कथा
दीपक घिमिरे
दर खाने भनेर ल्याएको दुई माना दूधको पोका अलि पल्तिर मिल्काउँदै नुतनले भनी, ‘जाबो दुई माना दूध किन्न लाज लागेन है ? कस्ता गरिबको घरमा परेछु !’नुतनले मिल्काएको दूधको पोका बिनितले उठायो, बोल्न धेरै खोज्यो तर सकेन । नुतन रिसाएको बेला बिनित कहिल्यै बोल्दैन । बोल्यो भने हानाहान हुन्छ । सुरुमा बिनितले हात उठाए पनि चोट उसले नै धेरै खान्छ । नुतन नजिकमा जे भेट्छे, त्यसैले दन्काइदिन्छे ।
‘अनि मासु ल्याएनौं ?’ नुतनले आलुभन्दा ठूला आँखा गराउँदै सोधी । दूधका पोका हातमा लिएर आज्ञाकारी शिष्य जसरी उभिएको बिनितले केही बोल्न उचित ठानेन । उ चुप बस्दा नुतनलाई झनै पारो तात्तिएछ । भान्सा छिर्दै गरेको बिनितको सर्टको कलर पकड्दै बाहिर तानी र भनी, ‘दर खाने दिनमा मासु ख्वाउन नसक्ने पोइसँग बस्दिनँ । तेरो दर तैं खा, म गएँ माइत ।’
बिनित रातोपिरो भयो । चार बर्ष लभ गरेर भगाएकी श्रीमती किन यस्तो झगडालु छे उ आफैँ अचम्म पर्छ । लभ पर्दा आकाशको जूनतारा झार्दिन्छु भन्ने बिनित अनि बरु एक छाक खान्छु तर तिमीबिना बाँच्न सक्दिनँ भन्ने नुतनको प्रेम कहानी कति छिटो झगडामा परिवर्तन हुँदै थियो ।
शहरमा डेरा गरेर बस्ने बिनित र नुतनको परिवारले अहिलेसम्म उनीहरुलाई स्विकारेको छैन । जागिर नपाएर रन्थनिएको बिनित र कलेज पढ्दै गरेकी नुतन बिहेपछि अभावमा घरजम गरेका छन् । जाबो दरको बिषयलाई लिएर नुतन माइत हिडिदिन्छु भनेसी बिनितले अनुहार कालो गरायो, आँखा रसायो । रसिलो आँखाले नुतनलाई हेर्दै भन्यो, ‘हामी जन्म–जन्मको कसम खाएर बिहे बन्धनमा बाधियौं । जाबो खानाको बिषयलाई लिएर माइत गयौ भने मलाई मात्र होइन, तिम्लाई पनि हेप्छन् ।’
नुतन बिनितको कुरामा सहमत थिइन् । उसलाई बिनितको कुराले कत्ति पनि छोएन । ‘पाल्न नसक्ने भए किन बिहे गर्न हतार गरिस् ?’ रिस देखाउँदै नुतनले उल्टो प्रश्न गरी ।
आँगनमा सुकाएका आफ्ना मात्र लुगा उठाउँदै नुतन भित्र छिरी । बिनित पनि पछि–पछि गयो । बिनितले नुतनलाई अङ्गालोमा बे¥यो अनि रुन्चे स्वरमा भन्यो, ‘बरु एक छाक खाएर बस्न सक्छु तर तिमी बिना बाँच्न सक्दिन भन्ने नुतनमा किन आज यति धेरै परिवर्तन ?’
अङ्गालोमा बेरिएकी नुतनको निधारमा म्वाई खायो, कपाल सुम्सुम्याएर टाउको दाबी दियो । एकैछिन शान्त बसेकी नुतनले बिनितको अङ्गालोबाट आफूलाई फुस्काउँदै भनी, ‘बिहेअघि आकाशको तारा झार्दिन्छु भन्थिस् त, आज मन परेको ख्वाउन सक्दैनस् ?’
