डाउन सिन्ड्रोम भनेको एउटा वंशाणुगत रोग हो । मानव शरीरका कोषहरुमा २३ जोडी क्रोमोजोम हुन्छन् । २१ नम्बरको क्रोमोजोम जोडी नभएर तीन वटा हुँदा डाउन सिन्ड्रोम हुन्छ। यसरी एउटा क्रोमोजोम बढी भएको बच्चामा डाउन सिन्ड्रोमको लक्षण देखिन्छ । डाउन सिन्ड्रोमका लक्षणमा सानो कद हुनुदेखि गम्भीर मानसिक सुस्ततासम्म हुन सक्छ । यस्ता बच्चाको लालनपालन समेत निकै कठिन हुने गर्छ । डाउन सिन्ड्रोम भएका बच्चामा मुटु सम्बन्धी रोग, रगत क्यान्सर जस्ता गम्भीर समस्या देखिन सक्छ । डाउन सिन्ड्रोम बच्चा जन्मिनुअघि नै हुने भएकाले यसको कुनै उपचार छैन ।
तसर्थ बच्चा जन्मिनुअघि नै यसबारे जानकारी लिनका लागि स्क्रिनिङ गर्ने गरिन्छ । नेपालमा यस्तो समस्याबारे यकिन तथ्यांक छैन । अमेरिकाको तथ्यांकअनुसार प्रति ७ सय बच्चामध्ये एक जनामा डाउन सिन्ड्रोम देखिने गरेको छ ।
३५ वर्षभन्दा माथिको उमेरमा गर्भवती भई जन्मने बच्चाहरुमा डाउन सिन्ड्रोम हुने सम्भावना बढी रहन्छ । ३५ वर्षका आमाबाट जन्मेका तीन सय ५० बच्चामध्ये एक जनामा डाउन सिन्ड्रोम हुने गरेको तथ्यांक छ । यस्तै, ४० वर्षका आमाबाट जन्मेका बच्चामा एक सय जनामा एक जना र ४५ वर्षभन्दा माथिका आमाबाट जन्मेका बच्चामा ३० जनामा एक जनालाई डाउन सिन्ड्रोम हुने गरेको छ । स्क्रिनिङ परीक्षणमा गर्भावस्थामा आमाको रगतमा विभिन्न थरिका हर्मोनको मात्रा जाँच गरिन्छ । आमाको उमेर, चुरोट खाने बानी, सुगर रोग भएरनभएको आदि जानकारी लिइन्छ । यी दुवै जाँचसँग भ्रुणको अल्ट्रा साउन्डबाट आएको रिपोर्ट मिलाई डाउन सिन्ड्रोमको खतराबारे पत्ता लगाइन्छ । स्क्रिनिङ परीक्षणमा डाउन सिन्ड्रोम भएरनभएको बताइँदैन तर हुनसक्ने सम्भावना कति छ भनेर औँल्याइन्छ । धेरै खतरा देखिएकाहरुले थप वंशाणुगत परीक्षणसमेत गराउनुपर्ने हुन्छ । यस्तो परीक्षण गर्भवती भएको १० देखि २० हप्ताभित्र गराउनु उपुयुक्त मानिन्छ । नेपालमा गत फागुन ८ गतेदेखि पहिलोपटक गर्भवती महिलामा डाउन सिन्ड्रोमको स्क्रिनिङ परीक्षण सेवा सुरु भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सुरु भएको हो । प्रयोगशालाकी प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजिस्ट डा. रुना झाका अनुसार यसअघि स्क्रिनिङका लागि नमूना विदेश पठाउँदा लाग्ने खर्चको झन्डै एक तिहाइ कम खर्चमा नेपालमै सेवा दिन थालिएको हो । डाउन सिन्ड्रोमको स्क्रिनिङका लागि नेपालबाट बाहिर नमूना पठाउँदा परीक्षण शुल्क ६ हजार रुपैयाँसम्म लाग्ने गरेको थियो । सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङ्डन डाउनले पहिलो पटक यो क्रोमोजोम असामान्यताको बारेमा व्याख्या गरेका हुनाले उनकै नामबाट यस्तो समस्या भएका व्यक्तिलाई ‘डाउन सिन्ड्रोम’ भन्न थालिएको हो ।
डाउन सिन्ड्रोम भएका व्यक्तिमा गोलो, चेप्टो अनुहार, अति सानो चिउँडो, नेप्टो नाक, माथि फर्केको चिम्से आँखा, मोटो चिरा परेको मुखबाट निस्किराख्ने जिब्रा खुट्टाको बूढो र दोस्रो अङ्गुलाबीच फाटो, हत्केलामा एक्लो लाइन (साइमन क्रिज), छोटो गर्धन, आँखाको नानीमा सेतो वा पहेँलो थोप्ला (ब्रसफिल्ड स्पाटस), होचोपन, टाउकोको गोलाई सानो, सानो र तल जोडिएको कान, मांसपेसीको फितलोपना, सानो जनेन्द्रीय, बौद्धिक अपाङ्गताजस्ता समस्या देखिन सक्छन् । स्वास्थ्यखबरबाट ।
Previous Articleमेयर र प्रमुखलाई कसले खुवाउँछ सपथ
Next Article फेसबुकले बनाउँदैछ नयाँ सफ्टवेयर