बागलुङ, १० जेठ – पहिलो चरण चुनावको परिणाम आइसकेका धौलागिरीका गाउँपालिका र नगरपालिकाको कार्यपालिकालाई पूर्णता दिने प्रक्रिया सुरु गरेको छ । संविधानले स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई तोकेको छ । गाउँ र नगर कार्यपालिकामा अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख र वडाध्यक्ष रहनेछन् । संविधानले त्यसबाहेक महिला र दलित वा अल्पसंख्यक समुदायबाट गाउँरनगरको कार्यपालिकामा प्रतिनिधित्वको बाध्यकारी व्यवस्था गरेको छ । पहिलो चरणमा निर्वाचन भएको २ सय ८३ गाउँपालिका र नगरपालिकामध्ये सोमबारसम्म २ सय ७३ स्थानको परिणाम आइसकेको छ । कार्यपालिकामा जाने महिला र दलित वा अल्पसंख्यक समुदायका सदस्य भने गाउँ वा नगरसभाका नवनिर्वाचित सदस्यको मतदानबाट चुनिने छन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले परिणाम आइसकेका स्थानमा कार्यपालिकाका बाँकी महिला र दलित वा अल्पसंख्यक समुदायका सदस्य चुन्ने प्रक्रिया सुरु भइसकेको बताए । गाउँसभामा निर्वाचित सदस्यले आफू मध्येबाट ४ जना र नगरसभाले ५ जना महिला सदस्यलाई कार्यपालिकामा पठाउनुपर्नेछ । प्रत्येक वडामा ४ मध्ये २ महिला सदस्य निर्वाचित भएका छन् । गाउँ वा नगर कार्यपालिकाको महिला सदस्यका लागि तीन निर्वाचित महिला वडा सदस्य उम्मेदवार हुन पाउने छन् । यस्तै सम्बन्धित गाउँपालिका वा नगरपालिकाका मतदातामध्ये २१ वर्ष योग्यता पुगेका दलित वा अल्पसंख्यक समुदाय मध्येबाट गाउँ सभाले २ र नगरसभाले ३ जनालाई कार्यपालिका सदस्यका लागि निर्वाचित गर्नेछ । उक्त पदमा दलित वा अल्पसंख्यक समुदायबाट योग्यता पुगेका जोसुकै उम्मेदवार हुन पाउनेछन् । तर गाउँ वा नगरसभामा निर्वाचित भएका कुनै दलित वा अल्पसंख्यक समुदायका व्यक्ति भने उम्मेदवार हुन नपाउने आयोगले प्रस्ट्याएको छ । गाउँपालिका र नगरपालिकामा निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतलाई नै कार्यपालिका सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ । निर्वाचनको सबै परिणाम प्राप्त भएको १५ दिनभित्र कार्यपालिकालाई पूर्णता दिइसक्नुपर्ने कानुनी प्रावधान छ । आयोगले परिणाम प्राप्त भएको ३ दिनभित्र निर्वाचनको कार्यक्रम प्रकाशन गर्न निर्देश गरेको छ । ‘धेरै ठाउँबाट निर्वाचनको कार्यक्रम प्रकाशित भएको सूचना प्राप्त भएको छ,’ प्रवक्ता शर्माले भने, ‘स्थानीय तहको कार्यपालिकालाई पूर्णता दिइसकेपछि निर्वाचन अधिकृतको जिम्मेवारी पूरा हुनेछ ।’ उनीहरूको शपथ पनि निर्वाचन अधिकृतले गराउने छन् । गाउँ र नगर कार्यपालिकाको पूर्णतापछि स्थानीय तहको अर्को अंग जिल्लासभाको गठन र जिल्ला समन्वय समितिको निर्वाचन गराइनेछ । प्रवक्ता शर्माले पहिलो चरणमा निर्वाचन भएका जिल्लामा जेठको अन्तिम साताबाट जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया बढाइने बताए । स्थानीय तहअन्तर्गत गाउँपालिका र नगरपालिका र जिल्ला सभा रहने व्यवस्था छ । निर्वाचनबाट तीनवटै निकायमा पदाधिकारी चयनपछि जिल्लागत रूपमा स्थानीय तहले पूर्णता पाउने छ । संविधानले गाउँसभा र नगरसभाको निर्वाचन परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्ला सभाको पहिलो बैठक बस्नुपर्ने तोकेको छ । जिल्ला सभामा जिल्ला भित्रका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् । जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा ३ जना महिला र एक जना दलित वा अल्पसंख्यक सदस्यसहित बढीमा ९ सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नुपर्ने प्रावधान छ । गाउँ वा नगरसभाका सदस्य उक्त पदका लागि उम्मेदवार हुन पाउने छन् । विगतमा जिल्ला विकास समितिलाई तोकिएको अधिकार वा भूमिका अहिलेको परिवर्तित जिल्ला समन्वय समितिलाई दिइएको छैन । संविधानले जिल्ला समन्वय समितिलाई जिल्लाभित्रको गाउँपालिका र नगरपालिकाबीच समन्वयकारी भूमिकामा सीमित पारेको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि आयोगले आवश्यक निर्देशिका तयार गरिरहेको शर्माले बताए । उक्त निर्वाचनका लागि छुट्टै निर्वाचन अधिकृत समेत तोकिने छ ।
Previous Articleक्याम्पस प्रमुखको कार्यकक्षमा ताला
Next Article ९ जेठ २०७४, धौलागिरी स्टार साप्ताहिक