डा. सन्ध्या चापागाईं
क्यान्सर भनेको कुनै पनि कोषिकाको अनियन्त्रित वृद्धि भएको अवस्था हो । यसका विभिन्न कारण हुन सक्छन् । ठ्याक्कै यस कारणले क्यान्सर हुन्छ भन्दा पनि यी कारणले हुन सक्छन् भन्ने केही तथ्य पत्ता लागेका छन् । विभिन्न अध्ययनले क्यान्सर हुने सम्भाव्य कारण औंल्याएका छन् । क्यान्सरका कारणमध्ये ७० प्रतिशत व्यक्तिगत जीवनशैली र खानपानका कारणले हुन्छ । त्यसैले जीवनशैली र खानपान परिवर्तन गर्दा ७० प्रतिशत क्यान्सरको जोखिम घटाउन सकिन्छ ।
तथ्य र तथ्यांक
ग्लोबल क्यान्सर स्ट्याटिक्सले विश्वमा बर्सेनि १४ लाख नयाँ बिरामी पत्ता लाग्ने गरेको देखएको छ । नेपालमा अस्पतालको पहुँचमा १२ हजार क्यान्सरका बिरामी रहेको मानिन्छ । क्यान्सरबारे जनचेतना कमी भएकाले पनि बिरामीहरू अस्पतालको पहुँचमा पुग्न सकेका हुँदैंनन् । उपचार महंगो भएकाले पनि कतिपय बिारमी अस्पताल पुग्न सक्दैनन् । क्यान्सरका कारण हुने समग्र मृत्युमध्ये ७० प्रतिशत अल्पविकसित र कम विकसित देशमा हुने गरेको तथ्यांकहरूले देखाएका छन् ।
विश्वभर क्यान्सरका कारण हुने महिला मृत्युमध्ये स्तन, फोक्सो, पेट, कोलोरेक्टल र पाठेघरको क्यान्सर प्रमुख पाँच कारण मानिन्छ । यसैगरी क्यान्सरका कारण हुने पुरुषको मृत्युमध्येमा फोक्सो, पेट, कलेजो, कोलोरेक्टल र अन्ननलीको क्यान्सर प्रमुख पाँच कारण रहेका छन् । नेपालमा पुरुषहरूमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको छ भने महिलाहरूमा स्तन क्यान्सर बढी देखिएको छ ।
नेपालमा पनि क्यान्सरको अवस्था भयावह छ । अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मानेर हिसाब गर्दा नेपालमा बर्सेनि ३० हजार नयाँ क्यान्सरका बिरामी देखा पर्ने गरेका छन् ।
क्यान्सर हुनुका मुख्य कारणमा करिब ३५ प्रतिशत सूर्तिजन्य पदार्थको प्रयोग, ३५ प्रतिशत रातो मासु र बढी बोसोजन्य मासुको उपयोग, ५ प्रतिशत रक्सी, अर्को ५ प्रतिशत भाइरस, १० प्रतिशत वंशाणुगत तथा बाँकी १० प्रतिशत विकिरण र अन्य कारणले हुन्छ भनिएको छ । त्यसैले करिब ७० प्रतिशत क्यान्सरको जोखिम हामीले रोक्न सक्छौं ।
सूर्तिजन्य पदार्थको सेवनले फोक्सोको क्यान्सर हुन्छ । रातो मासु, चिल्लोपना, सागपात कम खानेलाई, बढी वजनको कारणले फाबइर कम भई लामो आन्द्राको क्यान्सर गराउने खतरा बढाउँछ । बढी तौल हुनुका कारणले महिलामा बढी मात्रामा क्यान्सर देखिएको छ । यसैगरी रक्सी सेवन गर्नेलाई पाचनप्रणाली र कलेजोको क्यान्सर हुने संभावना हुन्छ ।
