डिल्लीप्रसाद गौतम
अन्ततः लामो समयको अन्तराल पश्चात संघिय ढाँचा अनुुसार यहि वैशाख ३१, २०७४ का दिन देशको ७ प्रदेश मध्ये ३ प्रदेशमा मात्र निर्वाचन सम्पन्न भएको छ । देशमा छिन–छिनमा राजनीतिक अनेक घटनाक्रम घटिरहँदा चुनाव हुन्छ वा हुदैन ? विविध आशंकालाई चिर्दै आंशिक रुपमा भएता पनि निर्वाचन सम्पन्न हुनु सकरात्मक पक्ष हो । नागरिकहरुले करिब २० वर्ष पश्चात स्थानिय तहमा आफ्नो मताधिकार प्रयोग आफ्ना जननिर्वाचित प्रतिनिधी चयन गर्ने सौभाग्य प्राप्त गरेका छ । वास्तवमा यस पटकको स्थानिय निर्वाचन साँच्चिकै ऐतिहासिक बन्न पुगेको छ । प्रथमतः २० औं वर्ष पश्चात नागरिकले आफ्नो मताधिकार प्रयोग गरि जनप्रतिनिधी चयन गरेका छन् । उक्त निर्वाचनमा आम नागरिकको उल्लेख्य सहभागिता रहेको छ । दोस्रो यो निर्वाचन ०६२÷०६३ को जन आन्दोलनको बलमा स्थानिय मान्यता अनुसार संघिय गणतन्त्रात्मक मोडेल र पहिलो संविधानसभाद्धारा घोषित सिद्धान्त अनुसार सम्पन्न पहिलो संघिय मोडेलको स्थानिय निर्वाचन हो । जसको माध्यमबाट सयौं वर्ष देखि सिंहदरबारमा केन्दिकृत अधिकार अब जनताको घर–दैलो सम्म पु¥याउने अपेक्षा गरिएको छ ।
यसै गरी यो निर्वाचन यस मानेमा पनि ऐतिहासिक मानिएको छ, की निर्वाचनको मिति १ साता मात्र बाँकी रहँदा सम्म आम नागरिकमा निर्वाचन हुनेमा कैयौं आशंका थिए । तोकिएको समयममा निर्वाचन सम्पन्न हुनेमा न त प्रमुख प्रतिपक्षलाई विश्वास थियो न त आम नागरिकलाई नै केबल सरकार सञ्चालनका साझेदार प्रमुख नेताहरु मात्र उक्त निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने र ढुक्क हुन आम नागरिकलाई रटान लगाई रहेका थिए । आखिर भयो पनि त्यही । वास्तवमा अहिले सम्ममा नेताहरुबाट शुरु देखि अन्तिम सम्म भनेको र गरेको पनि यहि एउटा कार्य हो । यसरी कैयन चुनौतिका बाबजुद सम्पन्न स्थानिय निर्वाचन आफैमा ऐतिहासिक मानिन्छ । त्यती मात्र हैन संघिय ढाँचा अनुसार ७ प्रदेश मध्ये ४ प्रदेशमा तिव्र असन्तुष्टि विरोध र थुनछेकका बिच तिन प्रदेशमा मात्र निर्वाचन सम्पन्न भएको छ । अझ ४ प्रदेशमा संविधान संशोधन पश्चात मात्र यहि जेठ ३१ मा निर्वाचन गर्ने गरी आन्दोलनरत मधेशी मोर्चा र सरकार बिच भएको सहमति अनुसार ३ प्रदेशमा मात्र निर्वाचन सम्पन्न हुदै गर्दा कैयत आशंका पैदा भएका छन्् । कदंकदाचित संविधान संशोधन भएन र मधेशी मोर्चाले चुनाव मात्र लिएन वा निर्वाचन हुन सकेन भने पहिलो चरणको निर्वाचनको वैद्यता माथि पनि प्रश्न चिन्ह खडा हुन सक्दछ तसर्थ सरकार माथि दोश्रो चरणको चुनाव सम्पन्न गर्न उत्तिकै दबाब र चुनौति यथावत छ ।