प्रत्येक पटकको सम्बोधनमा बिनित नुतनलाई तिमी भन्दै थियो तर नुतन तँ भनेर भन्दै थिइ । यो बिनितलाई मन परेको थिएन । उसले हजार सम्झाउन खोज्दा पनि नुतन कड्की रही, जङ्गी रही ।
नुतन मध्यम वर्गीय परिवारकी थिई । खाने र लगाउनेको चिन्ता माइतमा उसलाई कहिल्यै भएन । बिनित सामान्य किसान परिवारको थियो । सधैं अभावमा बाँचेको बिनित नुतनका सबै माग पूरा गर्न सक्दैनथ्यो । तर आफ्नो भन्दा धेरै माया नुतनकै गथ्र्यो ।
‘दर भनेको खिर पकाएर खानु हो, आज खिर बनाएर खाऊ, अर्को हप्ता मासु ल्याउँछु । आज गोजीमा सुको थिएन के कालु ।’ फेरि सम्झाउन खोज्यो । ऊ सकेसम्म नुतनको दिल दुखाउन चाहदैनथ्यो ।
नुतनले आफ्ना लुगा ठूलो क्यारी ब्यागमा प्याक गरी । बिनितका लुगा बिस्तरामै साइड लगाइदिइ । ऊ सुक्क सुक्क गर्दै रुन थालेको बिनितले देख्यो । नजिकै गएर उसले प्याक गरेको ब्याग तान्यो अनि पलङ्ग मुन्तिर फाल्दियो । कान समात्दै भन्यो, ‘ओके मासु लिएर आउँछु तर कुखुराको । खसीको ल्याउन पैसा छैन ।’
पलङ्ग मुन्तिर फालेको ब्याग तानेर नुतन बाहिर गई, बिनित पनि पछि–पछि गयो । हातको ब्याग तानेर आफै समात्यो, नुतनको दाहिने हात समाउँदै भन्यो, ‘हिड, भित्रै गएर सुख दुःख साटौं, बाहिर लोकलाई हँसाउनु हुदैन ।’
‘तिम्रो कोठामा तिमी एक्लै बस, जुन दिन श्रीमतीका माग पूरा गराउने हैसियत बनाउँछौ त्यही दिन लिन आउनू पर्खी बस्नेछु ।’ बिनितले लिएको कपडाको ब्याग नुतनले झट्कार्दै तानी ।
पल्लो घरको बार्दलीमा बसेर हेरिरहेका धने काकाले चियाको सुर्कोसँगै मुसुक्क हाँसेर आफ्नी श्रीमतीलाई बार्दलीमै बोलाए । टोलभरि कुरौटे बीबीसीको नामले चिनिने काकीले बिनित र नुतनको चर्तिकला मज्जैले हेरिन् । भोलि बिहानै टोलको नाचोमा मज्जैले समाचार भन्न पाइने आशामा मुसुक्क हाँसिन् पनि ।
नुतनको हात समातेर माफी मागिरहेको बिनितले धने काका र काकीलाई बार्दलीबाट तमासा हेरिरहेको देख्यो । छरछिमेकको नातोमा काका–काकी पर्ने धनबहादुर कार्की बिनितका लागि सबैभन्दा ठूला दुश्मन थिए । धने काकालाई देखाउनकै लागि भए पनि ऊ प्रगति गर्न चाहन्थ्यो तर स्वास्नीसँग हारेको धने काका–काकी दुबैले देख्दै थिए । ऊ झन तनावमा प¥यो ।
जसलाई घर झगडा देखाउन चाहदैनथ्यो उनीहरु नै झगडाको प्रत्यक्षदर्शी थिए । हल्का रिसको पारो बिनितलाई पनि चढन थाल्यो । नुतनले खोसेको झोला अलि बल गरेरै थुत्यो अनि साथीलाई फोन गर्न नम्बर हान्दै गरेको मोबाइल थुत्यो र जगल्टाबाट तानेर भित्र लग्यो ।
‘यति सानो कुरामा दुनियाँ हँसाउछेस् ? घाँटी हेरेर हाड निल्नुपर्छ ।’ बोलीसँगै दुई झापट गालामा दियो ।
नजिकै भएको छाताले बिनितलाई आक्रमण गरी नुतनले । बिनित घोप्टे परेर जोगियो नत्र आँखा फुट्थ्यो उसको । नुतन रोइरही, बिनितले झापट र दुखेसो पोखिरह्यो ।
