शिवशरण ज्ञवाली
बाबाका दैलो मुनि ठूलो रुख बडर
धेरै छोरी छन् भने हेला नगर
धेरै छोरी भएपनि आफ्नै घर जाने हो
पराईको मुख हेरी भित्र पस्ने हो
नेपाली समाजमा छोरीमाथि हुने विभेदको स्वरुप परिवर्तन भएको छ । जन्मिएका छोराछोरीमा हुने विभेद कम भएको छ । छोरा होस् या छोरी दुवैले पढ्ने स्कुल एउटै हुन थालेको छ । तर परिवारमा हिंसात्मक विभेद इतिहासमा छोरा र छोरीका बीचमा गरिएन तर आज आएर छोरीलाई जन्मनै नदिने प्रवृत्ति कथित शहरिया र बौद्धिक जमातमा बढ्दो छ । गर्भपतनले हामी पनि समाजमा लज्जित हुने अवस्थामा पुगेका छौं ।
तिज एउटा त्यस्तो संस्कृति हो, जसले महिला अधिकारका पक्षमा इतिहासदेखि एउटा बहस पैरवी सिर्जना गरिरहेको थियो र आज पनि छ । त्यस्तो बहस पैरवी सिर्जना गर्ने माध्यम बनेको थियो, तिज गीत । त्यसो त हाम्रा सबैजसो चाडपर्वहरु सांगीतिक छन् । दसैमा मालश्री गाउनु तथा तिहारमा देउसी भैलो गाउनु यस्तै उदाहरण हुन् । नेपाली चाडपर्वहरुको यो एउटा मौलिक विशेषता पनि हो । तर तिज गीतले विशेषगरी महिला आवाजलाई बुलन्द गरिरहेका छन्, विगतदेखि नै । तिज महिलाहरुको स्वतन्त्रताको पर्व पनि हो । पराईको वा श्रीमान्को घरको घरधन्दाबाट बिदा लिदै तिजमा उनीहरु माइत अर्थात् आफ्नो जन्मघर जाने परम्परा आज पनि कायमै छ ।
तिजको खाजा मिठो भदौरे तामाले
बस्नरोउ भान्जी लिन आउँछु भन्थे मामाले
त्यसो त मामाघर तिजमा भान्जी मात्र होइन, आमाका साथमा भान्जाहरु पनि गए । तर त्यसरी गए पनि भान्जीकै महत्व बढी हुन्थ्यो, त्यो बेला मामाघरमा । अर्कोे पक्ष माइती नहुने भान्जीलाई मामाले तिजमा आफ्ना घर लैजान लिन जाने चलन थियो । आज पनि त्यो परम्परा कायमै छ । माइती भएनन् भनेर चेलीले आज पनि दुःख मनाऊ गर्नु पर्दैन, मामा लिन आइहाल्छन् । त्यसकारण मामाले भान्जीलाई तिजमा लिन आउँछु भनेर सम्झाउँथे । अर्थात् तिज गीतमा सम्बन्धका व्यापक आयामहरु प्रस्तुत हुन्थे । विषयवस्तु पनि त्यही अनुसार निर्माण गरिन्थ्यो । विशेषतः माइती, मावली र छोरीचेलीका बीचको सम्बन्धलाई तिज गीतले समेटेको पाइन्थ्यो । बिहे गरेर घर जाँदा छोरीबुहारीले भोग्नु परेका दुखदर्दहरुले गीतका माध्यमबाट अभिव्यक्ति पाउँथे । मन बहलाउने माध्यम बनेको थियो, तिज गीत । विगतमा सञ्चारको विकास आजको जस्तो थिएन । रेडियो नेपालनै देशभरकै एकमात्र सञ्चारमाध्यम बन्न पुगेको थियो, २०४६ मा प्रजातन्त्रको पुर्नस्थापना पछिका केही वर्षसम्म पनि । रेडियो किन्न सक्ने थोरै हुन्थे, तिनीहरुले मात्रै रेडियो नेपाल सुन्थे । बाँकीलाई सञ्चारका माध्यम भनेका गन्धर्व गीत, तिज गीत आदि बन्थे । कतै केही दुर्घटना भयो अथवा कोही कतै अन्याय अत्याचार भयो, त्यस्ता कुराहरु गीतकै माध्यमबाट समाचार बनेर देशभर सम्प्रेषित हुन्थे । सूचना र चेतनाका संवाहक यस्ता गीतहरु लोकमानसले सहजै आफ्ना बनाई गाउँदै हिड्थे ।