स्थानिय निर्वाचन २०७४ को अर्को रोचक प्रसंग के छ भने यस निर्वाचनमा विगतका निर्वाचन भन्दा फरक रङ र रुप देखिए । यस निर्वाचनमा विगतमा जस्तो पम्पेल्ट, ब्यानर तथा पोष्टरले शहर बजारका निजी तथा सार्वजनिक वाल तथा भित्ताहरु कुरुप हुन परेन । जसले गर्दा एकातिर निर्वाचनमा उमेदवार बनेका प्रत्यासिको खर्चमा कमी भयो भने शहर बजारमा सौन्दर्यतामा कमी पनि आएन । यति मात्र हैन यस पटकको निर्वाचन त्यति तडक भडक पनि देखिएन । ठूलो साउण्डका माइकिङ्ग, ¥याली आदि पनि विगतमा भन्दा कम मात्रामा सुन्नमा आए । यस अर्थमा दलका गतिविधीमा पनि क्रमिक सुधार आएको महशुस गरियो । यस पटकको स्थानिय निर्वाचनमा सामान्य बाहेक जटिल किसिमका आचारसंहिता उलंघनका घटनाहरु भएको पाइएन भने दलहरुको भाषण शैली पनि परिवर्तन भएको महशुस गरियो । दलका नेता तथा उमेदवारहरुले एक अर्का प्रति आरोप–प्रत्यारोप चर्को भाषण र कटाक्ष गर्नु भन्दा पनि आ–आफ्ना नीति, कार्यक्रम र योजना सहित मतदातासँग पुग्ने प्रयास गरे । सबै दलका उमेदवार तथा नेताले रसिला र गुलिया आश्वासन भने यस पटकको स्थानिय निर्वाचनमा पनि यथावद नै देखाए । करौडौं खर्च गरेर प्रदान गर्न खोजिएको मतदाता शिक्षा कार्यक्रमको खासै प्रभाव देखिएन भने वदरमतको संख्या पनि उल्लेख्य नै देखियो ।
यस पटकको स्थानिय निर्वाचनमा रोचक दृश्य त दलहरु बिचको आपसी तालमेल र जालझेल रह्यो । प्रमुख तिन ठुला दल र साना दल बिच कुनै उद्देश्य नीति, सिद्धान्त बिना नै एक आपसमा चुनावी तालमेल रहस्यमय देखियो । खास गरी प्रमुख ठुला दल र साना दल बिचको चुनावी तालमेलले हरेक ठाउँमा निर्वाचन आसातित परिणाम प्रायः दलहरुको विश्लेषण भन्दा बाहिर देखियो । खास गरी चुनावी गठबन्धनलाई सार्थक रुप दिनका लागि परेका प्रमुख प्रतिपक्ष दल एमालेलाई चुनावले बढि हौसिएको छ भने हरेक ठाउँमा हरेक प्रकृतिको तालमेल गरेको चौथो शक्ति रा.प्र.पा.लाई स्थानिय निर्वाचनले हतोत्साहित बनाएको छ । यसै गरी मुलककै प्रजातान्त्रिक शक्ति र पहिलो पार्टी कांगे्रसलाई स्थानिय निर्वाचन आंकलन भन्दा फरक भएको छ र पहिलो चरणको निर्वाचनले उसको अहिलेको साइज परिवर्तन हुने देखिएको छ भने तेश्रो शक्तिमा ए.नेकपा माओवादीले आफ्नो स्थान सुरक्षित बनाएको छ ।
परिणाम जे जस्तो आएता पनि लामो समय प्रतिक्षा गरिएको स्थानिय निर्वाचनबाट प्रजातान्त्रिक अभ्यासद्धारा जन प्रतिनिधी चुनिएको छ । जनताले आफ्नो मतद्धारा आगामी ५ वर्षको लागि दलका प्रतिनिधीलाई निर्वाचित गरि आफ्नो मत जाहेर गरेका छन् । त्यसै गरि दलका प्रत्यासीहरुले पनि जनमतको सम्मान गर्दै परिणामलाई स्विकार पनि गरी सकेका छन् । आगामी दिनहरुमा यिनै नव निर्वाचित प्रतिनिधीद्धारा स्थानिय सरकार सञ्चालन हुने हुनाले निर्वाचित प्रतिनिधीहरुले नागरिक हरुको इच्छा र चाहानाको कदर हुने गरि दैनिक क्रियाकलाप सञ्चालनका साथै स्थानिय विकासलाई प्राथमिकतामा राखी आफ्नो जिम्मेवारी बहन गर्न सकुन । सम्पुर्ण निर्वाचित जन प्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।