बढी तौल अस्वस्थ जीवनशैलीका कारण हुन्छ । शारीरिक अभ्यास नगर्दा र खानपानमा ध्यान नपु¥याउँदा बडीमास इन्डेक्स बढ्छ । महिलामा बढी तौल हुँदा प्रायजसो क्यान्सरको संभावना बढी देखिएको अध्ययनले देखाएको छ ।
मानिसहरू क्यान्सर लाग्छ कि भनेर सचेत हुने गरेको पाइन्छ । यहीकारण अनेक भ्रम फैलिएको पाइन्छ । तर यसबारे थाहा पाउनुपर्ने कुरा भने पाएको देखिदैन । कतिपय सामान्य मुसा वा गिर्खा आउँदा पनि क्यान्सर भएको हुनसक्ने भनेर आत्तिने गरेका छन् भने कतिपयमा यसबारे जानकारी नै नहुँदा उपचार नगरी मृत्युवरण गरिसकेका हुन्छन् ।
क्यान्सरका कारक
क्यान्सर गराउन सक्ने प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन हो । हाम्रो समाजमा चुरोट, खैनी, बिंडी, तमाखुको प्रयोग धेरै नै हुने गरेको छ । यसले फोक्सो, मुख, खानेनली आदिको क्यान्सर गराउँछ ।
सूर्तीपछि मदिरा क्यान्सरको दोस्रो कारक तत्व हो । अत्यधिक मदिराले विभिन्न रोग निम्त्याउनुका साथै क्यान्सरको संभावना बढाउँछ ।
क्यान्सर हुनसक्ने कारणमध्ये अस्वस्थ खानपान अग्रपंतिमा आउँछ । जंकफुड, चिल्लोपिरो बढी भएका, विषादी प्रयोग गरिएका खानेकुरा क्यान्सर निम्त्याउने कारक तत्व मानिन्छन् । प्याकेटमा राखिएको, बट्टा अथवा ‘क्यान्ड फूड’मा ‘प्रेजर्भेटिभ’ हालिएको, कृत्रिम गुलियो राखिएको खानेकुरालाई क्यान्सर जोखिम बढाउने कुरामा राखिएको छ । प्राय सबै परिस्कृत मासुमा मिसाइने सोडियम, नाइट्रेटले मासुलाई ताजा र बासनादार बनाए पनि यसमा क्यान्सर बनाउने तत्व रहने गरेको विभिन्न अध्ययनमा देखिएको छ । धुवाँमा पोलेको मासुमा अँगार हुने भएकाले यो खानेनली र फोक्सोको क्यान्सरको कारक हो । रातो मासुले कोलोन क्यान्सरको खतरा बढाउँछ । अमेरिकामा ५० देखि ७४ वर्ष उमेरका १ लाख ५० हजार मानिसमा गरिएको अध्ययनमा रातो मासु खानेमा कोलोन क्यान्सरको खतरा देखिएको थियो ।
सुगरयुक्त सोडाले तौल बढाई मोटोपन निम्त्याउँछ । मोटोपनका कारण पनि क्यान्सर हुने संभावना धेरै हुन्छ ।
चेतना, रोकथाम र उपचार
कतिपयमा क्यान्सर भएपछि उपचार नै हुँदैन भन्ने भ्रम पनि छ । क्यान्सर भएको सुरुमै थाहा पाइयो भने उपचार हुन्छ । अहिले त धेरै हदसम्म क्यान्सरको उपचार नेपालमै सम्भव छ । निको नहुने अवस्थामा पुगेको क्यान्सरमा पनि विभिन्न प्रकारका तनाव र असहजताका साथै दुखाइ कम गराएर बाँचुन्जेल आरामसाथ बाँच्न सघाउन सकिन्छ । जसले बाँचुन्जेल ‘क्वालिटी अफ लाइफ’ राम्रो बनाउँछ । यसलाइृ पेलिएटिभ केयर भनिन्छ ।क्यान्सरको नराम्रो पक्ष भनेको यसले दुखाई वा अन्य कुनै समस्या नल्याइकन पनि बढिरहन सक्छ । यसले गर्दा पहिलो चरण पत्ता लगाउन कठिन हुन्छ र बिरामीहरू क्यान्सर फैलिसकेको अवस्थामा मात्रै अस्पताल आइपुग्छन् । तर यो हुने संभावना बारे पहिल्यै जानकारी हासिल गर्न सकिन्छ । विशेष गरी महिलामा हुने स्तन र पाठेघरको मुखको क्यान्सर हुने संभावना जाँच हुने प्रविधिको विकास भएको छ ।