घडी हेरि हेरि फोन नगरेस् फेरि
भात खाएर सुते हुन्छ ढिलो हुन्छ राति
परिवर्तन संसारकै नियम हो । कुनैपनि वस्तु परिवर्तन नभइरहन सक्दैन । तसर्थ चालचलन, संस्कृति, गीत संगीत आदिमा परिवर्तन आउनु स्वभाविक नै मान्नुपर्छ । तिज गीतको सबैभन्दा सबल पक्ष भनेको यसको लय हो । तिज गीतको लय मन नपराउने मान्छे कमै हुन्छन् । पुरुष महिला जो पनि सहजै यसको लयप्रति आकर्षित भइहाल्छ । सरल लोकलयमा बग्नु यसको खुबी नै मान्नुपर्छ । परिवर्तनका नाममा तिजको त्यो लय आज हराइरहेको छ । तिज शब्द राख्दैमा त्यो गीत तिजको गीत बन्दैन । यससँगै सिर्जना समेत धरापमा परेको छ । सहजै जो कोहीले गाउँठाउँमा तिजको गीत गाउने क्षमता राख्थे, एक दशक अगाडिसम्म पनि । आज एकाध ठाउँ होलान्, त्यसरी गीत गाउन सक्ने क्षमता राख्ने नभए रेडियो टेलिभिजनका गीततिर मानिसहरु तानिएका छन् । नयाँ सिर्जना गर्न सक्ने क्षमता बिस्तारै हराउँदै गएको छ । यसले तिज गीतमा पनि एक खाले सिन्डिकेट खडा गरिएको छ, जसले गर्दा तिज गीत मुठ्ठीभरका मानिसहरुको कमाइ खाने भाँडो बन्न पुगेको छ । विसंगती पुरानो इतिहासमा पनि थियो । देवताकै कथामा समेत जालन्धरकी श्रीमती वृन्दाको सतीत्व विष्णुले च्युत गरिदिएको पढ्न पाइन्छ । तर लाग्छ, आज तिज गीतले विष्णु प्रवृतिकै सेरोफेरोको समस्या मात्र देखेको छ, मायाप्रेम तथा परपुरुष परस्त्रीसम्बन्ध भन्दा सम्बन्धका अरु आयाम छैनन् । करिबकरिब रत्यौलाीको शैलीमा तिज गीतहरु रचिएका छन् । तिज गीत र रत्यौलीका आ–आफ्ना प्रयोजन, शक्ति र सीमा छन् । कताकता त्यो सीमा आज मेटिदो छ ।
एकल भएको नाममा जानकी मन्दिरमा राष्ट्राध्यक्षमाथि भएको अपमान मात्र होइन, छोरा जन्माउनका लागि भु्रण हत्या गर्ने प्रवृति नेपाली समाजमा दिनप्रतिदिन बढ्दो छ । तसर्थ तिज गीतलाई नारी स्वतन्त्रताको आवाज बुलन्द गर्न र चेतना जगाउने आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । त्यसो गर्दा एकातिर नारी अधिकार प्राप्तिको आन्दोलन सशक्त बन्दछ भने अर्कोतिर तिज गीतको मौलिक अस्तित्व समेत कायम रहने देखिन्छ । हरितालिका तिजको सबैमा शुभकामना !