा विमानस्थलमा ३ वर्षसम्म सुचारु गराउने, बागलुङ नगरमा नगरबस संचालन गर्ने लगायतका चुनावी घोषणापत्रमा समावेश गरीएका सवै घोषणाहरुलाई कार्यान्वयन गरिने बताए । कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघले नगर प्रमुख जनकराज पौडेल उप प्रमुख सुरेन्द्र बहादुर खड्का र १४ जना वडा अध्यक्षहरूलाई फूलमाला खादा र अबिर लगाएर संघका अध्यक्ष जयराम भारीले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश नम्बर ४ का केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बागलुङ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष शैलेन्द्र कुुमार श्रेष्ठ होटल ब्यबसायी संघका जिल्ला अध्यक्ष निलेश राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी र संचालन महासचिव दयाराम पौडेलले गरेका थिए ।
ई–रेक्सा संचालन गछौं– मेयर पौडेल
बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनक पौडेलले मजदुर किसान वर्गको दैनिकीसँग प्रत्यक्ष जोडिएको इरेक्सा व्यवसायलाई तत्काल संचालन गर्ने बताएका छन् । भीमापोखरा युवा क्लब (विवाईसी) बागलुङले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रममा बोल्दै मेयर पौडेलले जनउत्तरदायि काम गर्नको लागि नीति नियममा अडिग रहि जनप्रतिनिधिहरुले जोखिम मोल्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै पौडेलले बागलुङ नगरपालिकाको खानेपानी व्यवस्थापनलाई सुधार गर्नको लागि छिमेकी काँठेखोला गाउँपालिकासँग समन्वय गर्ने पनि बताएका थिए । कार्यक्रममा बौल्दै काँठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले जनताको चाहना अनुसार आफ्नो ५ वर्षे कार्यकाललाई समृद्ध गाउँपालिका र सुखि गाउँबासी निर्माणमा लाग्ने बताएका छन् । कार्यक्रममा विवाईसी बागलुङका सल्लाहकार टिकाराम सापकोटा, नेकपा एमालेको जलस्रोत तथा उर्जा विभागका सदस्य हिरा केसी, विसाईसीका सल्लाहकार डिल्लीराज गौतम र काँठेखोला गाउँपालिका वडा नम्बर ८ की वडा अध्यक्ष चित्रकला छन्त्यालले मन्तव्य व्यक्त गरेकी थिइन । विवाईसी
बागलुङका कार्यवहाक अध्यक्ष मनिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत कोषाध्यक्ष दिपक गौतम र
संचालन सचिव तोयानाथ
गौतमले गरेका थिए ।