‘घर भाडा नदिएको दुई मैना भयो, चामल सकिएको छ, तँलाई त्यता चिन्ता छैन । दुई चोक्टा मासु खान नपाएर माइत हिड्न खोजिस् है ।’ यति भन्दै गर्दा बिनितका आँखा पनि रसाए ।’ दुश्मनका अगाडि मलाई रुवाइस्, दुश्मन हाँस्ने बनाइस् ।’ बिनित भुईमा बस्यो ।
नुतन उठी, ब्याग पकडी ! कपडा मिलाई आँखा पुछी । हिड्ने तयारी देखेर फेरि बिनितले भन्यो– जाने नै होस् भने जा तर मेरा लागि नफर्किनू । तेरो र मेरो बाटो अलग–अलग ।’
‘तँ जस्ता स्वास्नी पाल्न नसक्नेको भर परेर फर्किन्नँ, तँ भन्दा असल जीवनसाथी खोजेर जाम्ला तर फर्केर आउदिनँ ।’ नुतनले ब्याग बोकेर बाटो तताई ।
सर्सर्ती हेर्दा घटना सामान्य थियो । बिनित र नुतनको लडाई आधा केजी मासुको लागि थियो । आधा केजी मासुकै लागि बसेको घरजम टुट्छ भनेर न तपाईंहरु बिश्वास गर्नुहुन्छ न त म आफै गर्छु । तर टुट्यो । यहाँनिर घरबार आधा केजी मासुले टुटाएको हैन कि समस्या नबुझ्ने श्रीमतीले टुटाएकी हो । घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने नेपाली मान्यता हुँदाहुँदै पनि देखासिखीमा रमाउने समाजमा यो घटना घट्छ ।
घर र पोइको समस्यालाई बेवास्ता गर्ने नुतन र हैसियत नै नबन्दै माया खाउला माया लाउला भन्ने मानसिकताले बिहे गर्ने बिनित दुबै दोषी देखिन्छन् । तर तत्काल नुतन नै दोषी ठहरिई । नुतन घर छाडेर गएपछि बिनित एक्लो भयो । ऊ जाने ठाउँ भनेकै घर हो तर तीजमा आउदिनँ भनेर बसेको केटो जाने कुरै भएन ।
दर खाने दिन बेलुका अबेर नुतन माइती गई । माइतीमा उसलाई कस्तो स्वागत भयो, त्यो उसैलाई थाहा होला । तर यता बिनित तनावमा थियो । नुतन गएपछि एकछिन ऊ बौलाहाजस्तै भयो । जीवनभर नुतनको अनुहार नहेर्ने कसम धेरै पटक खायो । समस्या पर्दा भाग्ने श्रीमतीलाई सम्झेर उसले धेरै पटक आफ्नै दाँत बजायो । भित्तामा मुड्कीले हान्यो । औंला सुन्नायो अनि आफ्नै कपाल पनि धेरै पटक जगल्टायो । रिसले रातो र तातो भयो ।
अघि किनेर ल्याएको दुई माना दूध फिर्ता गर्ने सोच बनायो । खिर बनाउने तयारी सबै बदलेर साथीको रुममा पाहुना पर्ने योजना बनायो अनि फेरि सोच तुरुन्तै बदल्यो । आफ्नो पीडा आफूभित्र राख्ने मनसायले घरमै खाने सोच्यो । अनि डेरीमा गएर दूध फिर्ता ग¥यो । फिर्ता आएको साठी रुप्पेले दुई बोतल लोकल रक्सी किन्यो ।
जीवनमा रक्सी नचाखेको बिनितले आलुको भुजियासँग दारु खायो । परिवारसँग बसेर खादा यही दर हुन्थ्यो, ऊ आज एक्लै अनि पीडामा खाएको हुनाले यो दारु थियो । दुई बोतल लोकल रक्सी खाएपछि ऊ अचेत भएर भुइँमा ढल्यो ।
देखासिखी र सांस्कृतिक विचलनले दरमा परिवर्तन आउँदा बिनित एक्लो भयो । एक छाक खाएर सँगै मर्ने कसम खाएकी नुतन माइत लागी । सबैभन्दा त चाडपर्व मनाउनै मुस्किल पर्ने अवस्था आयो । यसरी सम्पन्न भयो– गरिब युवाको दर खाने कार्यक्रम ।
Previous Article‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’
Next Article अब सरकारी अस्पतालमै बाेनम्याराे प्रत्याराेपण