बागलुङ, ९ जेठ-प्रगति वहुउदेश्यीय सहकारी संस्था बागलुङले आफ्नो स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सहकारीका शेयर सदस्य र उनीहरुका आमावुवालाई सोमवार आफ्नै कार्यालयमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरी नगद सहित दोसल्ला ओडाएर सम्मान गरेको हो । संस्थाका पूर्व अध्यक्ष महादेव सापकोटाले जेष्ठ नागरिकलाई जनही रु.१ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सो अवसरमा सहकारीका शेयर सदस्यहरु अमर थापा काठेखोला गाउपालिकाको अध्यक्षमा, युक्तप्रसाद कँडेल काठेखोला–६ को वार्ड अध्यक्षमा र विद्यापति शर्मा काठेखोला–२ को वार्ड अध्यक्षमा निर्वाचित भएकोमा सहकारीले सम्मान पनि गरेको थियो । सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडेल कुमारले सहकारीले स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गर्न पाउदा खुशी लागेको बताउदै निर्वाचित जनप्रतिनिधीले आर्थिक उपार्जनको योजना बनाएर आफ्ना कामलाइ अघि बढाउन आग्रह गरेका थिए ।