क्यान्सरको बारेमा पर्याप्त रुपमा ग्रामीण तहसम्म जनचेतना पुग्न सकेको छैन । यसबाट जोगिन आफ्नो जीवनशैली सुरुदेखि नै स्वस्थ राख्नुपर्छ भन्ने जानकारी सबै ठाउँमा पु¥याउन जरुरी छ । विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र स्तन क्यान्सर सजिलैसँग प्रारम्भिक जाँच गराएर पत्ता लगाउन सकिन्छ । त्यसैले यी क्यान्सरहरूको स्क्रिनिङ टेस्टका बारेमा जनचेतना जगाउन जरुरी छ ।
पाठेघरको मुखको क्यान्सर लाग्नुभन्दा धरै अगाडि नै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन पाठघरको मुखको पानी निकाली टेष्ट (प्याप स्मेयर) गरी १० वर्ष अगाडि नै क्यान्सर हुन्छ कि हुँदैन भनेर पत्ता लगाउन सकिन्छ ।
यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरसद्धारा हुन्छ । यदि स्क्रिन गरी यो क्यान्सर देखिएमा पाठेघर नै निकाली क्यान्सरबाट जोगिन सकिन्छ । अहिले यसका लागि भ्याक्सिन पनि बनेको छ । जुन नेपालमा पनि उपलब्ध छ ।
स्तन क्यान्सरका लागि मेमोग्राम गरिन्छ र ठूलो आन्द्राको क्यान्सरका लागि दिसाको जाँच र क्लोनोस्कोपी गरिन्छ ।
नेपालमा क्यान्सरको उपचार वीर, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल र मणिपाल अस्पताल पोखरामा हुन्छ । अहिले निजी क्षेत्रमा पनि केही अस्पताल क्यान्सर उपचार सेवा दिइरहेका छन् ।
सरकारले क्यान्सर रोगीलाई उपचारको दायरामा ल्याउन एक लाख रुपैयाँ अनुदान दिएको छ । यो पर्याप्त नभएपनि केही हदसम्म सहयोग पुगेको छ ।
यी तथ्यहरूका आधारमा हामीले जीवनशैली परिवर्तन गर्न सक्यौं भने ७० प्रतिशत क्यान्सरको जोखिमबाट जोगिन सकिन्छ । त्यसैले हरेक व्यक्तिले वर्षको एकपल्ट आफ्नो स्वास्थ्य जाँच गराउनु उपयुक्त हुन्छ ।
महिलाहरूको स्तन र पाठेघरको र महिला पुरुष दुवैले ठूलो आन्द्राको जाँच गराउन जरुरी छ । क्यान्सरका उपचार विभिन्न तरिकाले गरिन्छ । जसमा सर्जरी रेडियसशन थेरापी, केमोथेरापी, हर्माेनथेरापी आदिको प्रयोगले गरिन्छ ।
क्यान्सर रोग विशेषज्ञ डा. चापागाइँ वीर अस्पतालमा कार्यरत छिन् ।
जीवनशैली र खानपानले ७० प्रतिशत क्यान्सर-डा. सन्ध्या
Previous Articleअब सरकारी अस्पतालमै बाेनम्याराे प्रत्याराेपण
Next Article स्तम्भकार पाठक डा. महतका जनसम्पर्क तथा प्रेस संयोजक